Comments Add Comment

अब पैसा हुँदैमा बनिदैन निर्माता, बोर्डले बनायो यस्तो मापदण्ड(पूर्ण सूचीसहित)

board-mapdanda
गोजीमा पैसा हुने वित्तिकै निर्माता बन्ने चलनका कारण नेपाली चलचित्र बिग्रिएको भन्नेहरुको संख्या धेरै छ । हुनत, यो सिर्जनाको क्षेत्र भएकाले कुनै पनि कुराले रोक्न नहुने तर्क पनि प्रस्तुत भएका छन् । तर, चलचित्र बनाउँदा केही कुरा नै नवुझी आउँदा स्वयंम निर्माता तथा निर्देशकलाई त घाटा लागेकै छ, अनावश्यक रुपमा चलचित्रको संख्या पनि बढेको छ ।

यसैले चलचित्र विकास बोर्डमा अध्यक्षको रुपमा राजकुमार राई आउने वित्तिकै निर्माता र निर्देशक बन्नका लागि नयाँ मापदण्ड ल्याइएको छ । चलचित्र विकास बोर्डले यो मापदण्ड असार १ गतेबाट लागू गरेको छ । तर, सार्वजनिक रुपमा यो मापदण्ड सार्वजनिक भने गरिएको छैन । बोर्डले  पत्रकार सम्मेलन गरेर मापदण्ड सार्वजनिक गर्ने बताउँदै आएको छ । तर, अनलाइनखबरलाई बोर्डले तयार पारेको मापदण्डको पूर्ण विवरण प्राप्त भएको छ ।

नव प्रवेशी चलचित्र निर्माताका लागि न्यूनतम मापदण्डहरु : पहिलो पटक चलचित्र निर्माणका लागि इजाजत लिने निर्माताका लागि देहायका मापदण्डहरु पूरा गरेको हुनुपर्नेछ :

क. पहिलो पटक चलचित्र निर्माण गर्न दर्ता भएको कम्पनी वा संस्थाको कम्तिमा एउटा चलचित्र निर्माण गरि सेन्सर गरेको अर्को कम्पनी वा संस्थासँग सह निर्माण(बोर्डबाट संयुक्तरुपमा चलचित्र निर्माण इजाजत पत्र प्राप्त) गरेको हुनुपर्नेछ या बोर्डले तोकेको चलचित्र क्षेत्रको कुनै एक बिषयमा कम्तीमा १० बर्ष निरन्तर रुपमा क्रियाशिल व्यक्ति वा

ख. खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै चलचित्र निर्माताले पहिले नै कम्पनी वा संस्था दर्ता गरि सो संस्थाबाट चलचित्र निर्माण गर्ने इजाजत लिई चलचित्र जाँच पास गरेको रहेछ र त्यस्तो कम्पनी वा संस्था विविध कारणबाट बन्द भई निजले नयाँ कम्पनी वा संस्था दर्ता गरि बोर्डमा चलचित्र निर्माण इजाजत लिनका लागि त्यस्तो मापदण्ड आवश्य पर्ने छैन ।

ग. नव प्रवेशी निर्माताले चलचित्र निर्माण इजाजतपत्र हस्तान्तरण गरि लिन चाहेमा सो हस्तान्तरण गरि लिनु अघि चलचित्र परमार्श डेस्कमा अनिवार्य रुपमा सहभागी भई सो समितिको सिफारिश पश्चात मात्र बोर्डले इजाजत पत्र हस्तान्तरण गरिदिन सक्नेछ ।

घ. खण्ड (ग) बमोजिम हस्तान्तरण गरिएको इजाजत पत्र बमोजिमका निर्मातालाई खण्ड -क) बमोजिमको मापदण्ड लागू हुनेछ ।

ङ. चलचित्र निर्माण गर्नका लागि उमेरको हकबन्दी लाग्ने छैन ।

नव प्रवेशी चलचित्र निर्देशकका लागि न्यूनतम मापदण्डहरु : नव प्रवेशी चलचित्र निर्देशकका लागि न्यूनतम मापदण्डहरु देहाय बमोजिम हुनेछ :

क. चलचित्र सम्बन्धी औपचारिक शिक्षा हासिल गरेको हुनुपर्ने(स्विकृत प्राप्त शिक्षण संस्थाबाट चलचित्र निर्देशन, सम्बन्धी मूल बिषय लिई अध्ययन गरेको र बाषिर्क परिक्षा उत्तिर्ण गरेको हुनुपर्ने(शैक्षिक प्रमाण पत्र आवश्यक) वा कम्तीमा ५ वटा नेपाली चलचित्रमा सहायक वा मुख्य सहायक निर्देशकका रुपमा काम गरेको र ती चलचित्रको निर्माण इजाजत पत्रमा नाम उल्लेख भई जाँचपास समेत भएको हुनुपर्ने, वा

ख. कम्तीमा १० बर्ष चलचित्र क्षेत्रको कुनै एक बिषयमा निरन्तर क्रियाशिल भएको व्यक्ति ।

ग. कुनै विदेशी नागरिकले नेपाली चलचित्र निर्देशन गर्न चाहेमा समेत यस कार्यविधिको खण्ड (क) र (ख) मध्ये कुनै एक मापदण्ड पुरा गरेको हुनुपर्नेछ ।

घ. कुनै पनि व्यक्तिले नयाँ विश्व किर्तिमान राख्ने उद्देश्यका लागि चलचित्र निर्देशन विधा छनोट गरि चलचित्र निर्देशन गर्न चाहन्छ भने त्यस्ता व्यक्तिसँग बोर्डबाट गठित चलचित्र परमार्श समितिले सोको वास्तविकता र यथार्थताका सम्बन्धमा अध्ययन, अनुसन्धान र मुल्यांकन सहितको सिफारिश बोर्ड समक्ष पेश गरेपछि मात्र बोर्डबाट त्यस्ता व्यक्तिलाई चलचित्र निर्देशनका लागि अनुमति दिन सक्नेछ ।

ङ. चलचित्र निर्देशन गर्नका लागि उमेरको हकवन्दी लाग्ने छैन ।

नव प्रवेशी चलचित्र निर्माता तथा निर्देशकका लागि आवश्यक कागजात र प्रमाणपत्र :

क. निर्माताका लागि नेपाली नागरिकता प्राप्त गरेको व्यक्ति ।

ख. चलचित्र निर्माण गर्नका लागि कम्पनी वा संस्था दर्ता गर्दाका बखत कम्पनीको शेयर सदस्य, संचालक भएको प्रमाणित कागजात । जस्तै : कम्पनीको प्रवन्ध पत्र र नियमावलीमा नाम उल्लेख हुनुपर्ने वा घरेलु तथा साना उद्योग कार्यलयमा दर्ता प्रमाण पत्रमा प्रोपाइटरको नाम उल्लेख भई फोटो टाँस गरेको हुनुपर्ने वा प्रचलित कानून बमोजिम दर्ता हुने निकायबाट चलचित्र निर्माण सम्बन्धी उद्देश्य स्पष्ट रुपमा खुलेको र शेयर सदस्य भएको प्रमाण वा प्रोपाइटरको नाम उल्लेख भएको कागजात ।

ग. नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गर्ने उमेर नपुगेका निर्देशकका हकमा नेपाल सरकारबाट जारी गरिएको नाबालिका वा अन्य प्रमाण खुल्ने कागजात ।

घ. विदेशी निर्देशकका लागि  सम्बन्धित देशबाट जारी गरिएको नागरिकता प्रमाण पत्र वा राहादानी ।

ङ. नव प्रवेशी सम्बन्धमा सरोकारवाला संघ संस्थाबाट प्रमाणित कागजातलाई आधार मान्न सकिनेछ । जस्तै, निर्माता भए नेपाल चलचित्र निर्माता संघको सिफारिश, निर्देशक भए नेपाल चलचित्र निर्देशक समाजको सिफारिश र प्रदर्शक तथा वितरक भए नेपाल चलचित्र संघको सिफारिश । तर, विदेशी नागरिकको हकमा सम्बन्धित देशको चलचित्र सम्बन्धी आधिकारिक निकायबाट जारी प्रमाण खुल्ने कागजात ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment