Comments Add Comment

संविधान बनेपछि मुलुकले आर्थिक समृद्धि हासिल गर्छ : प्रचण्ड

Prachanda-with-Chembar
१८ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अबको एक महिनाभित्र मुलुकमा नयाँ संविधान जारी भईसक्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले हालै सम्पन्न राजनैतिक दलहरुबीचको सम्झौतापश्चात संविधान बन्ने प्रत्याभूति भएको बताए । ‘असन्तुष्ट दलहरुबीच पनि नियमित छलफल भइरहेको छ, सबैको सहमतीमा नयाँ संविधान जारी हुन्छ’ उनले भने- ‘यसका लागि सबै क्षेत्रबाट रचनात्मक सहयोगको अपेक्षा गरिएको छ ।’

नयाँ संविधानमा सवै वर्ग र समूहको भावना समेटिने उनले ठोकुवा गरेका छन् । संविधानप्रति अधिक भन्दा अधिक जनताले अपनत्व महशुश गर्ने र मुलुकले छिटै आर्थिक सम्वृद्धि हासिल गर्ने उनको भनाई छ ।

अध्यक्ष प्रचण्डले आर्थिक विकासको नेतृत्व गरेर अगाडि बढ्न चेम्बरलाई अनुरोध गरेका छन् ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुक लामो समयदेखि राजनैतिक संक्रमणबाट गुज्रिएकाले आर्थिक विकास प्रभावित भएको बताए ।

संक्रमणकाल लम्बिँदा रोजगारीको अवसर सिर्जना हुन नसकेको, लगानीको वातावरण बन्न नसक्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी संकुचन भएको, नेपालका निर्यात योग्य उत्पादनको प्रतिष्पर्धात्मक क्षमता ह्रास भई मुलुकको व्यापार घाटा दिनप्रतिदिन बढ्दै गएकोबारे श्रेष्ठले प्रचण्डको ध्यानाकर्षण गराए ।

अध्यक्ष श्रेष्ठले बर्खे अधिवेशन शुरु भएको र समयमै सरकारको नीति तथा कार्यक्रम र बजेट आउने विश्वास व्यक्त गरे । उनले विगतमा समयमै बजेट नआउँदा विनियोजित विकाश बजेट खर्च नभएको र यसले समग्र विकास निर्माणको कार्य प्रभावित भएकोले यस तर्फ राजनैतिक दलहरुको समयमै ध्यान जानुपर्ने बताएका छन् ।

हालै गएको विनाशकारी भूकम्प र बाढी पहिरोले राजमार्गहरु अवरुद्ध भएकोतर्फ ध्यानाकर्षण गराउदै श्रेष्ठले राजधानी काठमाडौं लगायत मुलुक भर पर्याप्त खाद्यान्न तथा अति आवश्यकीय बस्तुहरुकेा आपूर्तिमा समस्या आउनसक्ने जानकारी गराए ।

भेटघाटमा चेम्वरका प्रथम उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधर, प्रथम उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेश कुमार अग्रवाल, सचिव देवेन्द्र भक्त श्रेष्ठ, पर्शुराम दाहाल लगायतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment