Comments Add Comment

गणतन्त्रमा छुटेका ‘चोर’ फेरि समातिए

daka-Pakrau

१८ असार, रुपन्देही । चालचलन सुध्रिएको भन्दै एक महिना अघि गणतन्त्र दिवसको अबसरमा छुटेका एक व्यक्ति चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका छन् ।

बुटवल नगरपालिका-१३ बस्ने निरु गुरुङ एक महिनाअघि मात्र छुटेका थिए । नौ वर्ष जेल बसेका उनलाई सरकारले गत जेठ १५ गते गणतन्त्र दिवसको अबसरमा रिहा गरेको थियो ।

तर, जेलबाट छुटेको उनी हतियार देखाई धनमाल लुटेको अभियोगमा पक्राउ परेका छन् । बर्दीया खैरापुर-९ घर भई बुटवल नगरपालिका-१३ बस्ने निरु गुरुङसहितका चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गुरुङको समूहले असार १३ गते बुटवल उपमहानगरपालिका-१४ ढवाहमा रहेको सिद्धार्थ हाडवर्यरबाट पेस्तोल देखाई लुटपाट गरेका थिए ।  लुटपाटमा संलग्न भएको अभियोगमा गुरुङसँगै बुटवल-१० का विश्वास श्रेष्ठ, विकाश न्यौपाने, मैनिहवा-१ का प्रभु दयाल हरिजन पक्राउ परेका छन् ।

प्रहरीका अनुसार निरु गुरुङसहितका चारै जना यसअघि पनि जेल परेका थिए । हरिजन अपरहण मुद्दामा ९ वर्ष जेल बसेर २०६९ सालमा भैरहवाबाट रिहा भएका थिए । विश्वास चोरी र ब्राउन सुगर मुद्दामा ७ वर्ष जेल बसेर गत वर्ष असोजमा पाल्पा कारागारबाट छुटेका थिए भने राजु चोरीको मुद्दामा जेल परेका थिए ।

प्रहरीले उनीहरुको साथबाट १/१ राउण्ड गोली लोड भएको पेस्तोल २ थान, कटुवा पेस्तोल १ थान, खाली कटुवा पेस्तोल १ थान र घटनामा प्रयोग भएको मोटरसाइकल २ थान समेत बरामद गरेको छ ।

अनुसन्धानका क्रममा घटनामा प्रयोग भएको हतियार बुटवल नगरपालिका-१० स्थित न्यु कलश होटलमा काम गर्ने विकास न्यौपानेलाई राख्न दिएको खुलेपछि प्रहरीले छापा मार्दा होटलको किचनमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको थियो ।

यस्तो छ पक्राउ परेकाहरुको विगत

रुपन्देहीका एसपी राजेन्द्र ढकालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार ३० वर्षीय निरु गुरुङ (निरज)लाई विगतमा चार स्थानमा भएका डाँका-चोरीको घटनामा १२ वर्ष कैद १२ लाख रुपैयाँ जरिवाना भएको थियो । ०६२ सालमा डाका चोरी मुद्दामा साढे ९ वर्ष जेल सजाय भुक्तान गरेका उनी गणतन्त्र दिवसको अवसरमा सजाय माफ भइ पाल्पा कारागाबाट ०७२ जेठ महिनामा छुटेका थिए ।

त्यस्तै पक्राउ परेका अर्का ३४ वर्षीय प्रभु दयाल हरिजनले विगतमा हाटीवनगाई बस्ने शत्रुधन यादवलाई अपहरण गरेको अभियोगमा ०६४ सालमा अपहरण तथा शरिर बन्धक मुद्दामा पक्राउ गरी ९ वर्ष जेल सजाय तोकिएकोमा पुनरावेदन गरी ५ वर्ष कैद भुक्तान गरी ०६९ सालमा भैरहवा कारागारबाट छुटेका थिए ।

२५ वर्षीय विश्वास गुरुङ ०६५ सालमा लागुऔषध ब्राउन सुगर र चोरी मुद्दामा ७ वर्ष कैद भुक्तान गरी ०७१ साल असोज महिनामा पाल्पा कारागारबाट छुटेका थिए ।

पक्राउ परेका अर्का २९ वर्षीय राजु गुरुङ ०६६ फागुन ४ को अदालतको आदेशले चोरी मुद्दामा ७० हजार धरौटी राख्न नसकी १ वर्ष कैद बसी ३० हजार रुपैयाँ धरौटीमा छुटेका व्यक्ति हुन् ।

यसैगरी पक्राउ परेका २५ वर्षीय विकास भन्ने देविकृष्ण न्यौपानेको विगतको अपराबारे केही नखुलेको प्रहरीले जनाएको छ । उनी बुटवल उपमहानगरपालिका १० स्थित होटल न्यु कैलाशमा काम गर्ने गरेको र हातहतियार लुकाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई हातहतियार खरखजाना ऐन २०१९ को दफा ५ (१) मा कसुरमा ऐ ऐनको दफा २० (२) बमोजम ३ देखि ५ वर्ष कैद वा १ हजारदेखि १ लाख रुपैयाँसम्म वा दुवै सजाय हुन सक्ने कानुनी प्रवाधान छ ।

त्यस्तै मुलुकी ऐन चोरी महलको दफा १ नम्बरको कसुरमा डाँका चोरी गर्नेलाई सोही ऐनको १४ (४) बमोजिम डेढी बढाई ६ वर्षदेखि १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment