Comments Add Comment

सुवास नेम्वाङको रुलिङ- षड्यन्त्र शव्द प्रयोग नगर्नू

१८ असार,काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाले संविधानसभा बैठकभित्र बोल्दा षडयन्त्र भन्ने शव्द प्रयोग नगर्न निर्देशन दिएका छन् ।

Subash-nembangसंविधानसभाको शुक्रवारको बैठकको शुरुमै अवरोध गर्न उत्रिएका राप्रपा नेपालका सभासद सुशील श्रेष्ठले बोल्ने क्रममा संविधानको मस्यौदामा षड्यन्त्रपूर्वक स्थानीय चुनावको मिति हटाइएको र धर्म परिवर्तनको अधिकार दिइएको भन्दै आपत्ति जनाएका थिए ।

त्यसपछि अध्यक्ष नेम्वाङले संविधानसभाको प्रक्रियामा षड्यन्त्र भन्ने शव्द प्रयोग नगर्न ध्यानाकर्षण गराएका हुन् । ‘हाम्रो नियमले रोक्छ त्यसैले षड्यन्त्र भन्ने शव्द प्रयोग नगर्नु होला, यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ’ नेम्वाङले भने ।

अध्यक्ष नेम्वाङले संविधानको प्रारम्भिक मस्यौदामा परिमार्जनको पर्याप्त अवसर रहेको भन्दै अहिलेनै अबरोध गर्ने प्रक्रिया ठिक हुने बताए । सभाध्यक्षले बैठकको कारवाही अघि बढाउन खोज्दा राप्रपा नेपाल लगायत साना केही दलका सभासद पुनः विरोधमा उठे ।

नेम्वाङले राप्रपा नेपालका कमल थापालाई बोल्न दिएपछि एमालेका कर्णवहादुर थापाले नियमापत्ति गरे ।

उनले संविधानसभा नियमावली अनुसार संविधानसभा बैठकमा सभासदलाई बोल्न अवरोध गर्न नमिल्ने भन्दै विपक्षीहरुले बैठकमा अवरोध सिर्जना गर्नु नियम विपरित हुने बताए । थापाले भने-‘संविधानसभामा अवरोध सिर्जना गर्ने प्रवृतिलाई संवैधानिक अधिकार दिनु हुँदैन, संविधानसभा बैठक निर्वाध चल्नुपर्छ ।’

नेम्वाङले फेरि कमल थापालाई समय दिए । थापाले भने-‘अध्यक्षज्यूले षडयन्त्र शव्द प्रयोग नगर्नु भन्नुभएको छ, म त्यो शव्द प्रयोग गर्दिन तर, जालझेल त भएकै छ अध्यक्षज्यू ।’

प्रस्ताव गरिएको मस्यौदामा भएका धेरै विषय हटाएर संविधानसभामा पेश गरिएको भन्दै थापाले आपत्ति जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment