Comments Add Comment

प्रधानन्याधीशको हेरफेरले सञ्जय साहलाई घाटा !

sanjay takla

नवीन झा

१८ असार, जनकपुर । चार दलले गरेको १६ बुँदे सहमति उल्ट्याएलगत्तै सर्वोच्च अदालतको अर्को योजना थियो, जनकपुर बमकाण्डको अभियोगमा कारागारमा रहेका निलम्बित सभासद सञ्जय साहको मुद्दाको सुनुवाइ गर्ने । तर, साह छुट्न लागेको समाचार एमाएक मिडियामा सार्वजनिक भएपछि अदालत पछि हट्यो ।

सूत्रहरुका अनुसार प्रधानन्यायधीशबाट रामकुमारप्रसाद साह हट्ने र कल्याण श्रेष्ठ प्रधानन्यायाधीश बन्ने क्रम अघि बढेसँगै ‘साह’ले मिलाएको लाइन अहिले टुटेको छ ।

बमकाण्डका अभियुक्तलाई निर्दोष सावित गर्न लागिएको चर्चा चलेपछि न्यायाधीश श्रेष्ठले यसबारे प्रधानन्यायधीश साहसँग आपत्ति जनाएको स्रोत बताउँछ । श्रेष्ठले आपत्ति जनाएसँगै पेशीमा चढिसकेको साहको मुद्दा अघि बढ्न सकेन ।

सिंहानिया हत्याका मुख्य योजनाकारको खोजी

जनकपुरका सञ्चार उद्योगी अरुण सिंघानियाको १७ फागुन ०६६ मा भएको हत्यालाई लिएर विभिन्न अडकलवाजी चलिरहँदा उक्त घटनाको जिम्मेवारी लिएका एकजना सशस्त्र समुहका नाइकेले मुकेश चौधरीले सो घटनाको मुख्य योजनाकार संजय साह रहेको आरोप लगाएका छन् । साह जनकपुर बमकाण्डको अभियोगमा हाल कारागारमा छन् ।

जनकपुर बमकाण्डमा सञ्जयसँग सम्बन्ध बिग्रेपछि मुकेश पनि सञ्जयलाई सिध्याउन लागि परेको देखिन्छ । जस्तो कि बम काण्डको केही महिना नबित्दै उनले संजय साहसंग गरेको कुराकानीबारे जीवनाथ चौधरीलाई जानकारी गराए । तर जीवनाथले उक्त कुरा थाहा पछि मुकेशलाई प्रयोग गर्न खोजेको देखिन्छ ।

सिंहानियाको हत्या भएको ४ वर्षपछि १९ फागुन ०७० मा प्रहरीले चौधरीलाई समातेको थियो । चौधरीको वयानपछि नै साह बमकाण्डमा मुछिएका थिए । हाल कारागारमै रहेका चौधरीले एउटा अन्तरवार्तामा भनेका छन, मलाई सिंघानियाको हत्याको जिम्मा लिन सञ्जय साहले भनेका थिए, त्यसपछि मैले उक्त घटनाको जिम्मा लिएको थिएँ ।

चौधरीले सिंघानियाको हत्यालगतै सञ्जय साहले आफुलाई फोन गरेर उक्त घटनाको तत्काल जिम्मा लिन भनेको उल्लेख गरेका छन् । सशस्त्र समूहका नेता चौधरीले मिडियालाई सूचना दिएर हत्यको जिम्मा लिएका थिए ।

प्रहरीले यसघटनाको अनुसन्धानको क्रममा अहिले संजय साहका निकटतम मानिने रामविनोद यादवलाई प्रक्राउ गर्न उर्दी जारी गरेको छ । यस घटनाको अनुसन्धानको क्रममा प्रहरीले अरु केहीलाई पनि समातेको छ । तर, अहिले प्रहरीले राम विनोद यादवलाई नसमातिकन यसको अनुसन्धान पुर्ण नहुने बताउदै आएका छन ।

प्रहरीले मुकेश चौधरीलाई समातेपछि उनलाई सार्वजनिक गरिएको पत्रकार सम्मेलनमा जारी गरेको प्रेस विज्ञिप्तमा उनी माथि लगाइएको मुद्दाहरुको १ नम्बर मै सिंघानिया घटनावारे उल्लेख गरेका थिए ।

प्रेस विज्ञिप्तीमा सिंघानिया घटनाका जिम्मेवारी मुकेश चौधरीले लिएको भन्दै त्यसमाथि छानविन भइरहेको उल्लेख गरिएको थियो ।
मुकेश चौधरीका अनुसार सञ्जय साहकै मुख्य योजनामा सिंघानिया हत्याका लागि रामविनोद यादव लागि परेका थिए । यादवले १० लाख दिएर सिंघानियाको हत्यामा संग्लन सुटरहरु मनक लामा र एकल सहनीको व्यवस्थापन गरेको चौधरीको दाबी छ ।

एकल सहनीलाई प्रहरीले समातेर अनुसन्धानका लागी राखेको छ भने मनक लामा बारेमा कुनै चर्चा छैन । चौधरीका अनुसार धनुषा वीरेन्द्र वजारका लामा नक्कली पासर्पोट बनाएर मलेसिया गएका छन् । प्रहरीले एकल सहनीलाई समातेलगत्तै रामविनोद यादवलाई पक्राका लागि खोजी गर्न थालेको बताएका थिए । यादव अहिले पनि फरार छन् ।

सिंघानिया जनकपुरवाट प्रकाशित हुने जनकपुर टुडेका लगानीकर्ता थिए । उनको हत्यालगतै कतै उनकै सञ्चार सहयात्रीहरुको सहभागी त छैन भनेर समेत आशंकाहरु गरिएको थियो । प्रहरीले जनकपुर टुडेलाई अनुसन्धानको घेरामा लिएका थिए । उक्त अनुसन्धानमा संग्लन एक अधिकारीका अनुसार राम विनोद यादवलाई प्रहरीले समातेपछि मात्रै हत्याको मूल कुरा पत्ता लगाउन सकिने अवस्था छ । अनुसन्धानबाट उनको लगानीमा सञ्चालन रहेको जनकपुर टुडेमा हत्या भन्दा केही महिना अगाडि एउटा अपहरण सम्बन्धी छापिएको समाचारलाई लिएर संस्थामा विवाद भएको देखिएको छ । त्यसपछि पत्रिकाको एउटा समुह नै त्यहाँबाट छुटिएर गएको देखिन्छ । तर प्रहरीले उनको हत्याको कारण त्यही नै हो भनेर अहिले नै किटान गरेको छैन ।

अनुसन्धानमा संग्लन ती अधिकारीका अनुसार प्रहरीले फेला पारेको यी र अन्य केही तथ्यहरु पनि रामविनोद यादव समातिएपछि मात्रै खुल्ने छ ।

धनुषामा उत्तम सुवेदी एसपी भएर जाँदा राजन मुक्तिदेखि मुकेश चौधरी समातिएका थिए । उनकै पालामा जनकपुर बम काण्डमा संजय साह कारागार चलान भए । सुवेदीले नै संघानियाको हत्या अनुसन्धान सुरु गरेका थिए । र उनकै पालामा एकल सहनी लगायत पक्राउ परेका थिए भने रामविनोद यादवलाई पक्राउका लागी पुर्जी काटिएको थियो । संयोयवश त्यहीबेला सुवेदीको त्यहाँबाट सरुवा भएपश्चात उनी संयुक्त राष्टसंघीय मिशनमा हाल हाइटी पुगेका छन् । उनको ठाउँमा अर्का एसपी गएदेखि रामविनोद यादवको खोजी कामलाई खासै प्राथमिकतामा राखेको देखिँदैन ।

यद्यपि प्रहरी अधिकारीहरुसँग कुरा गर्दा आफुहरुले पक्राउका लागि टिम परिचालन गरिरहेको बताउँछन् ।

जनकपुरमा सशस्त्र समूहको सकस

जनकपुर बम काण्डमा सञ्जय साह मुछिएको प्रहरीको अनुसन्धानमा उनको तराई मधेशको नाममा खुलेको सशस्त्र समुहहरु आन्तरिक साँठगाँठ थियो भन्ने कुरालाई पनि उजागर गरेका थिए । हुन त जनकपुर क्षेत्रमा सञ्जय साह र जीवनाथ चौधरी सशस्त्र समूहको आडमा विभिन्न गैरकानुनी तथा अपराधिक कामहरु गरीरहेको सर्वत्र चर्चा हुने गरेकै थियो । तर, जनकपुर बम काण्डको अनुसन्धानले त्यसलाई पुष्टि नै गर्‍यो ।

सञ्जय साह र जीवनाथ चौधरीको ठेकेदारी मित्रता जसरी जनकपुर क्षेत्रमा दुश्मनीमा परिणत भएको देखिन्छ, त्यसरी नै जनकपुर क्षेत्रमा सशस्त्र समुहको आतंक पनि हृवातै फलिएको थियो । जीवनाथ चौधरी धनुषा जिविसका सह लेखापाल हुन्, जो हालै विशेष अदालतद्वारा भ्रष्टाचारी ठहर भएका छन् ।

हाल कारागारमा रहेका मुकेश चौधरी सञ्जय साहका अत्यन्तै नजिकका मानिन्थे भने राजन मुक्ति जीवनाथ चौधरीका नजिक मानिन्थे, जुन जनकपुर बम काण्डमा यिनीहरुवीच भएको डिलले पनि देखाएको स्रोतहरुको भनाइ छ ।

प्रहरीकै अनुसन्धान र ०७० मंसीरमा प्रहरी फन्दामा परेपछि राजन मुक्तिले प्रहरीसमक्ष दिएको वयान लगायतका घटनाक्रमहरुले समेत यो कुराको पुष्टि गर्छन् ।

राजन मुक्तिले जनकपुर बमकाण्डबारे आफनो वयानमा आफुहरु मुकेश चौधरीसँग मिलेर यो काम गरेको वताए थिए । मुकेश चौधरी समातिएपछि उनले आफु सञ्जय साहको मुख्य योजनामा उक्त काम गरेको बताएका थिए ।

कसरी फुट्यो सम्बन्ध ?

सुरुमा जनकपुर बमको मुख्य टार्गेट थिए सञ्जय साहका ज्यानी दुश्मन जीवनाथ चौधरी । तर, सञ्जय र मुकेशवीच भएको उक्त डिल ठूलो भएका कारण चौधरीले राजन मुक्तिको समेत संग्लनता खोजे । बम काण्डमा राजन मुक्तिसँग सहकार्य गर्न अघि सरेका मुकेश चौधरीले राजनलाई सञ्जयको योजनाबारेमा केही खुलाएका थिएनन् । घटनामा जीवनाथ उम्केपछि मुकेश र सञ्जय साहवीचको सहमतिमा भाँडभैलो भयो । प्रहरीले मुकेशका केही मानिसहरुलाई समातेपछि मुकेशले सञ्जयसँग आफ्ना मान्छे छुटाउनका लागि दबाव मात्रै होइन कि धम्की सम्म दिनुपर्‍यो । पछि सञ्जय र मुकेशवीच दोहोरो धम्की नै चल्यो ।

जीवनाथ चौधरीले उक्त प्रसंगमा मुकेश र सञ्जयको अडियोका आधारमा मुकेशकै मुखबाट सार्वजनिक अन्र्तवार्ता मार्फत सञ्जयको नाम खुलाउन चाहन्थे । मुकेशले अन्र्तवार्ताका लागि त्यसका सन्दर्भमा जीवनाथले एक मधेशी पत्रकारलाई ५ लाख रुपैयाँ लिएर आफुकहाँ पठाएको स्वीकार गरेका छन् ।

मुकेशका अनुसार जीवनाथले उक्त पत्रकार मार्फत टेलिभजन रिर्पोट बनाउन र उक्त प्रसंगमा उनको मुखबाटै सञ्जय साहको नाम खुलाउन चाहन्थे ।

मुकेशले बमकाण्डमा आफ्ना केही मान्छे समातिएकाले उनीहरु नछुटुञ्जेल सार्वजनिक गर्न खोजिरहेका थिएनन् । बरु जीवनाथसँग पनि वार्गेनिङ गरेको स्रोत बताउँछ ।

यसरी एक अर्कालाई सिध्याउनका लागि जनकपुर क्षेत्रमा सञ्जय साह र जीवनाथ चौधरीलेे सशस्त्र समुहहरुको भरपुर प्रयोग गरे । जसका कारण जनकपुरको हरेक क्षेत्रमा अपराधिक गतिविधि मौलायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment