Comments Add Comment

नाराबाजीका बीच संविधानको मस्यौदामाथि छलफल सुरु

CA-Meeting

१८ असार, काठमाडौं । राप्रपा नेपालको नाराबाजीका बीच नयाँ संविधानको पहिलो एकीकृत मस्यौदामाथि छलफल सुरु भएको छ । झण्डै ५ घन्टा नाराबाजी गरेपछि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले मस्यौदामाथिको छलफल अघि बढाएका हुन् ।

शुक्रबारको बैठक सुरु हुनासाथ धर्म परिर्वतनलाई मौलिक हकमा राखिएको भन्दै राप्रपा नेपालका सभासदहरुले विरोध गरे । राप्रपा नेपालका अध्यक्ष कमल थापाले युरोपेली युनियन र बेलायतको दबावमा धर्म परिर्वतनलाई मौलिक हकमा राखिएको आरोप लगाए ।

लगतै राप्रपा नेपालका सभासदहरुले नाराबाजी सुरु गरे । दिउँसो २ बजेबाट सुरु भएको झण्डै नाराबाजी ५ घन्टासम्म चल्यो । राप्रपा नेपालका सभासदहरुले कहिले उठेर त कहिले बसेर नाराबाजी गरे ।

संविधानसभा अध्यक्षले बैठक सुचारु गर्ने वातावरण बनाउन पटक-पटक आग्रह गरे । तर, नाराबाजी नरोकिएपछि सभाध्यक्ष सुवास नेम्वाङले संविधानसभा बैठकको प्रक्रियन अघि बढाए ।

माघ ७ को आफ्नो निर्देशन सम्झाउँदै सभाध्यक्ष नेम्वाङले संविधानसभाको बैठक अवरुद्ध गर्नु जनताको जनादेश, अन्तरिम संविधान र संविधानसभाको सर्वोच्चता तथा स्वाधिनताविरुद्ध भएको बताए ।

उनले नाराबाजीका बीच एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेललाई बोल्न समय दिएका छन् । उनले धर्म परिर्वतनलाई अब सबैले पनि हटाउन नसक्ने धारणा राखे ।

कांग्रेस सभासद धनराज गुरुङ, एमालेका भानुभक्त ढकाल र फोरम लोकतान्त्रिकका सभासद जितेन्द्र देवले धारणा राखे । बैठक शनिबार ११ बजेसम्मका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment