Comments Add Comment

धार्मिक स्वतन्त्रताको हकका सम्वन्धमा के हो त वास्तविकता ?

Gagan Thapa 400गगन थापा, कांग्रेस सभासद 

संविधानसभाको आजको वैठकमा संविधानसभा सदस्य मा. कमल थापाले संविधान मस्यौदा समितिले १३ गते तयार भएको मस्यौदा र १५ गते संविधानसभामा प्रस्तुत गरेको मस्यौदामा व्यापक परिवर्तन भएको भन्नु भएको छ । संविधानको प्रारम्भिक मस्यौदा संविधानसभामा पेश गर्ने क्रममा १३ गते मस्यौदा समितिले पारित गरेको मस्यौदा र १५ गते संविधानसभामा पेश भएको मस्यौदा फरक आएको छ यो समितिको हो कि होईन भन्ने प्रश्नका साथ उहाँले मस्यौदामा गरिएका परिवर्तनका सन्दर्भमा उठाएको विषय गम्भिर र जायज छ । मस्यौदा समितिले भाषागत सुद्धिकरणका लागि पठाएको मस्यौदामा स्थानीय निर्वाचन, संक्रमणकालिन व्यवस्था लगायतका दर्जनौ महत्वपुर्ण विषयमा गरिएको परिमार्जन आफैमा आपत्तिजनक छ भन्ने कुरा हामीले पनि उठाएका छौं ।

तर आफ्नो कुरा राख्ने क्रममा मा. कमल थापाले एउटा संवेदनशील विषयलाई जुन ढङ्गले प्रस्तुत गर्नुभएको छ त्यसप्रति गम्भिर ध्यानाकर्षण भएको छ । प्रस्तावित मस्यौदामा  उल्लेखित धार्मिक स्वतन्त्रताको हकका सन्दर्भमा मा. कमल थापाका अनेकन विमति हुन सक्छन । विगत लामो समयदेखि उहाँले उठाँउदै आउनुभएको हिन्दु राष्ट्रका विषयमा पनि आ- आफ्नै मत होलान । यहि मस्यौदा पारित गर्ने क्रममा पनि उहाँ लगायत कतिपय सदस्यहरूले धर्मको वारेमा फरक मत दर्ज गर्नु भएको छ । तर आज बोल्ने क्रममा १३ गते पारित मस्यौदामा नभएको कुरा १५ गतेको मस्यौदामा रातारात परिवर्तन गरि ‘धार्मिक स्वतन्त्रताको हकमा धर्म परिवर्तन गर्न पाउने कुरा थपिएको र धर्म परिवर्तनलाई मौलिक हकमा राखिएको भन्नु भएको छ । जुन विषय निराधार र जनतामा भ्रम फैलाउने किसिमले अभिप्रेरित छ ।

पहिलो संविधानसभाले धार्मिक स्वतन्त्रताको हकको रुपमा पारित गरेको विषयलाई नै यो संविधानसभाले ग्रहण गरि संविधान अभिलेख अध्ययन तथा निर्क्यौल समितिले सोहि प्रावधान संविधानसभामा बुझाएको थियो । संविधान मस्यौदा मौलिक हक, राज्यको निर्देशक शिद्धान्त र आयोगहरू सम्वन्धि उपसमितिले सोहि प्रावधानलाई पारित गरि मस्यौदा समितिमा पेश गरेको हो । १३ गते मस्यौदा समितिमा पारित विषय नै १५ गते संविधानसभामा पेश भएको प्रारम्भिक मस्यौदामा उल्लेखित छ । यो विषय रातारात परिवर्तन भएको होईन । १३ गते मस्यौदा समितिले धार्मिक स्वतन्त्रताको हक भनेर जे पारित गरेको थियो त्यहि नै १५ गते प्रस्तुत प्रारम्भिक मस्यौदामा प्रष्ट रुपमा उल्लेखित भएको अवस्थामा जनतालाई भ्रमित पार्ने गरि वास्तविकतालाई वङ्गाउने प्रयास गर्नु कति ठिक हो ? वास्तविकता के हो भन्ने थाहा पाउन धार्मिक स्वतन्त्रताको हकका सन्दर्भमा राखिएका प्रावधानहरूको तलको श्रीङ्खला हेर्न सकिन्छ ।

पहिलो  संविधानसभाको प्रतिवेदनमा उल्लेखित विषयः

 (१) प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने तथा कुनै धर्मबाट अलग रहने स्वतन्त्रता  हुनेछ ।

 तर कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकता प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने कृयाकलाप गर्न गराउन वा कसैको धर्म परिवर्तन गराउन वा अर्काको धर्ममा खलल पर्ने कुनै काम वा व्यवहार गर्न गराउन पाउने छैन ।

(२) प्रत्येक धार्मिक सम्प्रदायलाई कानून बमोजिम आफ्नो स्वतन्त्र अस्तित्व कायम राखी आफ्नो धार्मिक स्थल र धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्ने हक हुनेछ ।

संविधान अभिलेख अध्ययन तथा निर्क्यौल समितिको प्रतिवेदनः

(१) प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने तथा कुनै धर्मबाट अलग रहने स्वतन्त्रता हुनेछ ।

 तर कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकता प्रतिकूल हुने वा सार्वजनिक शान्ति भङ्ग गर्ने कृयाकलाप गर्न गराउन वा कसैको धर्म परिवर्तन गराउन वा अर्काको धर्ममा खलल पर्ने कुनै काम वा व्यवहार गर्न गराउन पाउने छैन।

(२) प्रत्येक धार्मिक सम्प्रदायलाई कानून बमोजिम आफ्नो स्वतन्त्र अस्तित्व कायम राखी आफ्नो धार्मिक स्थल र धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्ने हक हुनेछ ।

दोस्रो संविधानसभामा उल्लेखित विषयः

मौलिक हक, राज्यको निर्देशक सिद्धान्त र आयोगहरू सम्वन्धि उपसमितिवाट पारित प्रतिवेदनः

(१) प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने तथा कुनै धर्मबाट अलग रहने स्वतन्त्रता हुनेछ ।

तर कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकता प्रतिकूल हुने वा सार्वजनिक शान्ति भङ्ग गर्ने कृयाकलाप गर्न गराउन वा कसैको धर्म परिवर्तन गराउन वा अर्काको धर्ममा खलल पर्ने कुनै काम वा व्यवहार गर्न गराउन पाउने छैन ।

(२) प्रत्येक धार्मिक सम्प्रदायलाई कानून बमोजिम आफ्नो स्वतन्त्र अस्तित्व कायम राखी आफ्नो धार्मिक स्थल र धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्ने हक हुनेछ ।

१३ गते मस्यौदा समितिले पारित गरेको प्रतिवेदनः

(१) प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने तथा कुनै धर्मबाट अलग रहने स्वतन्त्रता हुनेछ ।

(२) प्रत्येक धार्मिक सम्प्रदायलाई कानून बमोजिम आफ्नो स्वतन्त्र अस्तित्व कायम राखी आफ्नो धार्मिक स्थल र धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्ने हक हुनेछ ।

(३) यस धाराद्धारा पदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकता प्रतिकूल हुने वा सार्वजनिक शान्ति भङ्ग गर्ने कृयाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउन वा अर्काको धर्ममा खलल पर्ने कुनै काम वा व्यवहार गर्न, गराउन हुदैन र यस्तो कार्य कानून वमोजिम दण्डनीय हुनेछ ।

१५ गते संविधानसभामा पेश भएको प्रारम्भिक मस्यौदाः

 व्याख्यात्मक टिप्पणीः धार्मिक स्वतन्त्रताको हक अन्तर्गत प्रत्येक व्यक्तिलाई धार्मिक आस्था, विचार, सद्विवेकको अधिकार हुने, आफूले रोजेको धर्म अवलम्वन र अभ्यास गर्ने स्वतन्त्रता रहने तथा आफ्नो इच्छामा धर्म परिवर्तन गर्न पाउने अधिकार, धर्मको आधारमा राज्यबाट कुनै प्रकारको विभेद नहुने, व्यक्तिगत वा सामूहिक रुपमा धार्मिक कृयाकलाप, अनुष्ठान वा पूजाआजा गर्न पाउने अधिकार तथा कुनै पनि धर्म नमान्न वा कुनै धर्मको अवलम्बन गर्नबाट स्वतन्त्र रहन पाउने स्वतन्त्रता समेत पर्दछन् । साथै प्रत्येक व्यक्तिको धार्मिक अधिकारहरूको संरक्षण र सुरक्षित गर्न यो व्यवस्था गरिएको छ । कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकता प्रतिकूल हुने वा सार्वजनिक शान्ति भङ्ग गर्ने कृयाकलाप गर्न गराउन वा कसैलाई दवाव वा प्रभावमा पारी कसैले कसैको धर्म परिवर्तन गराउन वा अर्काको धर्ममा खलल पर्ने गरी कुनै काम वा व्यवहार गर्ने कार्यमा यो हकको दावी पुग्न सक्तैन । यस्तो कार्य दण्डनीय बनाउन समेतको लागि यो व्यवस्था गरिएको छ ।

अन्त्यमा,

माथि उल्लेखित प्रावधानहरूले नै प्रष्ट पारेको छ कि धार्मिक स्वतन्त्रताको हकको सन्दर्भमा विघठित संविधानसभाले जे प्रस्ताव पारित गरेको थियो त्यही नै अहिलेको मस्यौदामा राखिएको छ । वरू यो विषयमा मस्यौदाले थप प्रष्ट पार्दै ‘कसैको धर्म परिवर्तन गराउन वा अर्काको धर्ममा खलल पर्ने कुनै काम वा व्यवहार गर्न, गराउन हुदैन र यस्तो कार्य कानून वमोजिम दण्डनीय हुनेछ’ भनेको छ । व्याख्यात्मक टिप्पणीमा पनि कसैलाई दवावमा मात्र होईन प्रभावमा पारि कसैको धर्म परिवर्तन गर्न नपाउने’ उल्लेख गरिएको छ । त्यसैले विवाद यो विषयमा थिएन बरू विवाद त धर्मको विषय प्रस्तावना राख्ने वा नराख्ने, हिन्दु राष्ट्र भन्ने वा धर्म निरपेक्ष भन्ने वा धार्मिक स्वतन्त्रता भन्ने कुरामा थियो । धर्मका सन्दर्भमा नेपाल हिन्दुराष्ट्र वनाउनुपर्छ भन्ने उहाँको आफ्नो मत पनि राख्नुभएकै छ । प्रस्तावित मस्यौदामा पनि उहाँले फरक मत दर्ज गर्नुभएकै छ ।

मस्यौदा समितिले पारित गरेको प्रतिवेदनमा दर्जनौं परिवर्तन गरि संविधानसभामा पेश भएको सन्दर्भमा उहाँको आपत्ति स्वभाविक छ । तर आजको संविधानसभाको वैठकमा १३ गते पारित प्रतिवेदनमा नभएको धर्म परिवर्तन गर्न पाउने हक मौलिक हकको रुपमा  रातारात १५ गते प्रवेश गराईयो भनेर जुन आरोप लगाउनु भएको छ त्यो निराधार, गलत र भ्रमपुर्ण छ । यसरी नभएका विषयलाई हो भनेर सनसनीपुर्ण ढङ्गले निराधार र तथ्यहिन भ्रम नफैलाउनुको पछाडिको नियत के हो ? भन्ने प्रश्न उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment