पछिल्लो समयमा सहरीकरणको बढ्दो असर तथा पक्की संरचनाहरुका कारण गुँड बनाउने ठाउँको अभावमा भँगेरा चराको संख्या घट्दै गइरहेको विज्ञहरुको भनाइ छ । यहीँ कुरालाई ध्यानमा राखेर अब सरकारी भवनहरुमा भँगेराका लागि छुट्टै घरकेा निर्माण गरिने भएको छ ।
हाम्रो नेपालमा भने होइन यस्तो । भारतको बिहारमा राज्य सरकारले सरकारी भवनहरुमा भँगेराका लागि बासस्थान बनाइदिने घोष्णा गरेको हो ।
बिहारको राजकीय पंक्षीको रुपमा रहेको भँगेराको संरक्षण तथा प्रजननका लागि शान्त वातावरण उपलब्ध गराउनका लागि राज्यको वन पर्यावरण विभागले यस्तो अनौठो पहलकदमी लिएको छ । जस अनुसार सरकारले राज्यका सबै सरकारी भवन तथा आवासहरुमा काठको छुट्टै भँगेरा घर राख्ने भएको हो ।
विभागका एक अधिकारीका अनुसार यो कार्यक्रमको पहिलो चरणको सुरुवात पटनाबाट गरिनेछ । जहाँ झण्डै १० हजार सरकारी कार्यालय तथा आवासहरुमा भँगेरा घरको निर्माण गरिनेछ । घरमा आँगनको चलन हराउँदै जाँदा भँगेराका लागि उपयुक्त ठाउँको अभाव हुँदै गएको र भवनहरुको बाहिरी भागमा सिसा तथा सिमेन्टको प्लास्टर हुने हुँदा गुँड लगाउन पनि ठाउँको अभाव हुँदै गएको छ ।
केही दिन अघि भएको वन्यजन्तु परिषदको बैठकमा बिहारका मुख्यमन्त्री नीतीश कुमारले भँगेरा संरक्षण तथा प्रजननका लागि विशेष व्यवस्था गर्न निर्देशन दिएपछि सरकारले भँगेरा घर बनाउने निर्णय गरेको हो ।
राज्य सरकारले बिहारभर भँगेरा संरक्षणका लागि चेतनामूलक कार्यक्रम समेत संचालन गर्नेछ । सरकारी कदमको भँगेरा संरक्षणकर्मीहरुले स्वागत गरेको भारतीय संचार माध्यम आजतकको अनलाइन संस्करणले जनाएको छ ।