Comments Add Comment

विद्यार्थीले ल्याएको अंकले शिक्षक, अभिभावक सबै दंग

१९ असार, काठमाडौं । भक्तपुरस्थित बागेश्वरी उच्च माविका विज्ञान शिक्षक उकेश सुवाल त्यतिबेला दंग परे, जब छोरी आयुशाले विज्ञानमै ९६ प्रतिशत अंक ल्याइन्। समग्रमा ९२.३८ प्रतिशत अंक ल्याएकी सोही विद्यालयकी छात्रा आयुशाको सफलतामा दंग सुवाल विद्यालयको नतिजाले थप प्रफुल्ल छन्।
slc-examउक्त विद्यालयबाट १ सय ५७ विद्यार्थी सहभागी भएकोमा यसपालि १ सय ३३ जना उत्तीर्ण भए। विगतका उत्कृष्ट नतिजाले पनि बागेश्वरी जिल्लामै नमुना विद्यालय भनेर चिनिन्छ।
‘मलाई मेरो विद्यालय र सन्तान दुवैप्रति गर्व छ,’ उकेश भन्छन्, ‘दुवैको विश्वास थियो, आखिर नतिजा सही निस्कियो।’

उनलाई मात्र होइन, विद्यार्थीको लगनशीलतासँगै सामुदायिक विद्यालयको सफलताका कारण खुसी मनाउनेको संख्या बढेको छ। नजिकैको देवीको नामबाट स्थापित बागेश्वरी अहिले यस क्षेत्रमा ‘शिक्षाको उत्कृष्ट मन्दिर’ बनेर परिचित भएको नागरिकमा खबर छ।

गत वर्ष सामुदायिक विद्यालयका तर्फबाट मुलुककै उत्कृष्ट बन्न सफल ललितपुरस्थित आदर्श शौल युवक उच्च माविले पनि यसपालि १ सय १५ विद्यार्थीमध्ये १ सय १० जनालाई उत्तीर्ण गरायो। विद्यालय–अभिभावकको सम्बन्धलाई सफलताको कारक ठान्ने प्राचार्य सरोजभक्त आचार्य आफूहरूले सबैभन्दा पहिला ‘विद्यार्थी पढ्ने’ गरेको बताउँछन्। ‘त्यसपछि मात्र उनीहरूको आवश्यकताअनुसार शिक्षा नीति आफैं बनाउँछौं,’ उनी भन्छन्।

काठमाडौंको ज्ञानोदय उच्च मावि, बाफलको नतिजाले पनि विद्यार्थी–अभिभावकमा कम्ती खुसी ल्याएको छैन। सहभागी १ सय ७७ विद्यार्थीमध्ये १ सय ३७ जनाले सफलता पाए। शिक्षक गोविन्दप्रसाद भण्डारीका अनुसार तीमध्ये २७ डिस्टिङ्सन, ९८ फर्स्ट डिभिजन र १२ जनाले सेेकेन्ड डिभिजन ल्याएका छन्।

सामुदायिक विद्यालयको समग्र नतिजाअनुसार सरकार ‘जस्ट पास’मात्र भएको अवस्थामा यी सामुदायिक विद्यालय उत्कृष्ट अंकसहित उत्तीर्ण भए। कतिपय स्कुलले असफलताका विभिन्न बहाना बताउँदै गर्दा यी विद्यालयले सफलताको एउटै सूत्रलाई पुष्टि गरेका छन्— गरे सकिन्छ।

उनीहरूले विद्यालयमा शिक्षकको अभाव हुँदा निजी शिक्षक भर्ती गराए, भवन भत्कँदा बाँसको टहरा बनाए, धेरै दिन विद्यालय बन्द हुँदा शनिबार पनि पढाए, विद्यार्थी विद्यालय आउन नसक्दा शिक्षक घरमै पुगेर समस्या सुल्झाए।

‘गरे सकिन्छ’ भन्ने मूलमन्त्र अनुसार अनेकौं अफ्ठ्यारोमाझ चुप लागेर बसेनन्, अवरोध छल्दै अगाडि बढिरहे। यही सफलता देखेका अन्य सामुदायिक विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरू भन्न थालेका छन्, ‘गर्नेले सक्दो रहेछ।’

सामुदायिक विद्यालयका ३ लाख २ हजार ३ सय ९९ विद्यार्थीमध्ये यसपालिको एसएलसीमा १ लाख ३ सय ४२ (३३.१८ प्रतिशत) विद्यार्थीमात्र पास भए। उत्तिकै सरकारी सुविधा लिएका कतिपय विद्यालय भने नील भए। निराशाको यही कालो बादलमाझ माथि उल्लिखित केही विद्यालयले भने शिक्षाको ज्योति छरेका छन्। जति प्रयास गरे पनि असफल विद्यालयका लागि तिनको उज्यालो ज्योति प्रेरक बन्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment