Comments Add Comment

हरिप्रसाद काण्ड र मूलपानीकी आमालाई पत्र !

सिन्धु ढकाल

आमा, तपाईलाई भेट्न त म आउन सकिँन । तर, तपाईका शब्दहरुले रंगिएका विभिन्न सामाजिक सञ्जाल र मिडियाले तपाईसँग भेटेजतिकै भयो । अर्थात, तपाईका सबै कुरा सुन्ने र पढ्ने मौका पाएँ । त्यही मिडियामार्फत, जसलाई तपाई गाली गरिरहनुभएको छ ।

सिन्धु ढकाल
सिन्धु ढकाल

“पतिको निधन भएको १४ वर्ष बितिसक्दा पनि मेरो चरित्रमा कसैले दोष लगाएको थिएन” भन्दै तपाईले बिलौना गरेको देख्दा मन अमिलो भएर आयो । बितेका १४ वर्ष होइन, फेरि आउने वर्षौ वर्षसम्म तपाईको चरित्रमा कसैले औंला उठाउने छैन ।

तपाईले बुझ्नुभएन छ आमा, न त मिडियाले, न त कुनै व्यक्तिले तपाईको बेइज्जत गरेका छन्, न तपाईको चरित्रमा दोष देखाएका छन् । तपाईलाई बेइज्यत मिडियाले हैन, मन्त्री हरिप्रसादले गरेका हुन् । तपाईलाई रुवाउने पनि हरिप्रसाद हुन् ।
तपाईको जोश र उर्जा देख्दा मलाई पछुतो लाग्यो । “मेरो फोटो सार्वर्जनिक गर्नेलाई जुत्ता हान्छु” तपाईले भन्दै गर्दा मैले कल्पना गरें, असार १५ का दिन तपाईले नचाहँदा नचाहँदै तपाईसँग लेपासिन आउने हरिप्रसाद पराजुलीलाई जुत्ता हान्छु मात्र भन्न सकेको भए ! त्यतिबेला तपाईले त्यसो भन्न सक्नुभएन । तपाई उनीसँगबाट उम्कने जुक्ति गर्दै हुनुहुन्थ्यो, उनलाई सराप्दै उम्कनु पनि भयो । उम्कन सकेकोमा तपाई खुसी हुनुभयो, वरपर बसेकाहरु हाँसे । अनौठो हाँसो । त्यही  हाँसोेले त हरि फेरि जोसिए अनि अर्की महिलालाई झम्टन पुगे । दृश्यमा प्रष्ट देखेका छौं आमा हामीले ।

तपाई भन्दै हुनुहुन्छ, रमाइलो गरिएको हो, आर्शिवाद लिन आएका हुन् हरि । रमाईलो गर्ने तरिका त्यस्तो हुन्छ र आमा ? तपाई बुढी मान्छे पाखामा बसेर हेर्दै गरेकी मान्छेलाई हिलाम्मे भएर रन्थनिँदै आएको एउटा लोग्ने मान्छेले तपाईले लगाएका सुकिला कपडामा आफ्नो थुतुनो जोतोस् ? यस्तो हुन्छ आमा रमाइलो गर्ने तरिका ? तपाई केश फुलेकी मान्छे, तपाईले आफ्नो आत्मा साक्षी राखेर सम्झनु होस् त, हरिप्रसाद र तपाई रमाईलो गर्दै हुनुहुन्थ्यो कि, त्यो उनको हर्कत तपाईलाई साँच्चै मनपर्ने खालको थिएन ।

दुनियाँले हेरिसके, तपाई पनि हेनुर्स त एकपटक त्यो भिडियो । तपाईको मुहारले, तपाईको क्रियाकलापले हरिप्रसादलाई आर्शिवाद दिँदै हुनुहुन्छ कि धारे हात लगाएर सराप्दै हुनुहुन्छ ?

अहिले तपाई रुँदै कराउँदै मलाई अन्याय भयो भन्दै गर्दा मेरोे पनि मन धमिलो भएको छ । किनकि म पनि त एक महिला हु नि । घर परिवार, छोराछोरी र छरछिमेकले मूलपानी घटनाका विषयमा सोध्दा तपाईले आफुमाथि जे भएको हो, त्यही भन्नुपर्थ्यो नि आमा । खासमा त हरिप्रसादको व्यवहार मन नपरे पनि तपाई चुप लाग्नुभएको हो नि त्यतिबेला ।

मैले तपाई गलत हुनुहुन्छ र पत्रकारहरु दूधले धोएका छन् भन्न खोजेको होईन । हामीलाई पनि लागेको छ, मिडियामा समाचार र फोटो आँउदा तपाई र तपाईजस्तै अन्य महिला, जसलाई हरिले दुर्व्यवहार गरे, अथवा उनको हिलो खेल्ने तरिका सामान्य मानिसले सार्वजनिक स्थलमा पचाउन सक्ने खालको थिएन, समाचार र फोटोमा ती सबै महिलाहरुको अनुहार नचिनिने बनाउनुपर्दथ्यो ।

Hari-parajuli-4

सायद तपाईसँग मात्र आर्शिवाद माग्ने आशयले हरिप्रसादले हिलो दलेको भए कुरा यति माथि पुग्दैनथ्यो होला । तर, हरिले त तपाई ७० वर्षे महिलालाई मात्र होइन, तपाईकी छोरी र बुहारी उमेरका महिलालाई पनि तपाईलाई गरेभन्दा निकृष्ट व्यवहार गरेका हुन् कि होइनन् ? के ती सबै महिलाहरुले सार्वजनिक रुपमा हरिप्रसादसँग हामीले आफ्नो खुसीले हिलो खेलेका हौ, उनको व्यवहार हाम्रा लागि सामान्य हो भन्छन् ? त्यसो भने पनि ती फोटो र दृश्यहरुले त्यस्तो होइन भन्ने बोलेका छन् । त्यसैले त हरिप्रसादलाई पार्टीका नेताहरुले स्पष्टीकरण मागे, सर्वसाधारणले आलोचना गर र, स्वयम् उनले आफ्नो नैतिक जिम्मेवारी स्वीकार गरे । अनि, मन्त्री पदबाट राजीनामा दिए ।

यो बिषय तपाई, मुलपानी र मुलपानीका महिलाहरुको मात्र रहेन, आमा यो त सार्वजनिक पद धारणा गरेको व्यक्तिले सार्वजनिक स्थलमा मच्चाएको वितण्डालाई कसरी हेर्ने भन्ने विषय हो । त्यसैले पनि यो कहीँ न कहीँ सार्वजनिक सरोकारसँग जोडिएको छ ।

फोटो र दृश्यहरु जसरी आए, त्यसले तपाईलाई पक्कै पनि तनाव दिएको छ । तर, तपाईले एक दिन लिएको तनाबले एकजना गलत गर्ने मान्छेले कारवाहीको दायरामा आउन बाध्य भयो । सामाजिक संरचना र मानिसहरुलको टिप्पणाी गर्ने गलत तरिकाले तपाईलाई तनाब दिएको हो आमा, तपाई हिजो पनि सही हुनुहुन्थ्यो र आज पनि गलत गर्न सक्नुहुन्न । तपाईले तनाव लिनुपर्ने कारण केही छैन । तपाई निर्दोष हुनुहुन्छ ।

तपाईको उमेर हेर्दा मलाई हिजो पनि माया लागेको थियो, जब १५ असारको फोटो सार्वजनिक भयो, अनि आज पनि जब तपाई पत्रकार सम्मेलनमा फोटोप्रति आपत्ति जनाउँदै हुनुहुन्थ्यो । तर, गलत गर्ने हरिप्रसादलाई कारवाही भयो, पत्रकारले पनि केही गलत गरेका हुन्, उनीहरुलाई पनि कारवाही हुनुपर्छ भन्नुभएको भए तपाईप्रति म र मजस्तै छोरीहरुले त्यो मायासँगै कत्ति गर्व गर्थ्याै । तपाईको छोरा र छोरीले पनि सायद । उनीहरु पनि त नेपाली समाजमा नै हुर्केका हुन् । उनीहरुलाई तपाईले सम्झाउन सक्नुहुन्थ्यो नि आमा । तपाई भन्दा उनीहरु, हामीहरु धेरै अञ्जान छौं नि अझैपनि ।

तर, तपाई त छोराछोरी, बुहारी र छिमेकीले फोटो के हो भन्दैमा किन यति धेरै आवेशमा आउनुभयो ? फोटोमा तपाईको अनुहार नचिनिने बनाउनुपर्नेमा त्यसो नगर्नु पत्रकारको गल्ती हो यो बिषयमा वाहेक तपाई यतिधेरै आवेशमा आएर मेरो बेइज्जत भयो, मन्त्रीसँगको फोटो के हो ? भन्दै आत्तिनुपर्ने कारण छैन नि होइन र ? तपाईको बेइज्जत हुनु र तपाईमाथि प्रश्न गर्नलाई त तपाईले मन्त्रीलाई दुर्व्यवहार गरेको हुनुपर्‍यो, मन्त्रीजस्तै रोपाइँमा सहभागी अन्य पुरुषहरुलाई दुर्व्यवहार गरेको हुनुपर्‍यो, जसरी हरिप्रसादले गरे । तर, तपाईले त त्यस्तो केही गर्नुभएको छैन । अनि किन आलाप बिलाप गर्दै हरिप्रसादको कर्तुतको ढाकछोप गर्नुहुन्छ ? किन हरिप्रसाद ठीक हो भन्नुहुन्छ ? भैगो आमा, त्यस्तो नभन्नुस् । तपाईलाई केही भएको छैन । तपाईलाई सबै नेपालीको सम्मान छ । तपाई निर्दोष आमा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment