Comments Add Comment

फाष्ट ट्रयाकको नाममा चार दलले जनतालाई धोका दिए : उपेन्द्र यादव

सन्देश श्रेष्ठ

१९ असार, पोखरा । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फष्ट ट्रयाकको नाममा चार दलले जनतालाई धोका दिएर संविधान थोपर्न लागेको आरोप लगाएका छन् । संघीय प्रेस नेपाल कास्की शाखाको शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यादवले चार दलले फाष्ट ट्रयाकको नाममा जनताको सुझाव नसमेटि संविधान जारी गर्न खोजेर जनतालाई धोका दिएको दाबी गरे ।
Upendra-Yadav-press-meet
पार्टीको मेचीकाली अभियान अन्तर्गत पोखरा पुगेका फोरम नेपालका अध्यक्ष यादवले सर्वोच्च अदालतको आदेश दलहरुले उलंघन गरेर न्यायपालिकाको धज्जी उडाएको बताए । उनले भने, ‘न्यायपालिकाले आदेश दिने अनि कार्यपालिकाले नमान्ने हो भने, त्यस्तै कांग्रेस जस्तो प्रजातन्त्रको धरोहर हुँ भन्ने पार्टीको सभापतिले सर्वोच्चको आदेशको उलंघन गर्न थाल्ने हो भने कुनै दिन न्यायपालिकाको अधिकार मन्त्रिपरिषदमा जान बेर छैन ।’

यादवले संविधानसभामा पेश भएको मस्यौदाले संघीयता, पहिचान, समानुपातिक समावेशी लगायतको मुद्धालाई समेट्न नसकेको टिप्पणी गरे । उनले संविधानसभाले गर्ने भनेको राज्य पुर्नसंरचना अहिले आएर आयोगलाई नै जिम्मा दिनु गलत भएको बताए । संघीय राज्यको नामाङ्कन र सिमाङ्कनसहित संविधान नबनाए त्यो जनयुद्ध, जनआन्दोलन र मधेश विद्रोहको भावना विपरित हुने बताए । साथै उनले संविधानसभामा प्रस्तुत भएको मस्यौदामा महिलालाई वंश र अंशबाट विभेद गरिएको भन्दै उनले सच्याउन आग्रह गरे ।

बर्खा लागिसकेपनि भुकम्प पीडितलाई सुरक्षित स्थानमा नसारेर सरकार मुकदर्शक बनेको आरोप लगाउँदै यादवले पीडितलाई तत्काल सुरक्षित स्थानमा सार्न सरकारलाई आग्रह गरे ।

त्यस्तै लिपुलेकको बारेमा सरकारको ध्यानाकर्षण गराइसकेको बताउँदै उनले अब सरकारले नै त्यसको बारेमा आधिकारिक धारणा बनाएर कुटनीतिक ढङ्गबाट समाधान खोज्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment