Comments Add Comment

सम्पदा पुनः निर्माणका लागि साइकल र्‍याली

१९ असार, काठमाडौँ । भूकम्पबाट ध्वस्त भएका धार्मिक, सांस्कृतिक सम्पदाको पुनः निर्माणका लागि पहल गर्न तथा सहयोग जुटाउने उद्देश्यले सुरु भएको ‘सम्पदा साइकल र्‍याली’को पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पाले शनिबार बिहान उद्घाटन गरेका छन् ।

सो अवसरमा मन्त्री शेर्पाले सम्पदा पुनः निर्माण कार्यमा सबैलाई जुट्न आग्रह गर्दै भने, “हामी सबै नेपाली मिले असम्भव केही छैन ।”

मुख्य सचिव लीलामणि पौडेलले मुलुक पुनः निर्माण गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
भूकम्पबाट पूर्ण रुपमा क्षति भएको वसन्तपुरस्थित काष्ठमण्डपबाट बिहान करिब ७ बजे सुरु भएको साइकल र्याली स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ, साँखु, चाँगुनारायण, भक्तपुर र पाटन दरबार भएर करिब ६० किलोमिटरको यात्रापछि साँझ पुनः वसन्तपुरमा आइ टुङ्गिने छ ।

करिब २० संस्थासँगको सहकार्य गर्दै साइकल र्यालीको आयोजना गरेको ‘टुर डे लुम्बिनी’ नामक संस्थाले विश्व सम्पदाको पुनः निर्माणका लागि जनस्तरबाटै अर्थ सङ्कलन कार्य पनि सुरु गरेको छ ।

संस्थाले साइकल चालक, सर्वसाधारण लगायतलाई ‘सम्पदा साइकल’ लेखिएको टिसर्ट तीन सयदेखि पाँच सय रूपैयाँ सम्ममा बिक्री गरेको छ । उठेको रकम पुरातत्व विभाग, महानगरपालिका तथा स्थानीय निर्माण समितिलाई हस्तान्तरण गरिने ‘टुर डे लुम्बिनी’का कोषाध्यक्ष तथा कार्यक्रम संयोजक देवेन्द्र बस्नेतले बताए ।

साइकल यात्रामा वरिष्ठ पत्रकार कनकमणि दीक्षित, विश्व साइकल यात्री पुष्कर शाहलगायत कलाकार तथा राष्ट्रिय खेलाडीको सहभागिता छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment