Comments Add Comment

किन आइरहन्छ पृथ्वीमा पराकम्प ?

गौतम “उदय”

यो ब्रमाण्ड र यसको संयन्त्रमा यस्ता असंख्य अदभुत कुराहरु छन् जसले सिङ्गै पृथ्वीलाई एक-निमेषमै सर्लक्कै निल्न पनि सक्छन्, र धुलोपिठो बनाउन पनि सक्छन् | पृथ्वी नै नभएपछि प्राणीको अस्तित्वको कुरा के गरिराख्ने ! इतिहासको कालखण्डमा पहिले पनि  अस्तित्वका ९९.९% जीवहरु नष्ट भएका थिए | त्यस्तै प्रक्रियाहरु फेरि पनि दोहोरिन सक्ने पृथ्वीका आफ्नै अवस्था अथवा चक्रहरु यद्यपि छन् | तर, कहिले भन्ने ठ्याक्कै तिथि-मिति बताउन सक्ने अबस्थामा बिज्ञान पुगिसकेको छैन |

गाैतम उदय
गाैतम उदय

१) ब्रमाण्डमा हाम्रो आकाश गंगा जस्ता असंख्य ग्यालेक्सी छन् | आकास गंगा ग्यालेक्सीको नजिकमा एण्ड्रमेडा ग्यालेक्सी छ, र अन्य केही ग्यालक्सीहरु पनि छन् | Milky Way Galaxy र Andromeda Galaxy एक-आपस  ठोकिनको लागी प्रतिघन्टा ४ लाख २ हजार किलोमिटरको बेगमा हुर्रीरहेका छन् |

भविष्यमा यिनीहरुको बेगमा यदि कुनै चमत्कारी परिवर्तन भएन भने अबको करिब ४ अरब बर्षमा यिनीहरु अवश्य ठोकिने छन् | त्यसपछि अहिलेको सौर्यपरिवरमा रहेका पृथ्वीसहितका ग्रहहरु तथा अन्य आकाशीय पिण्डहरु कतिपय धुलोपिठो हुनेछन भने कतिपय सम्भबत ब्रमाण्डमा कतै टाढा उछिटिने छन् | यी दुई ग्यालक्सीहरु ठोकिनेक्रममा अन्य केही ग्यालक्सीहरु पनि मिसिने सम्भावना छ | यिनीहरु ठोकिएको अरबौं बर्षमा यी दुवै ग्यालक्सी मिलेको एउटा बिशाल नयाँ ग्यालक्सी बन्न पनि सक्ने छ |

यदि यिनीहरु नियममै रहेर ठोकिए भने त्यो अहिलेकै पुस्ताले हतोत्साही हुनुपर्ने कुराभित्र पर्दैन किनकी Milky Way र Andromeda Galaxy एकापसमा करिब २५ लाख प्रकाश-बर्ष टाढा छन् | बिचमा अबरोध भएन भने प्रकाश एक सेकेन्डमा २,९९,७९२ किलोमिटर यात्रा गर्ने भएकोले एक प्रकाश-बर्ष भनेको लगभग ९,४६०,५२८,४००,००० किलोमिटर हुन आउँछ |

२) सूर्यबाट नजिकदेखि टाढाको हिसाबले भन्नु पर्दा सबभन्दा नजिकको ग्रह बुध (Mercury) हो, र त्यसपछि क्रमशः टाढाका शुक्र (Venus), पृथ्वी (Earth), मंगल (Mars) बृहस्पति (Jupiter), शनि (Saturn), अरुण (Uranus), बरुण (Neptune) र यम (Pluto) हुन् |

मंगलग्रह (Mars) र बृहस्पतिग्रह (Jupiter) को कक्षको बिचमा पर्ने (Asteroid Belt) नामक क्षेत्रमा आधा करोड जतिकै संख्यामा बिभिन्न आकार (shape) र नाप (Size) का २-४ किलोका, अनि केही मिटरदेखि लिएर अजंगका ९३३ किलोमिटरसम्मका ठोसरुपमा रहेका छुद्रग्रह (asteroid), पुच्छ्रे तारा (comet), तथा उल्का (meteor) छन् | पृथ्वीबाट मान्छेको नाङ्गो आँखाले यिनीहरुलाई देख्न त सकिन्न, तर शक्तिशाली दुरबिन प्रयोग गर्यो भने कतिपयलाई पृथ्वीबाटै पनि देख्न सकिन्छ | करिब १२ हजारजतिलाई त बैज्ञानिकहरुले नाम नै दिइसकेका छन् भने झन्डै १ लाखजतिलाई नम्बर | यिनीहरु धेरैजसो Nickel, Iron, Silica, Carbon मिसिएको कडा चट्टान आदिले बनेका छन् |
Asteroid-belt
यिनीहरु प्राय Asteroid Belt मै रहे पनि यिनीहरु मध्येका हजारौं पिण्डहरु बेलाबेलामा सूर्य, पृथ्वी, र यमग्रहको जनिक समेत आइरहन्छन् | कतिपय अवस्थामा यिनीहरु अचानक खस्न पनि सक्छन् भने घुम्दै गर्दा कतिपय अवस्थामा यिनीहरु र पृथ्वी एउटै समयमा कक्षको उही बिन्दुमा पुग्दा ठोकिन गई पृथ्वी नै टुक्रिने, असन्तुलित हुने अथवा अर्को कक्षसम्म हुत्तिने सम्भावना पनि उत्तिकै छ |

सन् १९८९ मा एउटा सानो Asteroid पृथ्वीको कक्षको कुनै एक बिन्दु, जुन बिन्दुमा मात्र ६ घण्टा अगाडि पृथ्वी पुगेको थियो, ठिक त्यही बिन्दुमा आई पुगेको थियो | यदि यो ६ घण्टा छिटो आएको भए पृथ्वी र यो  Asteroid ठोकिने थिए |

यो एउटा सानो Asteroid थियो तथापि यदि यसले पृथ्वीलाई हिर्काएको भए त्यो शक्ति १ हजारवोटा आणविक बम एकैचोटी पड्काए बराबरको हुने थियो | यस्तै कुनै ठुलै Asteroid ले कुनै पनि बेला पृथ्वीलाई हिर्काउन सक्ने सम्भावना हरेक क्षण छ |

सन् २०१२ मा पनि DA14 नामक अर्को सानो Asteroid पृथ्वीको नजिक-नजिक आइपुगेको थियो |

अन्टार्कटिका (Antarctica) महादेशतर्फ सोझिंदै त्यस्तै अर्को Asteroid २०२० मा फेरि आइपुग्दै छ | यो Asteroid पृथ्वीमै खस्ने सम्भावना त कम छ, तर यदि खासिहाल्यो भने यसले इतिहासमा कहिलै नभएको अकल्पनीय क्षति गर्ने छ |

सन् १०१३ को फेब्रुअरी १५ मा रुसमा खसेको उल्का (meteor) पनि त्यस्तै प्रक्रिया अन्तर्गत कै हो | धन्न यो सानो थियो र त्यति ठुलो क्षति हुन पाएन |

३) हाम्रो Milky way Galaxy मा एउटा एकदमै ठुलो, सूर्यको भन्दा अरबौं गुणा बढी मास भएको, डरलाग्दो  Black Hole  बैज्ञानिकहरुले पहिले सोंचेभन्दा द्रुतगतिले बृधि भैरहेको छ | यस्ता  Black Hole हरु यति शक्तिशाली हुन्छन कि यिनीहरुबाट प्रकाश पनि बच्न सक्दैन | सबै चिजलाई सर्लक्कै निल्छन् | उक्त Black Hole  को निम्ति यो पृथ्वी भुसुनो सरह हो |

आगामी ९ बर्षभित्रैमा उक्त Black Hole ले हाम्रो पृथ्वी भन्दा १५ गुणा बढी Milky way Galaxy को मास निलिसक्ने छ | यदि यसको घुम्ने गति अकल्पनीय रुपले बढ्दै गयो भने पृथ्वीलगायतका सौर्यपरिवारका सबै सदस्यहरुलाई यसले छिटै नै निल्ने छ |

४) पृथ्वी आफैमा रहेको संयन्त्र पनि सदैब परिवर्तनशील छ | अहिले हामीले देख्दै र भोग्दै आएको पृथ्वी पहिले यस्तो थिएन | समुद्र, महादेश, पर्बत, North pole र South Pole जस्ता सदैब हिंउ जमिरहेका ठाउँ, मरुभूमी आदि सबै न त पहिले यस्ता थिए न त अनन्त कालसम्म यस्तै रहिरहेने छन् | यसको सतहको स्वरूपमा इतिहासको कालखण्डमा धेरै पटक परिवर्तन भएको छ | फेरि पनि कुनै पनि बेला परिवर्तन हुनसक्छ |

पृथ्वीको भित्रि केन्द्र (Core) एसिया महादेश जत्रै ठुलो र एकदमै तातो छ | चाप (Compression) ले गर्दा ठोस बनेको छ | त्यसमाथि झन्डै त्यत्तिकै तातो Mantel भनिने सतह छ | Mantel को भित्री भाग ठोस नै छ भने बाहिरी भाग एकदमै तातो तर तरल अवस्थामा छ | त्यही तरल पदार्थ माथि हजारौं किलोमिटर ठुला १५ वोटा मुख्य, र अन्य थुप्रै साना ७ देखि ७० किलोमिटरसम्मका बाक्ला Plate Tectonic नामक बिशाल चक्लाहरु तैरिरहेका छन् | बास्तबमा Plate Tectonic भनेको चट्टान, धातु आदि मिसिएको टुक्राटुक्रा परेको पृथ्वी मासको थुप्रो नै हो | तिनै प्लेट्स माथिको पृथ्वीको पाप्रो (Crust) मा हामी बस्छौं |

Black_Hole_Milkywayभित्री सतहको तापको शक्तिको कारणले तैरिरहेका टेक्टोनिक प्लेटहरु सदैब चलिरहन्छ र यसरी चलिरहँदा यिनीहरु एक-आपसमा ठोकिने, छुटिने, घोटिने, भाषिने, माथि उठ्ने, अटस्मटस् गर्ने प्रक्रिया लगातार भैरहन्छ |

कालान्तरमा महादेश नै छुट्याउने ठुला प्लेटहरु ठोकिए भने त्यस्ता महादेशको कुनै भूभाग हजारौं किलोमिटर टाढासम्म उछिट्टिने, कुनै एक अथवा दुवै प्लेटको ठुलो मास धुलोपिठो हुने, चोइटिने, एउटा प्लेटको तल अर्को भाषिने आदि जे पनि हुन सक्छ | कुनै देश वा केही देशहरु नै भएको क्षेत्रमा यस्तो ठुलो गतिबिधि भयो भने त्यस्ता देशहरुको नाम-निशाना नै हराउन पनि सक्छ |

अहिलेकै अवस्थामा पनि एकापसमा जोडिएका प्लेटहरु, उदाहरणको लागि इन्डियन प्लेट र युरेशियन प्लेट, को बिचमा ठेलमठेल हुँदा निम्न गतिबिधिहरु हुन्छन् |

यदि बिटहरु घोटिदा बेलाबेलामा अलिअलि तलमाथि गरिरहे, अलिअलि चोइटिए भने स-साना भूकम्पहरु गइरहन्छन्, र ठुलो शक्ति संचय हुन पनि पाउंदैन | तर यदि यिनीहरु तलमाथि नभैकन लामो समय एकापसमा टसकोमस गरिरहे भने ठुलो शक्ति संचय हुँदै जान्छ, र जुन दिन ती २ प्लेटहरु ठेलमठेलको शक्तिको कारणले कुनै निश्चित बिन्दुमा जोडले तलमाथि गर्छन, त्यो दिन जम्मा भएको शक्तिको आधारमा अहिले नेपालमा आए जस्तो ठुलो भूकम्प जान्छ |

यसरी तलमाथि हुँदा प्लेटहरुका बिटहरु चोइटिएर ठुल्ठुला चोसेचासे बनेका पनि हुन्छन् | प्लेटहरु पुनः टम्मगरेर लेभल मिल्नको लागी साना-ठुला चोंसाचासी भाँचिदै जान्छन् | यदि भाँचिनु पर्ने अथवा भाँचिने चोसा साना छन् भने पछि आउने पराकम्पनका धक्का साना हुन्छन् भने ठुला छन् भने ठुला हुन्छन् | अनि भांचिनु पर्ने चोंसा थोरै छन भने पराकम्पनका छक्का पनि थोरै हुन्छन भने धेरै भएमा धेरै | अहिलेको नेपालमा गएको भूकम्पमा यस्ता चोंसाहरु ठुला र धेरै रहेछन भन्ने अर्थ लाग्दछ |

जोडिएका प्लेटहरु ठुलो शक्ति संचय भएपछि घर्षण हुँदै तलमाथि गर्दाका अन्य २ खतरनाक अवस्थाहरु पनि हुन्छन् | यदि एउटा प्लेटको बिट अर्को प्लेट मुनि अलिकति छिर्यो तर भाँचिएन भने त्यो भाग बाहिर आउन खोजिरहेको हुन्छ | जुनदिन उक्त भित्र छिरेको भाग फुत्त बाहिर आउँछ, त्यो दिनको पराकम्पनको धक्का ठुलो हुन सक्छ |

अर्को सबै भन्दा खतरनाक अवस्था के हुन्छ भने यदि भित्र छिरेको प्लेट झन्झन् भित्र जान थाल्यो भने उक्त प्लेटको भित्र छिर्नेतर्फको भाग, र च्याप्ने प्लेटको पछिल्लो भाग पृथ्वीको गर्भतर्फ भासिंदै जान्छ भने भाषिने प्लेटको पछाडिको भाग र अर्को प्लेटको च्याप्ने तर्फको भाग माथि उठ्दै गएर त्यो ठाउँमा नयाँ बिशाल पहाड-पर्बतहरु बन्न सक्दछन् भने अर्को छेउतर्फ ठुल्ठुला खाल्टा, ताल, समुद्र आदि बन्न सक्छन् | जसको अर्थ अहिलेका कतिपय देश अथवा महादेश पनि सिङ्गै पृथ्वीको गर्भभित्र भाषिने छन् | यसरी पृथ्वीको गर्भतर्फ भाषिने प्रक्रियालाई Subduction भनिन्छ | अहिले हामीले देख्ने र भोग्ने हिमाल, पर्बत, ताल, समुद्र सबै त्यसरी नै बनेका हुन् |

५) समय आइपुग्नु भन्दा पहिले नै कुनै कारणले दुर्घटना भएर अचानक तुरुन्तै ठुलो प्रलय भएन भने अबको करिब २५ लाख बर्षभित्रमा हालको महादेशको स्वरूप पनि एकदम बदलिने सम्भावना छ | २५ लाख बर्ष पहिले पनि पृथ्वीको मास् (Landmass) एकैठाउँमा जम्मा भएर पान्जिया (Pangea) नामक एउटै बिशाल महादेश बनेको थियो | यो प्रक्रिया हुँदा त्यतिबेलाका करिब ९०% जीवहरु यो नयाँ महादेशको बातावरण उनीहरुको अनुकुल नभएर उन्मुलन भएका थिए |

इतिहासको कालखण्डमा धेरै पहिले अफ्रीकी महादेश र युरोप ठोकिएका थिए | अहिलेको इटाली, ग्रिस लगायतको मेडीटरीयन क्षेत्र अफ्रिकी महादेशकै भागहरु हुन | यिनीहरु फेरि पनि ठोकिने सम्भावना छ | अस्ट्रेलिया पनि युरेशियन महादेशमा गाभिने सम्भावना छ |

अहिले आन्द्र महासागरको पिँध उत्तर-दक्षिण गरी दुई भागमा फाटेको छ, र पानीभित्र रहेका पहाडी सतहहरु भत्किदै खस्दै गर्दा भरिँदो छ | यही कारणले यसका दुई भागहरु बिस्तारै एक-आपसबाट टाढा हुँदैछन् | यी भागहरु टाढा-टाढा हुँदैगर्दा आन्द्र महासागर पनि फैलिँदो छ, जसको कारण अमेरिकी महादेश पनि युरोप र अफ्रिकादेखि टाढा-टाढा हुँदैछन् |

यदि आन्द्र महासागरको पश्चिमपट्टिबाट प्लेट डुब्ने क्षेत्र (Subduction Zone) शुरु भयो भने त्यसको कारणले गर्दा आन्द्र महासागरको पिँध पृथ्वीको केन्द्र-भाग (Mantle) तर्फ तानिन थाल्नेछ, अनि महासागर पुनः सांगुरिन थाल्नेछ | त्यसो हुने प्रक्रियामा अमेरिकी महादेश पुनः युरो-अफ्रिकन महादेशमा ठोकिने छ, र त्यो ठोकिने ठाउँमा हिमालयजास्ता बिशाल पर्बत शृंखला बन्न पुग्नेछन् |

यसो हुँदा पृथ्वीको प्राय Landmass एकै ठाउँमा जम्मा हुन गएर पहिलेको भन्दा अझै बिशाल “Pangea Ultima” महादेश बन्ने छ | त्यसो हुनगयो भने अहिलेको पृथ्वीमा हुने धेरै जसो प्राणीको अस्तित्व समाप्त हुनेछ | कालान्तरमा अर्कै प्रकारका प्राणी, बनस्पति तथा अर्कैखाले मानब वा मानब जस्तै प्राणी बन्न पनि सक्नेछन् |

पृथ्वीमा यसको आफ्नै बनोट र आफैभित्रको संयन्त्रको कारणले पनि, अनि अन्य आकाशीय पिण्डहरुको गतिबिधिहरुको कारणले पनि असंख्य साधारण प्रकारका तथा बेलाबखतमा थुप्रै प्रलयकारी उथलपुथलहरु पनि आइरहन्छन्, भइरहन्छन् |

पहिले पृथ्वीको प्राय सबै भागमा रहेका एकदम धेरै डाइनोसोर लगायतका अन्य असंख्य  प्राणी र बनस्पति लोप हुनुका सिधान्तहरु मध्ये कुनै Asteroid ले पृथ्वीलाई हिर्काउंदा निस्केको Shock Wave को कारणले पृथ्वीको थुप्रै भागमा बिशाल ठूला ज्वालामुखीहरु बिष्फोटन हुन गई निस्केको लाभा, म्याग्मा र खरानीले कैयौं बर्षौंसम्म पृथ्वीलाई ढाक्दा त्यतिबेलाका धेरैजसो प्राणी र बनास्पतिहरु उन्मुलन भएको हुन सक्ने, अथवा उक्त Asteroid ठोकिंदा त्यसको असरको कारणले बायुमंडलनै बर्षौंसम्म बाक्लो धुलो र धुँवाले भरिएर सूर्यको प्रकाश नै पृथ्वीसम्म आउन नपाई बनस्पति र तिनीहरुमा आश्रित डाइनोसोर लागायतका त्यति बेलाका प्राणीहरु लोप भएको हुनसक्ने कुरामा बैज्ञानिकहरुको बिश्वास र एकमत छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment