Comments Add Comment

वैद्य भन्छन्- चीनविरुद्ध पनि लड्नुपर्ने अवस्था आयो

Mohan baidhya Kiran

१९ असार, काठमाडौ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले अब चीनविरुद्ध पनि लड्ने उद्घोष गरेका छन् । लिपुलेकबारे भएको सम्झौतापछि चीन र भारत एउटै कित्तामा आएको बैद्यको विश्लेषण छ ।

शनिबार ललितपुरको कुपण्डोलस्थित नेवाः राज्य कार्यालयमा भएको उपत्यका ब्युरो स्तरीय प्रशिक्षण कार्यक्रममा वैद्यले चीन विरुद्ध पनि लड्नुपर्ने अवस्था आएको बताए । ‘दक्षिणबाट त हस्तक्षेप छँदैछ, अहिले चाइनाले पनि लिपु भञ्ज्याङमा सहमति गरेर गम्भीर प्रकारको हस्तक्षेप गरेको छ’, वैद्यको भनाई उद्धृत गर्दै एक कार्यकर्ताले भने-‘चीन र भारत एउटै किसिमले अगाडि बढ्दा फरक ढंगले लड्नुपर्ने अवस्था उत्पन्न भएको छ ।’

विगतमा दक्षिणबाट आएको समस्या हुँदा उत्तरबाट खबरदारी गर्ने गर्ने गरेका भएपछि पछिल्लो पटक चीन पनि चुकेको बैद्यले बताए ।

लिपुलेकको मुद्दा अझ सशक्त

नेकपा-माओवादी अध्यक्ष वैद्यले लिपुलेकको मुद्दा आफूहरुले छोड्न नसक्ने बताए । दुई देशबीच भएको भनिएको यो मुद्दालाई आफूहरुले अझ सशक्त रुपमा उठाउने उनले बताए ।

लिपुलेकको बारेमा सरकारको ध्यानाकर्षण गर्ने, ज्ञापनपत्र बुझाउने काम गर्ने वैद्यले बताए ।

संविधान च्यात्ने र जलाउने कार्यक्रम ल्याउने

प्रमुख चार दल नयाँ संविधान जारी गर्ने दिशामा अगाडि बढेपछि नेकपा-माओवादीले संविधान जलाउने कार्यक्रमहरु ल्याउने भएको छ । पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै वैद्यले अब संविधान च्यात्ने र जलाउने कार्यक्रम बनाउने बताए ।

३३ दलीय मोर्चा र पार्टीले छुट्टाछुट्टै रुपमा आन्दोलन गर्ने गरी कार्यक्रम बनाइने वैद्यले बताए । त्यसका लागि असार २१ गते ३३ दलको बैठक बस्ने र त्यसपछि मात्रै पार्टीले नयाँ परिस्थितिको बारेमा कार्यक्रम ल्याउने उनले उल्लेख गरे ।

मुलुक संक्रमणकाल अन्त्यतर्फ

वैद्यले देशमा लामो समयदेखिको संक्रमणकाल अन्त्यतर्फ आगाडि बढेको बताए । उनले प्रतिक्रियावादलाई स्थापित गर्ने हिसाबले संक्रमणकालको अन्त्य गर्न लागिएको आरोप लगाए ।

यथास्थितिवादी तथा प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी ल्याउन लागेको संविधान कसैले रोक्न सक्ने अवस्थामा नरहेको पनि वैद्यले स्पष्ट गरे । आफूहरुमा पनि संविधान रोक्न सक्ने शक्ति नभएको वैद्यको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment