Comments Add Comment

अमेरिका र बेलायतद्वारा नेपाल भ्रमणको प्रतिबन्ध फुकुवा

२० असार, काठमाण्डौ । अमेरिका, बेलायत र न्युजिल्याण्डले भुकम्पग्रस्त नेपालको भ्रमणमा आफ्ना नागरिकका लागि लगाएको ‘बन्देज’ खुकुलो पारेका छन् ।
nayabajar-earthquake-1
अप्रिल २५ को भुकम्प तथा त्यसपछिका पराकम्पनका कारण आफ्ना नागरिकलाई नेपाल भ्रमणमा नजान अनुरोध गरेका यी देशहरुले भुकम्पबाट सबैभन्दा प्रभावित जिल्लाहरुमा बाहेक नेपालका अन्य जिल्लाहरुको भ्रमणमा जान आफ्ना नागरिकहरुलाई फुकुवा गरेका हुन् ।

पर्यटन बोर्डका अधिकारीका अनुसार अब अरु देशले पनि आफ्ना नागरिकलाई नेपाल भ्रमणमा लगाएको बन्देज खुला गर्ने विश्वास गरिएको छ ।

नेपालमा हालैको भुकम्पपछि विश्वमा सबैजसो देशले नेपाल भ्रमणमा नजान आफ्ना नागरिकलाई अनुरोध गरेका थिए ।

अमेरिकाले गएको मे एक मा ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकलाई आपतकालीन अवस्थामा बाहेक नेपाल भ्रमणमा नजान अनुरोध गरेको थियो । तर त्यसको दुइमहिना पछि अमेरिकाले आफ्नो त्यो एडभाइजरीमा बिहीबार संसोधन गरेको छ

सानातिना परकम्पनहरु अहिले पनि गइरहेको भए पनि नेपाल भ्रमणमा जानु अहिले सुरक्षित रहेको अमेरिकाले नेपाल भ्रमणमा लगाएको बन्देज खुला गरिएको जनाएको छ । अमेरिका नेपालमा सबैभन्दा धेरै पर्यटक भित्रिने तेश्रो ठूलो देश हो ।

त्यस्तै बेलायतको विदेश तथा कमनवेल्थ कार्यालयले शुक्रबार आफ्नो ट्राभल एडभाइजरी अपडेट गर्दै भुकम्पबाट अति प्रभावित जिल्लामा अत्यावश्यक भ्रमण मात्र गर्न सुझाव दिएको छ ।

काठमाण्डौबाट पोखरा पुग्ने राजमार्गमा यसअघि सबैका लागि भ्रमणमा बन्देज लगाइएकोमा बेलायतले अब भने आफ्ना नागरिकले अत्यावश्यक परेमा उक्त मार्गमा पनि यात्रा गर्न सक्ने जनाएको छ । नेपालमा धेरै पर्यटक आउने पाँचौ देशको रुपमा रहेको बेलायतबाट वर्षेनी ३५ हजार भन्दा बढि पर्यटक आउँछन् ।

नेपालमा भुकम्पको असर साम्य हुँदै गएपछि आफ्नो ट्राभल एजभाइजरीमा सबैभन्दा पहिलोपटक संसोधन गर्ने देश भने न्युजिल्याण्ड हो ।

उसले गएको जुन ३० मै नेपाल पर्यटन बोर्डलाई आफुले नेपाल जोखिम युक्तताको तह घटाएकेा जानकारी गराएको थियो । यद्यपि गोरखा, धादिङ, सिन्धुपाल्चोक लगायतका जिल्लालाई भने उसले उक्त जोखिमपूर्ण क्षेत्रका रुपमा अझै कायम राखेको छ र अत्यावश्यक बाहेक ती जिल्लाहरुको भ्रमण नगर्न आफ्ना नागरिकहरुलाई सुझाव दिएको छ ।

नेपाल आउनेलार्इ बाटो खुल्यो : व्यवसायी

प्यासिफिक एशिया ट्राभल एशोसियसन (नेपाल) च्याप्टरका अध्यक्ष सुमन पाण्डेले नयाँ निर्णयसँगै नेपाल भ्रमणमा आउन चाहाने दुबै मुलुकका नागरिकलाई बाटो खुल्ला भएको बताएका छन् ।

‘नेपाल भ्रमणमा पूर्ण रुपमा बन्द लगाइएको थियो, नयाँ निर्णयसँगै नेपाल आउन अमेरिकी र बेलायती नागरिकलाई बाटो खुलेको छ’ पाण्डेले भने- ‘शत् प्रतिशत बन्देज लगाइएको नेपाल भ्रमण ५० प्रतिशत खुल्ला भएको छ ।’

यसअघि जस्तो नेपाल भ्रमण पूर्ण रुपमा बन्द नभएपछि पर्यटक आगमन विस्तारै बढ्ने विश्वास पर्यटन व्यवसायीको छ । पराकम्पन आउने क्रम जारी रहेपनि नेपाल सुरक्षित रहेको उल्लेख गर्दै दुबै मुलुकले विचार गरेर भ्रमणमा जान आफ्ना नागरिकलाई आग्रह गरेका छन् ।

‘अब त्यहाँका ट्राभल कम्पनीलाई पनि इच्छुक व्यक्ति नेपाल पठाउन बाटो खुलेको छ, नेपाल आउन चाहानेलाई अवस्था तथा गन्तव्य हेरेर पठाउनेछन्’ पाण्डेले भने- ‘यसअघि त ट्राभल कम्पनीलाई दुबै मुलुकले आफ्नो नागरिक नेपाल भ्रमणमा पठाउन पूर्ण रुपमा बन्देज लगाएका थिए ।

वषर्ाको सिजन सुरु भयो, बाढी पहिरो जान्छन्, अझै भूकम्पको पराकम्पन आइरहेका छन्, सडक पनि पूर्ण रुपमा सुरक्षित छैन, यही कारण पनि अमेरिका र बेलायतले नेपाल भ्रमण आंशिक रुपमा खुल्ला गरेका हुन् ।

सेप्टेम्बरबाट सुरु हुने पर्यटकीय सिजनमा दुबै मुलुकले नेपाल भ्रमण थप खुकुले बनाउने विश्वास पाटा नेपालका अध्यक्ष पाण्डेले व्यक्त गरे ।

ट्रेकिङ एजेन्ट्स एशोसियसन अफ नेपाल (टान)का अध्यक्ष रमेश धमलाले नेपाल भ्रमण खुकुले बनाउनु सकरात्मक भएको टिप्पणी गरे । ‘कम्तिमा नेपाल आउन चाहानेहरुलाई बाटो त खुल्ला भएको छ’ उनले भने- ‘यति खुल्ला गरेपछि त्यहाँबाट पर्यटक आउन सुरु भइहाल्छ ।’

अध्यक्ष धमलाले नेपाल भ्रमणमा आउन चाहानेहरु प्रशस्तै भएको बताउँदै यसका लागि नेपाल सरकार र यहाँका व्यवसायीले सहज वातावरण तय गरिदिनुपर्ने बताए । उनका अनुसार जर्मन गएको बेलामा त्यहाँका मानिसले सुरक्षित भ्रमणको आभाष दिलाएमा नेपाल भ्रमणमा जाने बताएका छन् ।

‘हामीले राजधानी लगायत विभिन्न पर्यटकीय गन्तव्यहरुमा रहेका होटलहरु बस्नका लागि कुन-कुन सुरक्षित छन भनेर लिष्ट सार्वजनिक गर्नुपर्छ’ धमलाले भने- ‘यसका लागि पर्यटन विभागका महानिर्देशकसँग कुरा भइसकेको छ, छिट्टै सार्वजनिक गरिनेमा विश्वस्त छु ।’

पर्यटकको विश्वास जित्नका लागि पनि यो-यो होटल सुरक्षित छन्, यहाँ आएर ढुक्कसँग बस्न सक्नुहुन्छ भनेर जानकारी दिनुपर्ने अध्यक्ष धमलाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment