Comments Add Comment

भानुजयन्तीका दिन प्रचण्ड भारत जाँदै

prachanda

अरूण बराल

२० असार, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डको पाँचदिने भारत भ्रमण तय भएको छ । असार २९ गते अर्थात भानुजयन्तीका दिन प्रचण्ड पाँचदिने भ्रमणका लागि दिल्ली जाने छन् ।

चार राजनीतिक दलवीच १६ बुँदे सहमति भएलगत्तै प्रचण्डको भारत भ्रमण तय भएको हो । भारत सरकारकै निम्तोमा उनी दिल्ली जान लागेका हुन् ।

‘भ्रमणका क्रममा भारतीय पक्षको चासो के रहेछ भन्ने अध्यक्षले बुझ्नुहुनेछ,’ एमाओवादी कोषाध्यक्ष हरिबोल गजुरेलले भ्रमण हुन लागेको स्वीकार गर्दै अनलाइनखबरसँग भने,’भारतीय पक्षले पनि नेपालको पछिल्लो राजनीतिक स्थिति बुझ्न चाहेको हुन सक्छ ।’

१६ बुँदेपछि भारतको अस्पष्ट भूमिका

चारदलवीच १६ बुँदे सहमति हुनुअघिसम्म भारत सरकार सहमतिका आधारमा संविधान बन्नुपर्ने पक्षमा उभिएको थियो । भारतको यस्तो भूमिकाका कारण सत्तापक्ष असन्तुष्ट थियो भने ३० दलीय मोर्चा भारतप्रति प्रशन्न थियो ।

तर, १६ बुँदे सहमतिपछि भने भारतको भूमिका प्रष्टरुपमा बाहिर आएको छैन । र, यही अस्पष्टताकै वीचमा भारत सरकारले प्रचण्डलाई दिल्ली भ्रमणको निम्तो दिएको छ ।

चार दलवीच सम्पन्न १६ बुँदे सहमतिपछि भारतीय राजदूत रञ्जित रेले कतिपय अनौपचारिक कुराकानीमा आफूहरु सहमतिकै पक्षमा रहेको बताउँदै आएका छन् । मधेसी समुदायलाई पनि चित्त बुझाएर संविधान बनाइएन भने संविधान सबैका लागि मान्य हुने नसक्ने दुताबासको बुझाइ राजदूतको भनाइबाट देखिँदै आएको छ ।

यसैक्रममा १६ बुँदे सहमतिको विपक्षमा रहेका मधेसवादी दलहरुले भारतीय राजदूत रेलाई भेटेरअसन्तुष्टि राखिसकेका छन् ।

संविधान निर्माण प्रक्रियामा आएको गतिसँगै १६ बुँदे सहमतिलाई कसरी हेर्ने भन्नेबारे भारतीयहरुको बुझाइमा एकरुपता देखिन सकेको छैन । नेपालका लागि पूर्वभारतीय राजदूत राकेश सुदले राजदूतावासको वर्तमान लाइनभन्दा केही फरक ढंगले एक लेखमार्फत १६ बुँदे सहमतिलाई सकारात्मक रुपमा व्याख्या गरेका छन् ।

एमाओवादी अध्यक्ष प्रचण्डको भ्रमणका क्रममा भारतीय पक्षले नेपालको राजनीतिक स्थितिबारे बुझ्न चाहेको अनुमान गरिएको छ ।

सुष्माको ‘साइलेन्स डिप्लोम्यासी’

साइलेन्स डिप्लोम्यासीका लागि चिनियाँहरु संसारभरि प्रशिद्ध एवं सिद्धहस्त मानिन्छन् । तर, गत साता काठमाडौंमा सम्पन्न दाता सम्मेलनमा भाग लिन आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले साइलेन्स डिप्लोम्यासीमा चीनलाई समेत उछिन्न सफल भएको धेरैले अनुमान गरे ।

‘यसपालि सुष्मासँगको पार्टीमा अचम्मै भयो,’ सोल्टी होटलको भोजमा सहभागी एक नेताले अनलाइनखबरसँग भने,’सधैं नेपालको राजनीतिबारे चर्चा हुन्थ्यो, यसपालि सुष्मासँग राजनीतिको ‘र’ सम्म उच्चारण भएन, नेताहरुले लगाएको दौरा सुरुवाल र साडीको कुरा भयो, तर राजनीतिबारे कसैले बोलेन ।’

नेपाल भ्रमणका क्रममा राजनीतिबारे बोलेर विवादमा नआइयोस् भन्नेमा भारतीय विदेशमन्त्री स्वराज यति सचेत थिइन् कि उनले न त १६ बुँदेप्रति भारतको समर्थनको लक्षण देखाइन्, न त आलोचना नै । दाता सम्मेलनको आफ्नो मन्तव्यमा पनि उनले विकास र भूकम्पपछिको पुनर्निर्माणमा भारतीय सहयोगमा मात्र आफूलाई केन्दि्रत राखिन् ।

पूर्वराजदूत सुदले दाता सम्मेलनमा मोदी काठमाडौं आएका भए कुनै न कुनै राजनीतिक विवाद हुन सक्थ्यो भनेर सुष्माको भ्रमण सही भएको बताइसकेका छन् । तर, सुष्माको भ्रमण यस्तो भइदियो कि नेपालको राजनीतिक मामिलामा भारत ‘साइलेन्स’ छ भन्न्े डिप्लोम्याटिक सन्देश दिन खोजियो ।

तर, जब भारतीय राजदूताबासले मधेसवादी दलका दुखेसो सुन्न लैनचौरमा उनीहरुलाई निम्तो दियो, यो घटनाले सुष्माको साइलेन्स डिप्लोम्यासीलाई एक साताभन्दा बढी टिक्न दिएन ।

अब एमाओवादी अध्यक्ष प्रचण्डलाई भारतले दिएको निम्तोले यो साइलेन्स डिप्लोम्यासीमा अर्को तरंग उत्पन्न गराएको छ । हेरौ, प्रचण्डको यो भ्रमण दुई देशको कूटनीतिक सम्बन्ध सुधारमा मात्रै सीमित रहन्छ या यसले नेपाल भारतवीचको सम्वेदनशील सम्बन्धमा केही तरंग ल्याउनेछ ।

लिपुलेक : कवाफमा हड्डी

प्रचण्डको दिल्ली भ्रमण त्यस्तो बेलामा हुन गइरहेको छ, जतिबेला नेपालमा लिपुलेकको विषयलाई लिएर विवाद भइरहेको छ । यस विषयमा सदनसम्म कुरा उठेको र सरकारले कूटनीतिक प्रयास भइरहेको जवाफ दिएको अवस्था दिएको अवस्था छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा गएका बेला भएको भारत-चीन सहमतिमा लिपुलेक नाकाको व्यवसायिक अभिवृद्धि गर्ने सहमति भएपछि नेपालमा यसको विरोध हुँदै आएको छ ।

लिपुलेकबारे नेपालमा चर्को विरोध भइरहेकै बेला प्रचण्डले गर्न लागेको भारत भ्रमण यो विषय ‘कवाफमा हड्डी’ बन्ने सम्भावना पनि छ । मोहन वैद्यले अब चीनसँग पनि लड्नुपर्ने भो भनिरहेका बेला प्रचण्डले पनि दिल्लीमा ‘साइलेन्स डिप्लोम्यासी’ प्रदर्शन गर्छन् या लिपुलेकबारे मुख फोर्छन् ? यो पनि चासोको विषय बन्ने निश्चित छ ।

प्रचण्डको एजेण्डा : त्रिदेशीय साझेदारी

एमाओवादी अध्यक्ष प्रचण्डले नेपाल-भारत र चीनवीच त्रिदेशीय विकास साझेदारीको एजेण्डा उठाउँदै आएका छन् । पछिल्लो समयमा यसबारे चीन र भारतसमेत सकारात्मक देखिएको अवस्था छ । यसपटकको भ्रमणमा प्रचण्डले यसबारे भारतीय पक्षसँग कुरा गर्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment