Comments Add Comment

सबै बाहुन एकै ठाउँमा पुग्छन् कि क्या हो !

नेकपा एमालेका पूर्वसभासद पासाङ शेर्पा प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाका सक्रिय नेता हुन् । अहिले मोर्चा टुटेको छ । मधेसवादी दलहरु संविधानको मस्यौदा जलाएर आन्दोलनमा उत्रिइसकेका छन् । तर, जनजाति नेता पासाङ भने अझैसम्म मध्यमार्गमा उभिएका छन् ।

सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङको आशा छ, प्रचण्ड एक दिन एमाले र कांग्रेसले घोका दिए भन्दै फेरि पहिचानको मुद्दामा फर्किएर आउनेछन् । संविधानको मस्यौदा जनजातिको पक्षमा नभएकाले यसलाई जलाउनै पर्ने तर क्षणिक आन्दोलन गरेर सफल नभइने पासाङको विश्लेषण छ ।

चारदलका नेताहरुले मधेसवादी र आदिवासी जनजाति जस्ता जनआन्दोलनका सहयात्रीहरुको मागप्रति कुनै वास्ता नगरेको तर कमल थापाका मागहरु भटाभट पूरा गरिरहेको उनको गुनासो छ ।

१६ बुँदे सहमतिपछि उत्पन्न परिस्थितिबारे अनलाइनखबरसँग कुराकानी गर्ने क्रममा पासाङले भने- ‘प्रचण्डले फेरि धोका पाउनुहुन्छ, उनीहरु (कांग्रेस एमाले) धोकेवाज हुन्, जनतालाई धोका दिनेहरुले प्रचण्डलाई धोका दिन औंसी पूर्णे बार्नुपर्दैन ।’

pasang-sharpa

तपाईहरुले प्रचण्डको नेतृत्वमा बनाएको ३० दलीय मोर्चा १६ बुँदे सहमतिसँगै छिन्नभिन्न भएको छ । प्रचण्ड एकातिर, मधेसी दलहरु अर्कातिर छन् । अब जनजाति पार्टीहरु कता ?

– १६ बुँदे सम्झौता गर्दाको समयमा ३० दलभित्र विभिन्न खालका विवादहरु देखा परे । त्यो ३० दलका लागि मात्र होइन, सम्पूर्ण उत्पीडित समुदायका लागि दुःखद कुरा हो । ३० दलको नेतृत्वले गरेको सम्झौतामा असहमति राखेर मधेसका साथीहरु अलगझैं हुनुभएको छ ।

आदिवासी जनजाति मुद्दामा आधारित राजनीतिक दलका नेताहरु बसेर एउटा निष्कर्ष के निकालियो भने विवाद, सहमति, असहमति रहे पनि ३० दलीय मोर्चालाई फुट्न दिनुहुन्न । उत्पीडित जनताकै लागि भएपनि ३० दल फुट्न दिनुहुन्न भन्ने निष्कर्षका साथ हामीले प्रचण्डलाई भेटेर औपचारिक रुपमा ३० दलको बैठक राख्नुस् भनेर पनि भन्यौं ।

हामीले भन्दा उहाँले हुन्छ भन्नुभएको थियो । तर, अहिलेसम्म राख्नु भएको छैन । किन राख्नु भएन, उहाँलाई नै थाहा होला ।

खुलेर भन्नुपर्दा प्रचण्डजीलाई ३० दलले लडेको पहिचानको लडाइँमा आदिवासी जनजातिहरुले साथ नदिएको हो कि भन्ने परेको हो ।

हामी पहिचानमा आधारित सात दलको धारणा के हो भने ३० दलको अझै आवश्यकता छ । तर, हामीले चाहेर मात्र नहुँदोरहेछ ।

मधेसका साथीहरुले पनि त्यो बुझ्नु भएन र प्रचण्डजीले पनि सिरियसली लिनुभएन । म आफूलाई भन्नु पर्दा कहिले कहिले प्रचण्डजीलाई ३० दलीय मोर्चा घाँडो भएको हो कि भन्ने अहिले लाग्न थाल्यो । मैले व्यक्तिगत रुपमा पनि भेटेर ३० दलको बैठक राख्न भनेँ तर, राख्नुभएन । तर, संविधानसभामा भएको १९ दलको बैठक बेला-बेला राख्नु हुँदोरहेछ । त्यसले ३० दल भन्ने चिज प्रचण्डजीलाई घाँडो भएको रहेछ भन्ने लाग्न थालेको छ ।

तपाईहरुको इच्छा त ३० दल कायमै रहोस् भन्ने रहेछ । तर, यो चाहना पूरा नहुने देखिएको छ । अब तपाईहरु आन्दोलन गर्ने बताइरहेका मधेसवादी दलसँग जाने कि संविधानमा सहमति गरेका प्रचण्डतिर जाने ?

– हामी प्रचण्डसँग कि मधेसवादी दलहरुसँग जाने भन्ने प्रश्न रहँदैन । हामी मुद्दासँग जाने हो । मुद्दामा जो जो प्रतिवद्ध रहन्छन्, उनीहरुसँग मिलेर जाने हो ।

जहाँसम्म ३० दलको कुरा रहृयो, म फेरि पनि भन्न चाहन्छु कमरेड प्रचण्डले ३० दललाई एक ठाउँमा ल्याउने काम गर्नुस् । यदि गर्नुहुन्न र उहाँलाई ३० दल घाँडो नै भएको हो भने त्यतिकै बस्ने कुरा रहँदैन । हामी आदिवासी जनजातिहरुले पनि सोच्ने बेला हुन्छ ।

तर, मुद्दा त प्रष्ट भइसक्यो नि । १६ बुँदे मात्र भएन, संविधानको मस्यौदा नै आइसक्यो । मधेसवादी दलहरुले मान्दैनौं पनि भनिसके । अब तपाईहरुले बाटो रोज्नेे बेला भएन ?

– मूलरुपमा १६ बुँदे सम्झौताले आदिवासी जनजातिको भावनालाई आत्मसाथ गर्न सकेन । चर्को रुपमा भन्नुपर्दा झण्डै झण्डै धोका भएकै हो ।

तर, एउटा कुरा, आन्दोलनको जुन माहोल थियो, त्यसलाई हेरेर प्रचण्ड हच्किनु भो । उहाँको अन्तरआत्माभित्र बाध्यतत्मक परिस्थिति सिर्जना भएको हो भन्ने म बझ्दछु र मैले यसलाई आत्मसात पनि गर्छु ।

भन्नाले, प्रचण्डलाई आन्दोलनबाट पार लाग्दैन, जति सकिन्छ त्यति लिएर सम्झौता गर्छु भन्ने लाग्यो र त्यही ठिकै होभन्न खोज्नुभएको हो ?

– खुलेर भन्नुपर्दा प्रचण्डजीलाई आन्दोलन उठ्न नसक्ने हो कि भन्ने परेको हो । त्यसकारण उहाँले सम्झौता गर्नु भो । उहाँलाई यस्तो पर्नु स्वाभाविक पनि हो । किनभने ३० दल पहिचानका लागि नेपाल आदिवासी जनजाति महासंघसहितका आदिवासी जनजातिका केही संघ संस्थाहरुले विरोध गरे । ३० दलको लडाइँ पहिचानका लागि थियो । तर, कांग्रेस र एमालेमा टाँसिएका जनजातिका नेता हुँ भन्नेहरुले त्यसको विरोध गरे ।

अलिकलि लिबरल देखिने, कांग्रेस र एमालेको पूरा हुक नलाग्नेहरुले ३० दलको पुच्छर नै बन्दा अप्ठ्यारो पर्छ कि भनेर डराए । यो सबै हेर्दा आदिवासी जनजातिहरुले ३० दलले लडेको पहिचानको लडाइँमा साथ नदिएको हो कि भन्ने सबैलाई परेको छ । यसमा आदिवासी जनजातिको भूमिकामा मेरो आपत्ति छ ।

उसोभए आदिवासी जनजातिले प्रचण्डलाई राम्ररी साथ नदिएको रहेछ र पो प्रचण्डले पनि अहिले तपाईहरुकै शब्दमा भन्ने हो भने धोका दिएका रहेछन् ?

यो मस्यौदा आदिवासी जनजातिको पक्षमा छैन । यसको हामी विरोध गर्छौं र म त भन्छु मस्यौदा आदिवासी जनजातिले जलाउनै पर्छ ।

– ३० दलको आन्दोलन प्रचण्डको मात्र थिएन । त्यहाँ जनजाति थियो, मधेसी थियो र माओवादी थियो । केका लागि लडेको भन्दा पहिचानका लागि लडिएको थियो । तर, जनजाति महासंघ लगायतका नेताहरुले यो आन्दोलनको औचित्य छैन भन्दै हिँडे । केहीले पुच्छर बन्दैनौं भनेर हिँडेपछि पहिचानका लागि लड्नेको मनोवल कमजोर हुनु स्वभाविक नै हो । यो व्यवहारिक पक्षलाई हेर्नैपर्छ । तर, फेरि पनि १६ बुँदेमा आदिवासी जनजातिलाई धोका भएकै हो ।

१६ बुँदे मात्र होइन, अहिले त संविधानको मस्यौदा नै आइसक्यो । तपाईले पढ्नुभयो ?

– त्यो विषयमा सात पार्टीको प्रष्ट धारणा छ कि १६ बुँदेसँग समेत असम्वन्धित रहेका तर, आदिवासी जनजातिको अधिकारसँग सम्वन्धित र पहिलो संविधानसभाले सहमति गरेर दोस्रोले स्वामित्व ग्रहण गरेका बुँदाहरु समेत हटाइएको छ । यो मस्यौदा आदिवासी जनजातिको पक्षमा छैन । यसको हामी विरोध गर्छौं र म त भन्छु मस्यौदा आदिवासी जनजातिले जलाउनै पर्छ ।

अब अहिले मस्यौदाको विरोध गर्ने मधेसवादी दलहरु र तपाईहरु एकै ठाउँमा उभिने हो ?

– हामी हेर्दैछौं । ३० दल विघटन भएको घोषणा भएको छैन । प्रचण्डलाई सोध्यो भने आफूले अझै मुद्दा बोकिरहेको छु भन्नुहुन्छ । हरेक कोणबाट विश्लेषण गरिरहेका छौं । र, अबको लडाई आदिवासी जनजातिले मात्र लडेर हुँदैन । मधेसले मात्र लडेर केही पार लाग्दैन । दलितले लडेर मात्र पनि सम्भव छैन । त्यसैले जनजाति, मधेसी, दलितलगायतका उत्पीडित जाति, समुदाय र क्षेत्रका जनताको मुद्दासँग मिल्ने सबै शक्तिसँग मिलेर लामो ढंगको लडाइँ लड्नुपर्छ भन्ने निष्कर्षमा पुगेको छु म ।

तुरुन्तै आन्दोलन गर्ने, बन्द हड्ताल गरेर केही परिर्वतन गर्न सकिन्छ भनेर सोच्नुहुँदैन ।

त्यसैले यो मस्यौदामा विरोध छ, असहमति छ र मस्यौदाको आधारमा जारी हुने संविधान मान्दैनौं भन्ने तहसम्म जनतामा गएर संघर्षलाई दीर्घकालीनरुपमा जानुपर्छ र मुद्दा मिल्नेहरु एक ठाउँमा आउनुपर्छ ।

जेपी गुप्ताले लेखेका थिए, अब मधेसी, आदिवासी, दलित मिलेर आन्दोलन गर्नुपर्छ । तपाईको कुरा पनि त्यस्तै देखियो । मोर्चावन्दी हुँदैछ कि ?

– हामीबीच फेसबुकमा कुराकानी भएको हो । मैले फेसबुकमा मुद्दा मिल्नेहरुको संघर्ष एउटै बनेर लड्ने तयारी गर्नुपर्छ भनेर स्टाटस लेखेको थिएँ । थप कुरा भएको छैन । तर, कुरा भए पनि नभए पनि मुद्दा मिल्नेहरु एक भएर संघर्ष गर्नुको विकल्प छैन ।

अहिले विडम्बना कस्तो देखियो भने चार दल -कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिक) मिल्नुभएको छ र हिजो जनआन्दोलनमा सहकार्य गर्ने दलहरुको कुरा सुन्नुभएको छैन । तर, जनआन्दोलन विरोधी कमल थापासँग सहमति र सम्झौता गर्ने काम गर्नुभएको छ ।

आन्दोलनका सहयात्रीहरुले विरोध, अवरोध जे गरे पनि सुन्नुहुन्न र सम्झौता गर्न तयार हुनुहुन्न । तर, गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता विरोधीहरुसँग सम्झौता गर्नुभएको छ ।

मधेसवादी दलहरुले भनेको जस्तो संघीयता, समानुपातिक समावेशी सबै खोस्ने षड्यन्त्र भएकै हो त ?

– त्यसले के देखिन्छ भने जतिसुकै मुद्दा बोक्छु भने पनि सबै बाहुनहरु एकै ठाउँमा पुग्छन् कि क्या हो भन्ने लागेको छ । सल्लाह नगरे पनि कुरा मिल्ने । जनजाति, मधेसी, दलितसँग सल्लाह गरे पनि कुरा नमिल्ने पो हो कि । मधेसीले बहिस्कार गर्छन्, उहाँहरु वास्ता गर्नुहुन्न । राप्रपा नेपालसँग सम्झौता गर्नुहुन्छ । उसले के देखाउँछ भने ठूला पार्टीहरुले जातीय कुरा गर्नुहुन्न भन्ने तर आफैं भेँडा भेँडासँगै, बाख्रा बाख्रासँगै जस्तो गरेका छन् ।

उसोभए अब के गर्नुहुन्छ ?

– विभिन्न पक्षसँग कुरा भइरहेको छ । हामीले शान्ति प्रक्रियामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न अन्तराष्ट्रिय समुदायसँग कुरा गरिरहेका छौं । के मुद्दामा आधारित भएर हिजो शान्ति प्रक्रियामा संलग्न हुनुभयो ? के सम्झनु भएको छ ? के बिर्सनु भयो भनेर प्रश्न उठाइरहेका छौं ।

अहिले हतार गरेर केही क्षण उफि्रएर मात्र केही हुनेवाला छैन । लामो विश्लेषण आवश्यक छ ।

तर, मैले यसो भनिरहँदा किन चुप अहिले भन्ने साथीहरु पनि छन् । अहिले हतारमा बोलेर कहीँ पुगिन्न । लामो यात्राका लागि राम्रै तयारी चाहिन्छ ।

भनेपछि तत्काल मधेसी र जनजातिको तत्काल गठवन्धन बन्ने सम्भावना छैन ?

– कुरा भइरहेको छ । उहाँहरुसँग केही कुरा मिलेको छैन । मैले छोटो संघर्षले कहीँ पुगिँदैन, लामो संघर्षको तयारी गरौं भनेको छु । तर, उहाँहरुले अहिले नै बहिस्कार गर्ने लगायतको काम गर्दै गरौं भन्नुहुन्छ ।

उसोभए प्रचण्डसँगको सम्वन्ध चाहिँ ढीलो चाँडो टुट्छ ?

प्रचण्डले धोका पाएको अनभूत गर्नुभएको छ कि छैन, उहाँलाई नै सोध्नुपर्छ ।  जनतालाई धोका दिनेहरुले प्रचण्डलाई धोका दिन औंसी पूर्णे बार्नुपर्दैन ।

– मैले १६ बुँदे सहमति गर्नुभन्दा केही दिन अघि प्रचण्डलाई भनेको थिएँ कि तपाई धेरै कांग्रेस र एमालेका नेताहरुको भर नपर्नुहोला । उनीहरुलाई म पनि राम्ररी चिन्दछु, तपाई धोकामा पर्नुहोला । अहिले फेरि भन्छु, प्रचण्डले फेरि धोका पाउनुहुन्छ । उनीहरु धोकेवाज हुन् । जनतालाई धोका दिनेहरुले प्रचण्डलाई धोका दिन औंसी पूर्णे बार्नुपर्दैन ।

धोका कहिले हुन्छ भन्ने थाहा भइसक्यो ?

– कि त प्रचण्डजीले आँखा चिम्लनुभएको छ, होइन भने धोका पाउन त सुरु भइसक्यो । १६ बुँदेमा राज्य पुनःसंरचनासँग सवन्धित विषय मात्र हस्ताक्षर भएको हो । तर, आदिवासी जनजाति, मधेसीका अधिकार, प्राकृतिक स्रोत साधनमाथिको अधिकार, आत्मनिर्णयको अधिकार सबै हटाइएको छ । त्यो हटाउने भनेर हस्ताक्षर भएको थिएन । धोका त यहीँबाट सुरु भइसकेको छ ।

प्रचण्डले धोका पाएको अनभूत गर्नुभएको छ कि छैन, उहाँलाई नै सोध्नुपर्छ । धोका पाएपछि प्रचण्ड फेरि आउने मुद्दामा नै हो । होइन, आँखा चिम्लिने हो भने त हाम्रो भन्नु केही छैन ।

प्रचण्डले धोका भयो भन्ने थाहा पाउँदा तपाईहरु धेरै अघि बढिसकेको हुनुहुन्छ होला, त्यसबेला प्रचण्डले ठाउँ पाउँछन् त ?

– ठाउँ कसले कसलाई दिने भन्ने होइन । मुद्दामा मिल्नेहरु एक ठाउँमा आउने हो । अहिले पनि प्रचण्ड ठूलो पार्टीको नेता हो, जनयुद्ध लडेर आएको नेता हो र उहाँलाई नेतृत्व मानेर जान जो पनि तयार हुन सक्छन् ।

त्यसैले ठाउँ पाउने, नपाउने होइन, उहाँ मुद्दामा प्रतिवद्ध हुनुहुन्छ कि हुनुहुन्न भन्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment