Comments Add Comment

यो बजेटमा सवारी कर घटाउने माग राख्दैनौं

विनाशकारी भूकम्पले मुलुकको अटोमोबाइल व्यवसायमा ठूलो प्रभाव पार्‍यो । भूकम्पपछि करिव दुई महिना अटो बजार ठप्प नै भयो । पछिल्ला दिनमा अटो व्यवसायले विस्तारै गति लिन थालेको छ ।

दशैंसम्म भूकम्पका कारण गुमेको बजार फिर्ता ल्याउने विश्वासमा अटो व्यवसायी रहेका छन् । होन्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योति होन्डा मोटरसाइकलको बिक्री पुरानै अवस्थामा फर्किसकेको बताउँछन् ।

मोटरसाइकल र स्कुटरमा होन्डा मुलुककै नम्बर वान ब्रान्ड हो । होन्डाले करिव ३१ प्रतिशत बजार हिस्सा ओगटेको ज्योतिको दाबी छ । प्रख्यात ब्रान्ड र बिक्री पछिको उत्कृष्ट सेवाका कारण सोँचेभन्दा चाँडै बजार फिर्ता गर्न सफल भएको ज्योतिको भनाई छ ।

नेपाल उद्योग वाणिज्य महासंघको कर तथा राजश्व समितिका सभापति समेत रहेका ज्योतिसँग भूकम्पपछिको समग्र अटो बजार, होन्डाको अवस्था र बजेटप्रति व्यवसायीको अपेक्षा लगायतका विषयमा अनलाइनखबरले गरेको कुराकानी :

650_Saurav Jyoti
सौरभ ज्योति, अध्यक्ष, स्याकर ट्रेडिङ प्रालि

भूकम्पले नेपालको अटोमोबाइल उद्योगमा के-कती क्षति पुर्‍याएको छ ?

विनाशकारी भूकम्पले समग्र निजी क्षेत्रमा एक खर्बजति नोक्सानी भएको हामीले अनुमान गरेका छौं । त्यसमा अटोमोबाइल उद्योग पनि पर्छ । भूकम्पले अटो बजारमा ठूलो असर पारेको छ ।

अहिले बजारमा दुई प्रकारका वस्तुहरुको व्यापार भइरहेको छ । एउटा अत्यावश्यक र अर्को गैरअत्यावश्यक । विनाशकारी भूकम्पपछि अत्यावश्यक वस्तुहरुको व्यापार विस्तार भएको पाइन्छ । निर्माण सामाग्रीहरु, जस्तापाता, इँटा, खाद्यवस्तु लगायतको राम्रै बिक्री होला ।

भूकम्पपछि हाम्रो प्राथमिकता पुनर्निर्माणमा केन्दि्रत छ । अहिलेको अवस्थामा मोटरसाइकल, गाडी, घडी, टिभी, मोबाइल लगायतका सामाग्रीहरु लक्जरी वस्तुमा परेका छन् । सवारी साधन अत्यावश्यक भएपनि अहिलेको अवस्थामा लक्जरी आइटममा गनिन पुग्यो ।

सबैभन्दा पहिला भत्किएको घर बनाउने, उद्योग व्यवसाय पुनरुत्थान गर्नेतर्फ मानिसको ध्यान केन्द्रित छ । उसले आफुसँग भएको सबै पैसा त्यहीँ खर्च गर्छ । भूकम्प पीडित नभएको भए जोसँग बचत थियो, उसले मोटरसाइकल तथा गाडीमा लगानी गथ्र्यो । अहिले सवारीसाधन मानिसको दोस्रो प्राथमिकतामा परेको छ ।

त्यसैले यस वर्ष अटोमोबाइलको ३० प्रतिशत बजार घट्ने अनुमान गरिएको छ । गत वर्ष हामीले ४२ अर्ब राजश्व तिरेका थियौं, यस वर्ष राजश्व घट्टेर ३० अर्बमा झर्ने हाम्रो अनुमान छ । अटोमोबाइल सबैभन्दा धेरै राजश्व तिर्ने क्षेत्र हो ।

भूकम्पले भौतिक क्षति बढी भएको छ कि व्यवसायीक क्षति ?

समग्र उद्योग व्यवसायको कुरा गर्ने हो भने भूकम्पले दुई किसिमको नोक्सानी पुर्‍याएको छ । एउटा सम्पत्तीको नोक्सानी र अर्को उत्पादनमा नोक्सानी । फ्याक्ट्री बिगि्रएका छन्, उत्पादन घटेको छ, गोदाममा राखेका मोटरसाइकल तथा गाडीहरु नै ड्यामेज भएका छन् ।

होन्डाका मात्र झण्डै हजारवटा मोटरसाइकल ड्यामेज भएका छन् । होन्डा गाडी ४/५ वटा ड्यामेज भएका छन् । हुन त यती ठूलो भूकम्पका अगाडि त्यो ठूलो होइन । हामीले ड्यामेज भएका गाडी तथा मोटरसाइकलको क्षति इन्सुरेन्सबाट उठाउने प्रयासमा लागेका छौं ।

हामीलाई त्यो भन्दा ठूलो प्रोडक्सन नोक्सान हो । भूकम्पपछि दुई महिना बजार नै बन्द भयो, कामदारहरु घर फर्किँदा फ्याक्ट्री नै बन्द भएका छन्, उत्पादन लष्ट भइरहेको छ । यो उद्योगीले बेहोर्नुपरेको ठूलो नोक्सानी हो ।
सवारीको पनि दुई महिना बिक्री ठप्प भयो । दुई महिनाको समयले ठूलो प्रभाव पारेको छ । गुमेको बजार फिर्ता लिन हामीलाई ठूलो संघर्ष गर्नुपर्ने हुन्छ ।

अहिले अटोको बजार बढ्न थालेको छ ?

हामीले दशैंसम्म अटोमोबाइलको बजार सुस्ताउँछ भन्ने सोँचेका थियौं । तर, सोँचेभन्दा फरक ढंगले अटोमोबाइलको बिक्री वितरण बढिरहेको छ ।

मैले अगाडि भनेजस्तै अटोमोबाइलको ओभरअल मार्केट ३० प्रतिशत घटेको छ । त्यसमा सबैभन्दा बढी असर गाडीमा परेको छ । मोटरसाइकले भने पिकअप लिन थालिसकेको छ ।

होन्डा मोटरसाइकलको बिक्री लगभग सामान्य अवस्थामा फर्किसकेको छ । यो चाहीँ सरप्राइजिङ हो । होन्डा मार्केट शेयरमा नम्बर वान हो । होन्डा बाइकको बिक्री भूकम्प अगाडिकै अवस्थामा फर्किसकेको छ ।

होन्डा गाडीको अवस्था के छ नी ?

गाडीमा रिकोभर भइसकेको छैन, रिकोभर हुनका लागि अझै केही समय लाग्छ । होन्डाको १५/२० प्रतिशत 400_Saurav Jyotiबजार अझै डाउन छ । दशैंसम्म गाडीको बजार पनि पुरानै अवस्थामा फर्किने विश्वासमा छौं । दशैंतिहार अटोबजारका लागि राम्रो सिजन पनि हो ।

भूकम्पपछि मुलुकको आर्थिक क्षेत्र सुस्ताएको छ । यस्तो बेलामा होन्डाले गुमेको बजार कसरी पुरानै अवस्थामा फर्काउन सफल भयो ?

मार्केटिङमा हामीले धेरै जोड दिएका छौं । होन्डा नेपाल भित्रिएको ४७ वर्ष भइसकेको छ । होन्डाको गुडविल विश्वभर राम्रो छ । विश्व प्रशिद्ध प्रोडक्ट भएको हुनाले होन्डा ब्रान्डमा मानिसको विश्वास छ ।

होन्डाको भेलु पनि राम्रो छ, टिकाउ छ, क्वालिटी छ, आकर्षक उत्तिकै छ । यस बाहेक हामीले कष्टोमर सर्भिसमा विशेष ध्यान दिएका छौं । स्पेयर्स पार्टस सहज रुपमा उपलब्ध छ । हामीले धेरै ठाउँमा सर्भिस दिइरहेका छौं । शो-रुम नभएको ठाउँमा पनि टु एस सुविधा दिइरहेका छौं ।

हामीले ९२ ठाउँमा सर्भिस सेवा पुर्‍याइसकेका छौं । हामीले मोबाइल भ्यानबाट चौबिसै घण्टा सर्भिस दिइरहेका छौं । गाह्रकले मोटरसाइकल बिगि्रएमा राती १२ बजे फोन गरेर पनि मोबाइल सर्भिस लिन सक्छन् ।

हामीले सेफ्टीमा विशेष फोकस गरिरहेका छौं । हाम्रो जोड ग्राहक सन्तुष्टीमा छ । त्यो हाम्रो प्रायोरिटी पनि हो । एउटा ब्रान्ड, अर्को आफ्टर सेल्स सर्भिसका कारण होन्डा भूकम्पपछि छोटो अवधिमै पुरानै अवस्थामा फर्किन सफल भएको हो ।

मुलुकको समग्र अटोमोबाइल व्यवसाय दशैंसम्म उछालिएला ?

दशैंसम्म अटोमोबाइल व्यवसाय पुरानै अवस्थासम्म फर्किन्छ । साँचेभन्दा चाँडै अटो व्यवसायले पिकअप लिँदा दशैंसम्म बजार सामान्य अवस्थामा फर्किने अनुमान गर्न सकिन्छ ।

हामीले भदौ/असोज महिनामा नाडा अटो शो गर्ने फिक्स्ड गरिसकेका छौं । भदौ २६ देखि असोज ३ गतेसम्म राजधानीको भृकुटीमण्डपमा अटो शो हुनेछ । अटो शोबाट अटो मार्केटमा चहल पहल आउने छ । यसरी मार्केटलाई अगाडि बढाउन सकिएन भने अर्थतन्त्रलाई धक्का पुग्छ । आर्थिक क्षेत्रको प्रमोट गर्ने गतिविधीमा हामी लाग्नैपर्छ ।

अटो शो विगतको भन्दा केही फरक हुन्छ की ?

विगतको जस्तै हुन्छ । तर, यस पटकको अटो शोमा धेरै नयाँ गाडी तथा मोटरसाइकल सार्वजनिक हुनेछन् । नयाँ वर्षमा हामीले नयाँ मोडलहरु सार्वजनिक गर्ने तयारी गरेका थियौं । तर, भूकम्पका कारण हामीले नयाँ गाडी तथा मोटरसाइकल र्साजनिक गर्न सकेनौं ।

त्यसैले अटो शोमा धेरै गाडी तथा मोटरसाइकल सार्वजनिक हुने मेरो अनुमान छ । यस पटकको अटो शोमा धेरै नयाँ मोडल सार्वजनिक हुने हुँदा भव्य हुने निश्चित छ ।

अटो शोमा होन्डाका कुन-कुन नयाँ मोडल सार्वजनिक गर्दै हुनुहुन्छ ?

भूकम्पपछि डिओ र साइनको नयाँ मोडल बजारमा आइसकेको छ । तर, भूकम्पका कारण यी मोडल लञ्च गरेनौं । दुबै मोडललाई मेलामा शो केश गर्दै छौं । युनिकर्न १६० मेलामा सार्वजनिक गर्ने योजनामा छौं ।

गाडीमा पनि होन्डाको नयाँ सिआरबी बजारमा आइसकेको छ । सिआरबी जीप सेगमेन्टको गाडी हो । प्रिमियम क्लासको सेडान कार सिबिक पनि आइसकेको छ । भूकम्पका कारण दुबै मोडल भव्य रुपमा सार्वजनिक गर्न सकेनौं । त्यसैले मेलामा सार्वजनिक गर्ने कार्यक्रम छ ।

यसैगरी होन्डाको नयाँ गाडी ज्याज मेलामा ल्याउँदै छौं । होन्डा ज्याज सुपर हृयाचब्याक कार हो ।

भनेपछि मेलामा नयाँ गाडी तथा मोटरसाइकलको बहार हुने देखियो ?

पक्कै पनि । सबै व्यवसायीले भूकम्पपछि भित्रिएका नयाँ मोडल मेलामा सार्वजनिक गर्ने तयारीमा छन् । त्यसका साथै थप नयाँ मोडल ल्याउने तयारी पनि भइरहेको छ । त्यहि भएर मेला धेरै नयाँ गाडी तथा मोटरसाइकल देखिने सम्भावना बढी छ ।

पछिल्लो समय होन्डाको बिक्री कुन अवस्थामा थियो ?

अटोमोबाइलको ओभरअल मार्केट पछिल्लो दुई वर्ष खासै बढ्न सकेन । तर, होन्डाको बजार वाषिर्क १० प्रतिशतका दरले बढेको छ । होन्डाप्रति उपभोक्ताको विश्वासले गर्दा यस्तो भएको होला । पछिल्लो समय रेमिट्यान्स आप्रवाह बढ्नुका साथै सडक विस्तारका कारण पनि सवारी बिक्री बढिरहेको छ ।

बैंकले ऋणको ब्याजदर बढाइरहेका छन्, यसले अटोमोबाइल बिक्रीमा थप असर पार्ने भयो नी ?

बैंकले ऋणको ब्याजदर बढाउन थालेपछि त्यसले अटो बिक्रीमा असर पार्छ । हामीलाई पनि यही चिन्ताले सताएको छ । अहिलेसम्म बैंकले डेढ/दुई प्रतिशत ब्याज बढाइसकेका छन् ।

अहिले बैंकमा प्रयाप्त निक्षेप छ । मेरो बिचारमा ब्याजदर घट्नुपर्ने, बैंकले उल्टै बढाइरहेका छन । बैंकको यस्तो कदमले अटो व्यवसाय मात्र नभई समग्र अर्थतन्त्रमा असर पर्छ । अटो बजारलाई त यसले असर पार्छ नै ।

दाता सम्मेलनपछि सरकार बजेट निर्माणमा जुटेको छ । बजेट अधिवेशन पनि सुरु भइसकेको छ । बजेटमा तपाईहरुको अपेक्षा के हो ?

हामीलाई थाहा छ, अहिले सरकार संकटपूर्ण घडीमा छ । यसपटक पुनर्निर्माणमा ठूलो रकम आवश्यक पर्ने देखिन्छ । प्रारम्भिक अनुमान अनुसार ६ खर्ब ७० अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएकोमा दाता सम्मेलनबाट ४ खर्ब ४० करोड रुपैयाँ उठेको छ । बाँकी रकम आन्तरिक स्रोतबाटै जुटाउने हो ।

यस्तो बेलामा निजी क्षेत्रले सरकारको बाध्यता पनि बुझ्नुपर्छ । त्यसैले हामी यस वर्ष सवारीमा करको दर घटाउन माग गर्दैनौं । तर, सरकारले करको दर बढाउन पनि भएन । राजश्व घटाएर सरकारले पुनर्निर्माणका लागि आवश्यक रकम कहाँबाट जुटाउने ।

650_Saurav Jyoti_1

त्यही भएर करको दर घटाउने हामीले कुरै गर्दैनौं । विगतका वर्षहरुमा हामीले सवारीमा लगाइएको करको दर घटाउनुपर्यो, दायरा बढाउनुपर्यो भनेर धेरै माग गथ्र्यौं । सवारी साधन विलासी वस्तुबाट अत्यावश्यक वस्तु भइसक्यो भनेर सरकारसँग कराउँथ्यौं ।

सरकारले मोटो ट्याक्स लगाइदिँदा सवारी साधन नेपाली उपभोक्ताको क्रय शक्तीभन्दा बाहिर पुगेका छन् । नेपालमा एउटा मोटरसाइक खरिद गर्ने पैसाले भारतमा दुईवटा आउँछ, नेपालमा एउटा गाडी खरिद गर्ने पैसाले तीनवटा आउँछ भनेर विगतमा सरकारसँग जोडदार माग राख्थ्यौं ।

यसपटक त्यति जोडदार माग राखेका छैनौं । तर, कर नबढोस् भनेर सतर्क गराउँछौं । यसमा सबै व्यवसायी एकमत छौं । देशको परिस्थिती पनि हेर्नुपर्‍यो ।

निजी क्षेत्र करको दायरा बढाउ भन्छ, तर सरकार दर बढाउन तल्लिन देखिन्छ नी ?

हो, सरकार करको दायरा बढाउन भन्दा दर बढाउन तल्लिन भएजस्तो लाग्छ । त्यसमाथि पनि अटोमोबाइल क्षेत्रमा सरकारको बढी ध्यान केन्दि्रत भएजस्तो लाग्छ । अटोमोबाइल एकदमै ट्रान्सपरेन्ट भएको हुँदा सजिलै मोटो रकम करका रुपमा उठिरहेको छ ।

एउटै क्षेत्रबाट धेरै रकम उठ्ने भएपछि सरकार करको दायरा बढाउने पक्षमा देखिदैन । करको दायरा बढाउने वित्तिकै अप्रेसन कष्टसमेत बढ्न जान्छ ।

गाडी र मोटरसाइकल ट्रान्सपरेन्ट भएपनि स्पेयर्स पार्टसमा भने चुहावट भइरहेको छ । यसतर्फ सरकारको ध्यान जान सकेको छैन । स्पेयर्स पार्टसमा ५ देखि ३० प्रतिशतसम्म ट्याक्स लगाइएको छ । तपाईले बोर्डर क्षेत्रमा हेर्नुभयो भने सबैजना आफ्नो सवारी मर्मतका लागि भारत जाने गर्छन ।

भारतबाट चोरी पैठारी गरेर स्पेयर्स पार्टस भित्राउने गरिन्छ । ३० प्रतिशत कष्टम ड्यूटी र भ्याट गर्दा ५० प्रतिशत स्पेयर्स पार्टस्मा बुझाउनुपर्छ । यही कारण खुल्ला सिमानाको फाइदा उठाउँदै चोरी पैठारीका स्पेयर्स पार्टस् बढी भित्रिने गर्छन ।

यो कार्यलाई निरुत्साहित गर्नका लागि सरकारले स्पेयर्स पार्टस्को कर ५ प्रतिशतमा झारिदिनुस भनिरहेका छौं । यसो भएमा चोरी पैठारी अटोमेटिक कम हुन्छ । सरकारको राजश्व पनि बढ्छ । नेपालीलाई पनि सस्तो पार्टस् पुर्जा खोज्दै बोर्डर काट्नु पर्दैन । यहाँको आधिकारिक बिक्रेतासँग किनेमा वारेन्टी देखि आफ्टर सेल्स सर्भिसम्म पाइन्छ ।

स्पेयर्स पार्टस्मा लगाइएको कर यही बजेटमै घटाइयोस भन्ने तपाइहरुको माग हो ?

हो, स्पेयर्स पार्टसको कर यही बजेटमै घटाउनुपर्‍यो भन्ने माग छ । सरकारले पार्टसमा लगाउने कर ३० प्रतिशतबाट ५ प्रतिशतमा झारेमा त्यो भन्दा बढी आम्दानी गर्न सक्छ । यसो भएमा बजारमा चोरीका पार्टसहरु भित्रिदैनन भने सस्तो हुने हुँदा सवारी मर्मतका लागि मानिस बोर्डर काटेर जानुपर्दैन ।

तपाईहरुले यस विषयमा सरकारलाई पटक-पटक सम्झाइरहनु भएको छ । सरकार स्वयम पनि यस विषयमा जानकार छ । तर, कार्यन्वयन गर्दैन किन होला ?

चालु आर्थिक वर्षको बजेटमा त झन उल्टो गर्‍यो । अन्तःशुल्क ५ प्रतिशत थपिदियो । हामीले यस विषयमा कुरा राख्दा सरकारले यो त नहुनुपर्ने कसरी भयो भनेर भन्छ । हामीले माग गर्दा गर्दै अन्तःशुल्क बढाउने काम भयो । यसरले चोरी पैठारीलाई झन प्रोत्साहन गर्‍यो । सरकारले राजश्व गुमाउनु पर्‍यो ।

सरकार, व्यवसायी र उपभोक्ता तिनै पक्षका लागि ‘वीन वीन’ सिचुएसन हुँदा-हुँदै पनि सरकारले किन स्पेयर्स पार्टसको कर घटाउन मानिरहेको छैन, मैले पनि बुझ्न सकेको छैन । हामीले बुझाउन नसकेको हो की, के भइरहेको हो ।

अटो उद्योगका लागि बजेटमा अनुदान आवश्यक छ कि छैन ?

अहिलेसम्म हाम्रो ९५ प्रतिशत बढी ट्रेडिङ बिजनेश नै हो । भोलीका दिनमा धेरै व्यवसायीहरु नेपालमै 400_Saurav Jyoti_1गाडीहरु एसेम्बल गर्न केन्द्रित देखिन्छन । त्यसका लागि सरकारको सपोर्ट अनिवार्य चाहिन्छ । सरकारले अनुदान उपलब्ध गराएर नेपालमै एसेम्बल गर्ने वातावरण तय गरिदिनुपर्छ ।

अहिलेको अवस्थामा भेहिकल यहीँ एसेम्बल गरेमा १५ प्रतिशतजती फाइदा हुने देखिन्छ । तर, यतिले उद्योग चलाउन पुग्दैन । यो फाइदा २५, ३०, ५० प्रतिशतसम्म भएमा धेरै उद्योगहरु स्थापना गर्न सक्छौं । यसका लागि दक्ष जनशक्ती समेत चाहिन्छ । दक्ष जनशक्ती विकासमा लगानी गर्नुपर्छ ।

होन्डाको यस विषयमा केही योजना छ की ?

हाम्रो पनि इच्छा छ । भविष्यमा होन्डा यहीँ एसेम्बल गर्ने योजना छ । गोल्छा अर्गनाइजेशनले बजाज मोटरसाइकल छिट्टै यहीँ एसेम्बल गर्दैछ । यहीँ एसेम्बल गर्ने नगर्ने भनेर सम्भाव्यता अध्ययनपछि थाहा होला, तर इच्छाचाहीँ छ । बिजनेश पनि फिजिवल हुनुपर्‍यो ।

सरकारले अनुदान दिएर लागत घटाइदिने काम गर्‍यो भने हामीमात्र होइन धेरै कम्पनीले यहीँ एसेम्बल गर्छन । यसका लागि सरकारको दीर्घकालिन सोँच, स्पष्ट नीति, अनुदान लगायतको सुनिश्चितता गर्नुपर्छ ।

सरकारलाई कुरेर बस्नुभयो भने त तपाईको योजना पुरा हुन बर्षौं लाग्ने भयो नी ?

तपाइले भनेको कुरा पनि सही हो । सरकारलाई हामी धेरै लामो समयदेखि कुरिरहेका छौं । तर, अब मुलुकमा नयाँ संविधान बन्दै छ । नयाँ संविधान जारी भएपछि स्थिर सरकार बन्छ । लगानीमैत्री वातावरण पनि तय होला । यसले उद्योग व्यवसायीमा पनि कन्पिmडेन्स लेवल बढाउने छ ।

संविधान बन्दैमा मुलुकमा स्थिरता आउँछ, लगानीमैत्री वातावरण बन्छ भन्ने तपाइलाई विश्वास छ ?

अवश्य पनि । संविधान भनेको देशको फाउन्डेसन हो । फाउन्डेसन बनेपछि तला थप्न त सजिलो हुन्छ । नयाँ संविधान जारी भएपछि अवश्य पनि यही अवस्था रहिरहँदैन । सरकार पनि स्थिर हुन्छ । सरकार स्थिर भएपछि लगानी पनि बढिहाल्छ । यसले लगानीमैत्री वातावरण बनिहाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment