Comments Add Comment

साउदीमा गाडी गुडाउने नेपाली ड्राइभरको अनुभव

वीरदोष तामाङ
हाम्रो जस्तो सानो देश, साघुँरो बाटो र थोरै गाडी, त्यसमाथि पनि धेरै दुर्घट्ना हुने गर्छन् । यहाँ सानो भन्दा सानो गल्तीले बर्षौं लगाएर अर्जित गरेको विद्या र सीपको सदुपयोग नै गर्न नपाई मृत्युवरण गर्नु पर्ने अवस्था छ । तसर्थ सानोभन्दा सानोदेखि ठूलो ठूलो नियममा सुधार पालना गर्न सके सबैको हित हुने देखिन्छ ।

Saudi-Vs-Kathmandu-Road

साउदीमा परीक्षा प्रणाली

साउदीमा लाइसन्स दिदाँ सबैभन्दा शुरुमा एउटा ठूलो चौरमा लगिन्छ जहाँ पूर्ण सडकको बनोट र ट्राफिक चिन्हहरु राखिएको हुन्छ । त्यहाँ अनवश्यक अनुसारको गाडी राखिएको हुन्छ र चालकलाई गाडीको चावी दिइन्छ जस्मा ट्राफिक प्रहरी पनि चालकसँगैको सिटमा बसिरहेको हुन्छ । चालकले गाडीमुनि केही छ कि छैन भनी विचार गरेपछि गाडीको लुकिङ ग्लास ठीक छ कि छैन भनी मिलाउनुपर्छ । गेयर, न्युट्रलको अवस्था हेरी ह्यान्ड ब्रेक चेक गरी गाडी अगाडि बढाइन्छ । त्यसपछि भने ट्राफिकले भनेको ठाउँमा लैजानु पर्छ ।

त्यस क्रममा जोडिएको सडक र छुट्टएिको सडक र ट्राफिक चिन्हहरुमा कत्तिको ध्यान दिन्छ भनी ट्राफिक प्रहरीले नियालिरहेको हुन्छ । त्यस क्रममा कतै गल्ती भएमा जहाँ पनि ओरालिन्छ । पहिलो चरणमा उत्तिर्ण भएपछि ट्राफिक चिन्ह भएको ठाउँमा प्रवेश गरिन्छ, जसमा सम्पूर्ण ट्राफिक चिन्हहरु भएको बोर्ड हुन्छ र ट्राफिकले सोध्दै जान्छ । परीक्षार्थीले भन्दै जानुपर्छ । जहाँनिर अड्किन्छ त्यहाँ नै अनुत्तीर्ण गराइन्छ, यसमा जति बढी अन्कनाइन्छ, उति बढी नै सोधिन्छ । अनि फेल भएकाहरुलाई ६ महिनासम्म स्कुलमा पठाइन्छ एवम् प्रकारले चलिरहन्छ ।

नेपालमा परीक्षा प्रणाली

नेपालमा भने यो प्रक्रिया भन्दा फरक पाइएको छ । जसमा लिखित परिक्षा जसमा ट्राफिक ज्ञान भन्दा पनि बढी कानुनी कुरा गाडीका नम्बर प्लेट, कुखुरा, हाँस मर्दाका जरिवाना लगायतका कुरा सोधिन्छ । चाहिने ट्राफिक चिन्ह कम सोधिन्छ अनि त्यसपछि ट्रायलमा लगिन्छ जसमा सडकको चित्रण भएको चौर हुँदैन यो कुरा सबै लाइसेन्स होल्डरहरुलाई अवगत नै छ । अनि पास भएकाहरुलाई लाइसेन्स दिइन्छ । फेल भएकाले पनि घुस खाएर सवारी चालक अनुमति पत्र अर्थात् लाइसेन्स पाउँछन् ।

साउदीमा सडकको ढाँचा

साउदीमा सडकमा स्लोप लाइन, अलारामिङ लेन, मेडियन लाइन, ओभरटेकिङ, लाइन, नो ओभरटेकिङ लाइन, डाइभर्सन लाइन, स्टप लाइन, पेड्रेस्ट्रेयन क्रसिङ जस्ता कुराहरु स्पस्टताका साथ कोरिएको हुन्छ । जुन उल्लेखित लाइन गाडीको बत्ति पर्ना साथ चम्किन्छ । ति लाइनहरु भित्र मात्र गाडी कुदाइन्छ ।

नेपालमा सडकको ढाँचा

यी माथि उलेल्खित रेखा नेपालमा कोरिएको हुदैन ता कि हाइ वेको बाटो पनि कालो, सडक पनि कालो र अध्याँरो पनि कालो हुने हुँदा चालकले सडक बाहिर गाडी गइसकेको पत्तै पाउँदैन । जसका कारण दुर्घटना हुन्छ । कोटेश्वर-भक्तपुर सडकमा रेखा त कोरिएका छन् । तर, चालकहरुले त्यसको पालना गर्दैनन् । सोलोप लाइन, जुन छेउको पहेंलो रेखाको अर्थ हुन्छ कि सडक नबिगि्रउनु भनी, त्यस रेखा भन्दा बाहिर गाडी लाग्न पाइदैन तर कोटेश्वर-भक्तपुर सडकखण्डमा यो रेखालाई समेत ३-३ लेनको बाटो भनी जथाभावि गाडीहरु कुदाइरहेको देखिन्छ ।

साइड

साउदी अरबमा अरु साइड कहिल्यै पनि गुड्दैन । तर नेपालमा प्रायजसो अरुको साइडमा बढी गुडाइरहेको भेटिन्छ ।

कुदाइको तरिका

साउदीमा गाडीहरु सामानान्तर रेखाको नियममा कुदाइन्छ । नेपालमा भने सामान्तर रेखाको नियमको पालना नगरी नागबेली चालामा कुदाइरहेको देखिन्छ ।

गाडीको आकार र गती अनुसारको सडक लेन

साउदीमा ठूलो सवारी साधनलाई पहिलो लेन भन्दा दोस्रो लेनमा कुदाउन मनाही हुन्छ । ओभरटेकिङ गर्दा मात्र दोस्रोमा आउन पाइन्छ । ओभरटेक गरिसकेपछि फेरी पहिलो लेनमै कुदाउनु पर्छ । बिस्तारै गुड्ने गाडीहरु पहिलो वा दोस्रो अर्थात छेउँका लेनमा गुडाइन्छ । तर, नेपालमा यो नियमको पालना भएको देखिँदैन ।

बाटो काट्ने विधि

साउदीमा बटुवाले बाटो काट्दा पेड्रेस्ट्रेन क्रसिङ या गाडी चढेर घुमेर आउनु पर्छ । यो नियमको पालना नभएमा १ हजार रियाल तत्काल जरिवाना तिर्नु पर्छ । तर, नेपालमा यो नियमको पालना भएको पाइदैन ।

ट्राफिक सिग्नल

साउदीमा रेड लाइटमा गाडी पार गर्दा एक रात जेल बस्नुका साथै ९०० रियाल तिर्नुपर्छ । सिट बेल्ट प्रयोग नगर्दा ५० रियाल तिर्नुपर्छ । गाडी ठीक नभएमा र लाइटको मिसयुज भएमा पनि जरिवानामा परिन्छ । जस्तो कि एकातिरको बत्ति बालेर अर्को साइड तिर जान पाइदैन ।

नेपालमा यी नियमहरुको पालना भएको पाइँदैन र बिर्सिएर एकातिरको बत्ति बालेर अर्कोतिर गएको देखिन्छ । जुन दुर्घटनाको लागि ठूलो सहायकसिद्ध हुनजान्छ ।

प्राथमिकता

साउदीमा उकालोको गाडीले प्राथमिकता पाउँछ । नेपालमा यो नियम भए पनि चालकहरुले ज्ञानको कमीले हो कि पेलेर हो यो नियमको पालना भएको पाइदैन ।

छतमा सामान निषेध

साउदीमा यात्रु बाहक गाडीले छतमा सामान बोक्न निषेध छ । नेपालमा यात्रु बाहक गाडीले यात्रु र तौल भन्दा बढी सामान छतमा राखि गुडाइरहेको पाइन्छ । फलस्वरुप न्युटनको चाल सम्बन्धि पहिलो नियम लागु हुन गइ अनाहकमा यात्रुहरुले मृत्युवरण गर्न पुग्दछन् । यसमा व्यवसायीहरु बढी जिम्मेवार देखिन्छन् ।

सतर्क चिन्ह

साउदीमा सडकमा गाडी बिगि्रएमा तुरुन्त ४ वटा साइड लाइट बालेर साइड लगाएर सतर्क चिन्ह, जुन सबै गाडीमा हुनु पर्छ, अन्दाजी ७०० मिटर अगाडी पछाडी राख्नु पर्छ । एकछिन पछि ट्राफिकको गाडी माथिको बत्ति बाली गाडी नबनेसम्म ड्युउटीमा रहिरहन्छ ।

नेपालमा यो नियमको पालना चालक र ट्राफिक प्रहरीबाट पनि भएको पाइँदैन ।

लुकिङ ग्लास

साउदीमा लुकिङ ग्लासको प्रयोगका कडाइ गरिन्छ । तर, नेपालमा भने यो नियम हुँदा हुँदै पनि कुनैका ऐना हुदैहुदैनन्, कुनैको फोल्ड अप त कुनैको अन्यत्र फर्किएको हुन्छ । फलस्वरुप बाटो क्रस गर्दा वा साइड लाग्दासँगै वा पछाडिको गाडीसँग ठोकिन पुग्छ । अझ यी कुराहरु मोटरसाइकलमा बढी भएको पाइन्छ ।

ओभरटेकको नियम

साउदीमा ओभरटेक गर्दा साइड लाइट बाली ऐना हेरी लामो दुरी लिई ओभरटेक गरिन्छ ।

नेपालमा ठिक ओभरटेक गर्दा मात्र बालिन्छ । बाले पनि ऐनामा नजर नलगाई बाटो काटिन्छ । फलस्वरुप त्यतिखेर पनि दुर्घटना परिन्छ ।

हर्नको प्रयोग

साउदीमा सामान्यतया हर्न बजाइँदैन र लाइटको भरमा मात्र चलाइन्छ । गाडीमा भएको लाइटको अत्यधिक उपयोग गरिन्छ । नेपालमा जथाभावि हर्न बजाइन्छ । हर्न निषेध गरिएका स्थानमा पनि बजाउने गरिन्छ । लाइटको पनि सहि उपयोग हुँदैन । जस्तो कि ओभरटेकको पासिङ लाइट माग्दा अगाडिको गाडीले बायाँ साइड इन्डिकेटर बाल्दा ओभरटेक गर्ने र दायाँतिरको इन्डिकेटर बल्दा नगर्ने हुन्छ तर यो नियम हुदाँ हुदै पनि चालकमा ज्ञानको कमीले नेपालमा ठिक यसको उल्टो दाहिने बाल्दा ओभरटेक गर्छन् । जस्ले गर्दा पछाडिको गाडीले ओभरटेक गर्नु भनेको हो कि ऊ आफै दाहिने जान लागेको हो छुट्याउन नसकि गाडीहरु दुर्घटनामा पर्न जान्छन् ।

बसस्टपमा मात्र रोक्ने

साउदीमा नो पर्किङ, नो पार्किङ एनड स्टपिङ, नो स्टपिङ जस्ता चिन्ह भएका ठाउँमा रोक्न निषेध हुन्छ । निषेधित क्षेत्रमा रोकिएमा जरिवानामा परिन्छ । बसहरुलाई निश्चित बस स्टापमा मात्र रोक्न पाइन्छ ।

नेपालमा यी चिन्हको वास्तै गरिँदैन । यात्रुलाई पनि भनेको स्थानमा, जस्तै, उकालोमा पनि रोकिदिनु पर्छ । सायद सडकको अवस्थाले गर्दा होला ।

गाडीबीचको दुरी

साउदीमा दुई गाडीको दुरी लगभग ५०, १००, १५० मिटर जुन सडकमा निर्देशित ट्राफिक चिन्ह अनुसार गुडाइन्छ । नेपालमा १६ फिट भन्ने हुँदाहुदै पनि १६ इन्च पनि नराखि चलाउछन् ।

पार्किङको व्यवस्था

साउदीमा पर्किङको व्यवस्था राम्रो हुन्छ । नेपालमा भने कर मात्रै असुल्छन् तर सडक र पार्किङको व्यवस्था नै छैन ।

छाडा पशु

साउदीमा पशु सडकमा आउन दिँदैन केहि गरी पशु सडकमा आइ सवारी दुर्घटना भएमा दिउँसो भए सवारी धनीले र राती भए पशु धनीले गाडीलाई क्षतिपूर्ति तिर्नु पर्छ ।

नेपालमा विवेकशिल मानवले मृत्यवरण गर्दा पनि एउटा ५०० सयको कुखुराका लागि चक्काजाम गर्न पनि पछि पर्दैनन् । कतिपय चालकले त घाइतेलाई जीवनभर पाल्नु पर्ने नियम छ भन्छन् । यो कतिको साँचो हो यादि साँचो हो भने यसले पनि दुर्घटनामा परेका जीवित घाइतेलाई पनि मृत्युको मुखमा धकेल्न मद्दत गर्न सक्छ किन कि नेपालमा सदुपयोग भन्दा दुरुपयोग र विकृति छिटै हुने गर्छ । मलाई पारेको एउटा घटना उलेख गर्दैछु –

एक दिन गाडी चलाईरहेको थिएँ त्यतिकैमा एक बटुवाले बाटो छोडेन र मैले हर्न बजाएँ तर पनि छोडेन । उसले मलाई रोक्यो र सोध्यो तपाईंसँग पाँच लाख छ ? मैले उत्तर दिएँ छैन । मैले त्यसको कारण सोधें । उसले जवाफ फर्कायो – मैले बाटो नछाड्दा तपाईले मलाई किच्नुहुन्छ । अनि तपाईंले मलाई कम्तिमा पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिनु पर्छ । पाँच लाख नभएको मान्छेले पनि गाडी चलाउने ? उसको यो हप्काइले मलाई लाग्यो सायद राम्रोको लागि बनाएको बीमाको विकृतिको एउटा उदाहरण हुनसक्छ ।

क्षतिपूर्ति

साउदीमा दुर्घटना हुँदा ठूलो सानोको मतलव हुदैन । जसको गल्ती ठहर्छ उसैले क्षतिपुर्ति ब्यहोर्नु पर्छ ।

नेपालमा भने ठूलो सवारी साधनको मात्र गल्ति ठहराइन्छ । जस्तो की बस र मोटरसाइकल ठोक्किए भने मोटरसाइकलकै गल्ती भए पनि बस चालकलाई दोषि देखान्छ र क्षतिपुर्ति तिरान्छ ।

दुर्घटना व्यवस्थापन

साउदीमा दुर्घटना भएमा चालकहरु आपसमा अंगालो हालि माया गर्छन् र कुरा मिलाउँछन् । आपसमा कुरा नमिलेपछि मात्र ट्राफिक बोलाउँछन् ।

नेपालमा पहिला हानाहान गर्छन् र जनताले ट्राफिक प्रहरी बोलाउनु पर्छ ।

अराजकता

साउदीमा दुर्घटना भएमा दुर्घटनामा परेकालाई कसैले पनि छुन पाइदैन ।

नेपालमा प्रहरी आउनु भन्दा पहिले नै जनता पुग्छन् । चालक भेटेमा चालक र सवारी दुवैलाई जलाउन पछि पर्दैनन् । ४०-५० लाखको गाडी जलेको मालिकलाई उल्टै १०-२० लाख रुपैयाँको क्षतिपूर्ति तिराइन्छ ।

अन्य

नेपाल जस्तो उकालो र ओरालो भएको बाटोमा चालकले ईन्धन बचतको लागि न्युट्रलमा कुदाएको देखिन्छ । यसो गर्नु निकै घातक हो । किनभने न्युट्रलमा गाडीको ब्रेकमा बढी घर्षण भई ब्रेकको सिलिन्डर बकेट तातेर ब्रेक ओयल लिक हुन जान्छ । यसबाट ब्रेक फेल हुन पुग्छ । चालकले उकालोमा विचार नै नगरी २-३ नम्बरको गियरमा लान्छ फलस्वरुप ओभरलोडले गर्दा तान्न नसकी १ नम्बर गियरमा झार्नु पर्छ । तर १ नम्बर गियरको लागि लगभग स्पिड शून्य हुनुपर्छ । तर, त्यतिखेरसम्म ढिला भइसकेको हुन्छ र ब्रेक लगाउँदा अगाडी चक्कामा भकुन्डो नियम लागु भइ गाडी उत्तानो या ता गाडी नै पछाडि सर्न गइ दुर्घटनामा पर्न जान्छ ।

ठूलो गाडीले ऐनाको ठीक मुनि, जस्लाई ब्लाइन्ड एरिया भन्न पनि सकिन्छ, ट्याक्सीसम्म पनि देख्दैन तर साना सवारी साधनहरुलाई यो कुराको ज्ञान हुदैन । दिइएको पनि हुदैन र गलत साइडबाट ओभरटेक गर्न जान्छ फलस्वरुप त्यतिखेर च्यापिएर दुर्घटनामा पर्न जान्छ ।

निष्कर्ष

दुर्घटना जुनसुकै चालकको पनि हुन सक्छ तर सम्पूर्ण रुपमा सुधार गरी हालसम्मका लाइसेन्स होल्डरहरुलाई सरकारबाट नै अन्तराष्ट्रिय स्तरको तालिम दिइनु पर्छ । किन कि हालसम्मका दुर्घटनामा चालकमा ज्ञानको कमीले गर्दा चालक नै बढी दोषी देखिन्छ तर सरकार र बटुवा पनि कम छैन । जस्तै बीर अस्पताल अगाडिको पुलमा देख्न सक्नु हुनेछ टाइ र सुटमा सजिएका व्यक्ति हतार भयो भन्दै पुल मुनिबाट बाटो काटिरहेका हुन्छन् । तसर्थ विद्वानहरुले किताबबाट सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सके अरु साधारण लेखपढ गरेका र अशिक्षितहरुका लागि उदाहरणीय हुने थियो कि भन्ने लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment