Comments Add Comment

कालिकोटका शिक्षकले सरकारलाई बुझाए आक्रोशपत्र

२१ असार, कालिकोट । सरकारले विगतका सहमति कार्यान्वयन नगरेको विरोधमा कालिकोटका शिक्षकहरुले सरकारलाई आक्रोश पत्र बुझाएका छन् । जिल्लामा क्रियाशील शिक्षकका बिभिन्न संघ संगठनहरुले जिल्ला शिक्षा कार्यालय कालिकोट मार्फत सरकारलाई आक्रोश पत्र बुझाएका हुन् ।

शिक्षकहरुले बुझाएको आक्रोश पत्रमा नेपाल सरकारसँग भएका सम्झौताहरुको कार्यान्वयन गर्नुपर्ने, आर्थिक वर्ष ०७१/७२ मा बृद्धि भएको पोशाक भत्ता उपलब्ध गराउनु पर्ने र मिनपचासको दुर्गम भत्ता उपलब्ध गराउनु पर्ने माग राखिएका छन् ।

त्यस्तै, सबै प्रकृतिका शिक्षकहरुलाई पोशाक भत्ता उपलब्ध गराउनु पर्ने, रातहका शिक्षकलाई दुर्गम भत्ता उपलब्ध गराउनु पर्ने र विद्यालयका कर्मचारी र सहायक कर्मचारीलाई उचित तलव भत्ता उपलब्ध गराउनु पर्ने माग समेत राखेका छन् ।

शिक्षकका संघ संगठनहरुले विगतमा बिभिन्न कारणले बिस्थापित भएका शिक्षकहरुलाई पुनःस्थापित गर्न समेत माग गरेका छन् ।

नेपाल शिक्षक संघ, नेपाल गणतान्त्रिक शैक्षिक मंच नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संघ, नेपाल क्रान्तिकारी शिक्षक संघ लगाएतका शिक्षक संघ संगठनहरुले संयुक्त रुपमा आक्रोश पत्र बुझाएका हुन् ।

शिक्षकहरु विगत लामो समयदेखि शिक्षक हकहितका माग राख्दै आन्दोलन गर्दै आए पनि त्यसलाई अझै बेवास्ता गरिए कडा आन्दोलनमा उत्रिने नेपाल शिक्षक संघ कालिकोटका सचिव नविन हमालले बताए ।

‘हामीले जायज माग राख्दा समेत कुनै सुनवाई भएन,’ उनले भने, ‘माग पूरा नभए कडा आन्दोलनमा जान बाध्य हुनेछौं ।’

शिक्षकहरुलाई निजामति कर्मचारी सरह सेवा सुबिधा उपलब्ध गराइनुपर्ने भए पनि लामो समयदेखि शिक्षकहरुलाई सरकारले फरक ब्यवहार गर्दै आएको अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष सर्पराज सिंहले बताए ।

जिल्ला शिक्षा कार्यालय कालिकोटले शिक्षकहरुका मागलाई शिक्षा मन्त्रालयमा जानकारी गराइने जनाएको छ ।

– रमेश रावलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment