Comments Add Comment

हुर्केकी छोरीलाई बानेश्वरमा छाडेर आमा भागेपछि…

२१ असार, काठमाडौं । दिउँसो १ बज्नै लागेको थियो । नयाँ बानेश्वरस्थित थकाली भान्छा घर अगाडिको बाटोमा एकजना किशोरी हिँड्दाहिँड्दै भ्वाक्कै लडिन् । मूर्छा परेर लडेकी उनलाई बटुवाले थकाली भान्छा घरबाट पानी लगेर छ्यापे । ब्युँतिएपछि उनी डाँको छाडेर रुन थालिन् ।

Sapana Khadka

थकाली भान्छाघरमा खाना खान भेला भएका मानिसहरु पनि बाहिर निस्किए, बाटो हिँड्नेहरु एकाएक जम्मा भए । किशोरीलाई उनीहरुले पानी खुवाए, नरुन सम्झाइ बुझाइ गरे । तर, उनको रुवाइ रोकिएन ।

उनको रोदन रोकियोस् पनि कसरी ? ती अवला किशोरीले भोग्नुपरेको विपत्ति कल्पना गरी साध्य रहेनछ । सुरुमा मानिसहरुले उनलाई ‘छारे रोग’ लागेको हुन सक्ने अनुमान गरेका थिए, तर कथा अर्कै रहेछ ।

नयाँ बानेश्वरको अपरिचित सडकमा रुँदै हिँड्ने क्रममा मूर्छा परेर ढलेकी यी किशोरी नेपालगञ्जकी सपना खड्का हुन् । उनी नेपालगञ्जकै दीपज्योती स्कुलमा कक्षा ८ मा पढ्दै थिइन् । उनका पिता सानैमा बितेकाले आमा सम्झना खड्काको अविभावकत्वमा पढ्दै थिइन् उनी ।

किशोरीलाई नरुन आग्रह गर्दै एक महिला
किशोरीलाई नरुन आग्रह गर्दै एक महिला

सपनालाई उनकी आमा सम्झनाले काठमाडौं घुम्न जाने प्रस्ताव गरिन् । वालसुलभ उमेरका मानिसलाई काठमाडौं घुम्न पाउनु कम खुशीको विषय थिएन । त्यसैले सपना रमाउँदै नाइट बस चढेर सोमबार बिहान आमासँगै काठमाडौं आइपुगिन् ।

तर, आमाको योजना बेग्लै रहेछ, काठमाडौंमा आइपुगेपछि आमाले उनलाई झुक्याएर एउटा गाडी चढाइदिइन् र यो पापी शहरमा अलप भइन् ।

झुक्किएर आमाछोरी आपसमा छुटेका पो हुन् कि भन्ने अनुमान लगाउन सकिन्थ्यो, तर ‘टुहुरी’ सपनाले थकाली भान्साघर अगाडि डाँको छाडेर रुँदै भनिन्- ‘मेरो मोबाइल पनि खोसेर लगिन्, मलाई गाडी चढाइदिएर आमा अर्कैसँग पोइल गइन् । अब म कसरी घर जाने…..।’

Sapana Khadka (2)
पीडितबारे चासो राख्दै बटुवा

सपनाले रुँदै रुँदै सुनाएको विवरणअनुसार उनकी आमा उनलाई झुक्याएर अर्कै पुरुषसँग हिँडेकी हुन् ।

सपनालाई बानेश्वर प्रहरीले थकाली भान्साघर अगाडिबाट उद्धार गरेर लगेको छ । सपनाले बताएअनुसार उनको मावलीघर दैलेख हो । दैलेखका नरबहादुर साही उनका मामा हुन् । पिता भने सानैमा बितिसकेकाले आमा एकल महिला हुन् ।

सपनाको निरन्तरको रोदन सुनेपछि थकाली भान्साघर अघि भेला भएका महिलाहरु भन्दै थिए, ‘कस्ती पापिनी आमा, यस्ता पनि आमा हुन्छन् ?’

भनिन्छ, आमा भनेको साक्षात भगवान हुन् । तर, कवि माधव घिमिरेले ‘पापिनी आमा’ त्यसै लेखेका होइन रहेछन् भन्ने सोमबार दिउँसो नयाँ बानेश्वरको यो दृश्यले बताइरहेको थियो ।

– तस्वीर : गोपाल महत/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment