Comments Add Comment

भूकम्पपीडित सहयोगार्थ साईप्रसको कन्सर्टमा ८ सय युरो घाटा

cyprus

वसन्त रानाभाट

स्पेन । भूकम्पपीडितहरुको सहयोगार्थ साईप्रसको लिमासोलमा सम्पन्न “सेभ नेपाल च्यारिटी म्युजिकल कन्सर्टबाट ८ सय ४५ युरो घाटा भएको छ। कन्सर्टमा बिक्री भएका टिकट लगायत अन्य सहयोगबाट गरी १६ हजार ८ सय ५५ युरो संकलन भए पनि खर्च कम गर्न नसक्दा भूकम्पपीडितलाई रकम जुट्न नसकेको हो।

आयोजक नेपाली विद्यार्थी कल्याण संघ साईप्रसले सामाजिक संजाल फेसबुकमार्फत १७ हजार ७ सय युरो खर्च भएको बिबरण सार्बजनिक गरेको छ। कलाकार चार्ज लगायत हवाई टिकट, होटल र खानामा ठुलो रकम खर्च गरेको बिबरण संघले सार्बजनिक गरेको हो । आयोजकले लेखेको छ,”हामी माफी माग्न चाहान्छौ,सोचे अनुसार रकम संकलन गर्न सकेनौ तर सक्दो कोशिस गरेका हौ।”

कलाकारको लागि मात्र १० हजार ३ सय युरो खर्च

भूकम्पपीडितको लागि भनेर कन्सर्ट आयोजना गरिएको भए पनि कलाकारहरुको लागि मात्र करिब १० हजार ३ सय युरो खर्च भएको आयोजकको बिबरणमा उल्लेख छ।

कलाकारहरुको लागि हवाई टिकट २ हजार ६ सय ५० युरो, कलाकार चार्ज ३ हजार युरो,  होटल खर्च १ हजार ९ सय ५० युरो, खानाको लागि २ हजार ५ सय ५० युरो  र कलाकारको भिसा प्रक्रियामा १ सय ५० युरो खर्च भएको आयोजकले जनाएको छ।

बिनाशकारी भूकम्पका पीडितहरुको सहयोगार्थ जुटेका कलाकारहरुको लागि चार्ज,होटल,खाना र हवाई टिकटमा बढी खर्च भए पछि, रकम जुट्न सकेन ।  हल भाडामा ३ हजार ५ सय युरो लगायत अन्य बिबिध शिर्षकमा खर्च भएको बिबरण आयोजकले सार्बजनिक गरेको छ।

कलाकारको चार्ज भन्दै ३ हजार युरो खर्च

कन्सर्ट सकिने बित्तिकै कलाकारहरुले पारिश्रमिक लिएको बारे बिबादस्पद समाचारहरु आए पनि खर्चको बिबरणमा कलाकार चार्ज ३ हजार युरो भनी छुट्टाईए पछि त्यसको पुष्टी भएको छ।

बिशेष सूचनाको आधारमा अनलाईनखबरले केही कलाकारहरुले पारिश्रमिक लिएको खबर यसअघि नै सार्बजनिक गरेको थियो। तर समाचारको खण्डन गर्दै गायक हिमाल सागरले आँफूले पारिश्रमिक नलिएको दाबी गर्दै आएका छन्।

यता राजु लामा फाउन्डेसन”नामक संस्थाबाट सांगीतिक टुरबाट उठेको रकम नेपालका भूकम्पपीडितहरुलाई सहयोग गर्दै युरोप हिडेको गायक राजु लामालाई उनकै फाउन्डेसनमा जाने गरि रकम दिएको आयोजक मध्येका समिर श्रेष्ठले यस अघि नै बताएका थिए।

सार्बजनिक रुपमा नै कलाकार चार्ज शिर्षकमा ३ हजार युरो खर्च बिबरण प्रस्तुत गरेको आयोजकले कुन कलाकारको कति चार्ज तिर्यो त्योबारे केही खुलाएको छैन। नेपाली विद्यार्थी कल्याण संघ साईप्रसले कार्यक्रमको आयोजना भूकम्प जानु भन्दा नै अगाडी तय गरेको थियो। देशमा विनाशकारी भूकम्प गएपछि ‘सेभ नेपाल च्यारिटी म्युजिकल कन्सर्टको” नामले कार्यक्रम परिमार्जित गरिएको हो ।

भूकम्पपीडितको नाम तर शुन्य काम

बिदेशमा रहेका नेपालीहरुले भूकम्प पिडित सहयोगार्थ भन्दै थुप्रै कार्यक्रमहरु गर्दै आएका छन्। तर कार्यक्रमहरुमा रकम धेरै संकलन भए पनि खर्च बढी हुँदा बचत भने शून्य जस्तै देखिएको छ। कतिपय मुलुकहरुमा बचत भएको रकम पनि समयमा नै बास्तबिक भूकम्प पिडितहरु समक्ष पुग्न सकिरहेको छैन।

साईप्रसको लिमासोलमा सम्पन्न कन्सर्टमा ख्याती प्राप्त कलाकारहरु महानायक राजेश हमाल, गायक राजु लामा, हिमाल सागर, तुलसी शिवाकोटी लगायतको सहभागितासँगै साँगितिक रुपका कार्यक्रम भब्य रुपमा सफल भयो। तर तिनै कलाकारहरुको लागि करिब ११ लाख ५० हजार रुपैयाँ भन्दा बढी रकम खर्च हुँदा भूकम्पपीडितलाई भने एक रुपैयाँ रकम जुटेन।

पीडितका लागि भनेर नाम जोडिएका कार्यक्रमहरु मनोरन्जनात्मक रुपमा मात्र सफल हुनु उपलब्धि होईन, दुखेको घाउँमा मल्लाह लगाउनका लागि बचतमा पनि ध्यान दिन नसक्नु आयोजकको कमजोरी हो।

भूकम्पसँग नाम जोडेर हुने यस्ता कार्यक्रमहरुबाट सहयोग नजुट्नु कलाकारहरुको आफ्नो प्रतिष्ठासँग जोडिएको बिषय हुने हुँदा कार्यक्रम छनोटमा ध्यान दिनु पर्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment