Comments Add Comment

अमेरिकाबाट अघाउनेहरु भन्छन् : त्यहाँ धनको सुख छ, मनको सुख छैन

विजय ‘आवाज’

एउटा औसत नेपालीका लागि सपनाको भूमि हो अमेरिका । आमजनता होइन, समाजका विभिन्न क्षेत्रमा विशिष्ट स्थान बनाइसकेकाहरुमा समेत अमेरिका मोह उत्तिकै छ ।

यो सन्दर्भ चाहिँ सेलिब्रिटीहरुको हो । सांस्कृतिक कार्यक्रमका लागि अमेरिका छिर्ने र उतै बेपत्ता हुने सिलसिला रोकिएको छैन । तर, पछिल्लो समय अमेरिकाबाट अघाएर स्वदेश फर्किने सेलिब्रेटीहरुको पंति पनि लामै बनेको छ । हामीले उनीहरुमार्फत खोजीनिति गरेका छौं, अमेरिकामा के छ र अमेरिकामा के छैन ?

Saroj, Gauri, Karisma_650

डेढ दशक अमेरिका बसेर मन भरिएपछि नेपाल फर्केका छन् पुराना नायक सरोज खनाल । उनी यूएसएलाई ‘यू स्टार्ट अगेन’ भन्न रुचाउँछन् । नेपालमा फिल्म खेलेर प्रशस्त नाम कमाएका उनले अमेरिकामा श्रम गरेर प्रशस्त दाम पनि कमाए । त्यसपछि आयो माटोको याद ।

केही समयअघि ‘सदाका लागि’ भन्दै स्वदेश फर्किएका सरोज भन्छन्, ‘जुन स्टाटसमा अमेरिका पुगे पनि त्यहाँ शुन्य स्थानबाट नै सुरु गर्नुपर्छ । मैले पनि त्यही गरेको हुँ ।’ अमेरिकालाई अवसरको खानी भन्दै उनले सुरुमा संघर्ष गर्दा भने गाह्रो हुने अनुभव सुनाए ।

अमेरिका बस्न पुगेका प्राय सेलिबि्रटीहरु सुरुमा भारतीय नागरिकले खोलेको रेष्टुरेन्ट, सपिङ सेन्टरमा काम गर्छन् । सरोजले पनि सुरुवातका २-४ बर्ष यसैगरी संघर्ष गरे । त्यहाँ सेटल भइसके पनि समय निकालेर कलाकारिता पनि सुरु गरेका थिए । सरोजलाई लाग्छ, अमेरिकामा मौकै मौका छ, तर आफूले चौका हान्न सक्नुपर्छ ।

‘नेपालमा दुख गर्नेहरु दुखै मात्र गरिरहन्छन्, मोजमस्ती गर्नेहरु मोजमस्तीमै रमाइरहन्छन् । तर, अमेरिकामा यस्तो छैन । दुख गर्नेले फल अवश्य पाउँछन् त्यहाँ,’ उनले सुनाए ।

भौतिक सुख भरपुर प्राप्त भए पनि मनको सुख भने त्यहाँ नमिल्ने सरोजको कथन छ । ‘छेउछाउमै बस्नेहरु पनि एकले अर्कालाई चिन्दैनन्,’ उनले भने । तर, अहिले नेपालीहरुको संख्या बढिरहेकाले अलि सहज भएको उनको धारणा छ ।
सरोज अब बर्षमा एकपटक आफ्नै संस्था युनाइटेड नेपालको तर्फबाट आयोजना हुने कार्यक्रममा सहभागी हुन अमेरिका पुग्नेछन् । नेपालमा बसे पनि अमेरिकालाई चटक्कै माया मार्न नसक्ने उनी बताउँछन् ।

गौरी पनि फर्किइन्

नायिका गौरी मल्ल पनि लामो अमेरिका बसाईपछि स्वदेश फर्केकी छिन् । अमेरिका जानुअघि उनी जापानमा बसेकी थिइन् । उनी अमेरिकालाई एउटा विद्यालय मान्छिन् । ‘अमेरिका एउटा विद्यालय हो भने त्यहाँ बस्ने प्रत्येक मानिस विद्यार्थी हुन् ।’

Gauri Malla

गौरी अमेरिकाको न्यूयोर्कमा बस्थिन् । त्यहाँका नेपालीले आफूलाई कलाकार भनेर सम्मान दिने गरेको उनले सुनाइन् । अमेरिका पुगेपछि हरेक मानिसले शुन्यबाट सुरु गर्नुपर्छ भन्ने अनुभव उनको पनि छ ।

‘तपाई कुन उद्देश्य र केका लागि अमेरिका जानु हुन्छ, त्यो देश त्यस्तै छ । पढ्ने विद्यार्थीका लागि अमेरिका पढाइमा राम्रो होला, काम गर्नेका लागि मात्र अवसरमा राम्रो होला । कसैलाई यो स्वणिर्म शहर लाग्ला त कसैलाई स्वार्थीहरुको भिड जस्तो पनि लाग्ला । जसरी नेपाल आउँदा कति मानिस यसको सौन्दर्य र सम्पदामा मोहित हुन्छन् त कति फोहोरी भनेर घिनाउँछन् ।’

आफू पैसाको पछाडि कहिले पनि नदौडिएको भन्दै गौरीले जापान र अमेरिकामा बस्दा आफूलाई अध्यात्ममा ढालेको बताइन् । सरोज खनालको भनाइ विपरीत गौरीले नेपालमा नेपालमा भन्दा अमेरिकामा आफ्नोपन पाएको अनुभव सुनाइन् ।

‘अमेरिकामा कसैले कसैको खुट्टा तान्दैनन् । तपाई कुनै काम गर्न चाहनुहुन्छ भने ढुक्कले गर्न सक्नुहुन्छ,’ उनले भनिन् ।

रमेश उप्रेतीको बेग्लै अनुभव

अमेरिकाबाटै फर्किएका नायक रमेश उप्रेती त्यता हराउने कलाकारलाई पलायन भएको भन्न नमिल्ने बताउँछन् । ‘पलायन हुनुको अर्थ कहिले कतै नदेखिने गरी हराउनु हो,’ उनले भने, ‘हामी त्यसरी गुमनाम भएका थिएनौं ।’ आफू कहिले अमेरिका त कहिले नेपालमा आएर कलाकारिता गरिरहेको भन्दै उनले जाने र फर्किने सिलसिलालाई स्वभाविक रुपमा लिनुपर्ने धारणा राखे ।

कुनै समय चर्चित नायकमा गनिने रमेश लामो अन्तरालपछि अहिले फेरि चलचित्रमा काम गरिरहेका छन् । उनले आफ्नै लगानीमा चलचित्र निर्माण गर्ने बताए पनि निर्मल शर्माको निर्देशनमा ‘ब्रासलेट’मा काम गरे । रमेश अझै पनि दीर्घकालीन बसाइ अमेरिकालाई बनाउने कि नेपाललाई भन्ने दोधारमै छन् । आफूले बनाउने चलचित्रको व्यापारले यसको निर्धारण गर्ने उनको तर्क छ ।

करिष्माको फेरिएको दिनचर्या

नायिका करिश्मा पनि केही समय अमेरिका बसाईपछि नेपाल फर्केकी हुन् । आफूले निर्माण गरेको बाबुसाहेब फ्लप भएको झोकमा अमेरिका हानिएकी उनी केही वर्षअघि नेपाल फर्केकी हुन् ।

Karishma-and-Komal-Oli-at-Karthali

तर अमेरिका जाँदा उनको करिअर जून उचाईंमा थियो फर्किंदा त्यो रहेन । उनी नेपाल फर्किंदा नयाँ पुस्ताका नायिकाहरुले उनको ठाउँ कब्जा गरिसकेका थिए । अहिले एक ‘सम्मानित नायिका’ का रुपमा उनी विभिन्न कार्यक्रमहरु सहभागी हुन पुग्छिन् ।

राजाराम पुरानै पेशामा

हास्य कलाकार राजाराम पौडेल अमेरिकाबाट फर्किएर पुरानै विधामा फर्केका छन् । उनले नेपाल फर्केपछि हाँस्य टेलिसिरियल जिरे खुर्सानीमा अभिनय गर्न थालेका थियो । हाल यो सिरियल बन्द छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment