Comments Add Comment

वाईसीएल कब्जा गर्न आएको भन्थे, गलत सावित गरें : देवकोटा

Suman-Devkota-bidai-prgm-ma

  • विदाइ कार्यक्रममा सुमन देवकोटा लगायत । तस्वीर उमेश पुन/अनलाइनखबर

सन्देश श्रेष्ठ

२१ असार, पोखरा । ‘चार वर्षअघि राजनीतिक नियुक्ती पाउँदा मान्छेहरु योङ कम्युनिष्ट लिग (वाईसीएल)का नेताहरु कब्जा गर्न आएका हुन् भन्ने सम्झन्थे, मान्छेहरु कुरा काट्थे, यिनीहरुले के गर्लान् र ?’ जिल्ला खेलकुद विकास समिति कास्कीका निवर्तमान अध्यक्ष सुमन देवकोटाले आफ्नो कार्यकाल शुरु हुँदा ताकाको स्मरण गर्दै भने, ‘तर मैले गलत सावित गरिदिएँ ।’
जिल्ला खेलकुद विकास समिति कास्कीले सोमबार पोखरामा आयोजना गरेको विदाइ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

यही असार ८ गते कार्यकाल पूरा गरेका देवकोटाको सोमबार विदाइ कार्यक्रम आयोजना गरिएको थियो ।

जिल्ला खेलकुद विकास समितिको नेतृत्व उनले त्यतिबेला सम्हाले जतिबेला वाईसीएलको जगजगी थियो । मानिसहरु वाईसीएललाई एकीकृत नेकपा माओवादीको लालसेनाको वैकल्पिक लडाकू फोर्स सम्झन्थे । हुन पनि हो वाईसीएल त्यतिबेला कुटपीट र केही कब्जा गर्नुपर्‍यो भने अगाडि सर्थ्यो । माउ पार्टी एकीकृत नेकपा माओवादीले पनि वाईसीएललाई त्यहि रुपमै प्रयोग गर्‍यो । त्यतिवेला वाईसीएलका नेता थिए दीपक कोइराला ‘रुपक’ जो अहिले क्रिकेट एशोसियसन अफ नेपाल क्यानका कार्यवाहक अध्यक्ष छन् भने अर्का चर्चित वाईसीएल नेता थिए सुमन देवकोटा ।

तिनै देवकोटा जिल्ला खेलकुद विकास समितिमा अध्यक्ष भएर आएपछि धेरैले वाईसीएल खेलकुद क्षेत्र कब्जा गर्न आएको सम्झने गरेको उनले सम्झिए । तर उनले आम मान्छेको धारणा अहिले बदल्न सफल भएको भन्दै खुसी व्यक्त गरे ।

विदाइ कार्यक्रममा उनले आफ्नो कार्यकालको मूल्यांकन समग्र पोखरेली र खेलप्रेमीले गरेको भन्दै भने, ‘मैले खेलकुदको वातावरण र पूर्वाधार निर्माणमा छलाङ नै मारें ।’

अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय कभर्ड हल र अन्नपूर्ण आर्चरी टे्रनिङ सेन्टर निर्माणलाई उनले आफ्नो सफलताको प्रमाणको रुपमा प्रस्तुत गरे । आफ्नो ४ वर्षे कार्यकालमा १७ करोड रुपैयाँ बराबरको भौतिक संरचना निर्माण गरेको बताए ।

उनले भने, ‘यो मेरा लागि मात्र नभइ, कास्की, पश्चिमाञ्चल र समग्र नेपाली खेल जगतकै लागि गर्व गर्न लायक काम हुन् ।’

देवकोटाले आफू सफल हुनुमा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइराला र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाको महत्वपूर्ण योगदान रहेको बताए ।

त्यस्तै उनले फरक बिचार र उद्देश्य बोकेको पार्टीमा रहेर पनि जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश वरालसहितको कर्मचारी टिमले पूर्वाग्रह नराखी सघाएको भन्दै प्रशंसा गरे । आफ्नो कार्यकाल सफल पार्न सघाएको भन्दै उनले धन्यवाद दिए ।

नखाएको विष लागेन

आफ्नो कार्यकालमा विरोधीहरुले अख्तियारसम्म लाएको भन्दै उनले नखाएको विष नलागेजस्तै आफूहरुले सफाइ पाएको उनले स्मरण गरे र भने, ‘केही विरोधीले पूर्वाग्रह राखेर अख्तियार लगाए पनि उनीहरु सफल हुन पाएनन्, किनकी मैले यहाँ सिष्टम बसाएको थिएँ र कुनै गलत पनि गरेको थिईनँ ।’

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले देवकोटाको मेहेनत, सिष्टम र काम गर्ने शैलीले आफूलाई प्रभावित बनाएको भन्दै प्रशंसा गरे । उनले दुःख दिने उद्देश्यले केही गलत मनसाय राख्नेहरुले अख्तियार लगाएको भन्दै दुःख व्यक्त गरे ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले देवकोटा आउँदा आम कस्केलीलाई जस्तै आफूलाई पनि वाईसिएल नेताले के गर्लान् र ? भन्ने लागेको भएपनि अहिले देवकोटाको कामले आफूलाई धारणा बदल्न बाध्य बनाएको बताए । देवकोटाको काम देखेपछि अबदेखि युवालाई नै नेतृत्व दिनुपर्ने पक्षमा आफू उभिएको उनले बताए ।

कार्यक्रममा कार्यालय प्रमुख बरालले दोषल्ला ओढाएका थिए भने अन्य अतिथिहरुले खादा, माला र अविर लगाइदिएर देवकोटाको विदाइ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment