Comments Add Comment

कांग्रेसमा धनराज मात्रै धर्म निरपेक्षताको पक्षमा !

२१ असार, काठमाडौं । नेपाली कांग्रेसमा धर्म निरपेक्षताको पक्षमा उभिने युवा नेता धनराज गुरुङमात्रै एक्लो वृहस्पति ठहरिएका छन् । कांग्रेसका शीर्ष नेताहरु सबै हिन्दु छन् भने केही सभासदहरु वौद्ध र केही किरात एवं इस्लाम धर्म मान्छन् । कांग्रेसमा गुरुङबाहेक सबै नेता एवं सभासदहरु धर्मप्रति सापेक्ष छन् ।

Congress

संविधानसभामा रहेको रेकर्डअनुसार प्रधानमन्त्री सुशील कोइराला हिन्दु हुन् । त्यस्तै पदाधिकारीमा रहेका शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का र चित्रलेखा यादव पनि हिन्दु नै हुन् । उनीहरु धर्मप्रति निरपेक्ष नभई सापेक्ष छन् ।

सरकारमा रहेर संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेका मन्त्री नरहरी आचार्य, डा. मीनेन्द्र रिजाल, डा. रामशरण महत पनि धर्म निरपेक्षतावादी नभएर हिन्दु नै हुन् । कानूनविद राधेश्याम अधिकारीदेखि युवा नेता गगन थापाले समेत रेकर्डमा हिन्दु लेखाएका छन् ।

कांग्रेसका केबी गुरुङदेखि केशव बूढाथोकी, शेखर कोइराला, सशांक कोइराला, नारायण खड्का र प्रदीप गिरीसम्म सबै नेताहरु हिन्दु हुन् । संविधानका मस्यौदाकार सिटौला त सामान्य हिन्दु आस्थावानमात्रै नभई बेलाबखत भारतमा तीर्थ गर्ने र मठ मन्दिरमा आशिर्वाद नै थाप्न जाने नेता हुन् ।

Dhanraj Gurung
धनराज गुरूङ

सभासदहरुको रेकर्डमा आफूलाई धर्म निरपेक्ष बताउने एकजना मात्रै भेटिएका छन्, उनी हुन् युवा नेता धनराज गुरुङ । धनराजले आफ्नो धर्म मा ‘निरपेक्ष’ लेखेका छन् ।

कांग्रेस सूत्रहरुका अनुसार नेपाली कांग्रेसमा वीपी कोइराला एकमात्र त्यस्ता नेता थिए, जो भौतिकवादी एवं धर्मप्रति निरपेक्ष थिए । अहिले वीपीको बिँडो धनराजले मात्रै थामेका छन् ।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ किरात धर्मावलम्वी हुन् । उपसभामुख ओनसरी घर्तीले चाँहि धर्मको सूचीमा ‘नमान्ने’ लेखेकी छिन् ।

मधेसवादी जम्मै हिन्दु, जनजाति पनि धर्मसापेक्ष

धर्म निरपेक्षताको वकालत गर्दै आएका मधेसवादी नेताहरु पनि जम्मै हिन्दु छन् । कम्युनिष्ट पृष्ठभूमिबाट आएका उपेन्द्र यादवले पनि सभासदको सूचीमा आफूलाई ‘हिन्दु’ पहिचान दिएका छन् ।

धर्म निरपेक्षताको जति चर्को वकालत गरे पनि विजय गच्छदार, हृदयेश त्रिपाठी, राजेन्द्र महतो, महन्थ ठाकुर, अनिल झा, लक्ष्मणलाल कर्ण सबैले आफ्नो वायोडाटामा हिन्दु लेखेका छन् ।

त्यस्तै धर्म निरपेक्षताको वकालत गर्ने आदिवासी जनजाति नेताहरुले पनि आफूलाई धर्मबाट निरपेक्ष राख्न सकेका छैनन् । थरुहट नेतृ रुक्मिणी चौधरीले पनि आफूलाई हिन्दु भनेकी छिन् ।

30-dal-pradarsan-17

धर्म निरपेक्षताको वकालत गर्ने सभासद एकराज ढकालले धर्ममा ‘युनिफिकेसन फेथ’ उल्लेख गरेका छन् । यसबाट उनी पनि धर्मप्रति सापेक्ष छन् भन्ने देखाएको छ ।

अघिल्लो संविधानसभामा वैद्य माओवादीका नेता सीपी गजुरेलले समेत आफूलाई ‘हिन्दु’ उल्लेख गरेका थिए । माले नेता सीपी मैनालीले धर्ममा ‘हिन्दु संस्कृति’ लेखेका छन् ।

एमालेमा छासमिस

एमालेमा भने नेपाली कांग्रेसमा जस्तो हिन्दुवादीको बाहुल्य छैन । संविधानसभाको रेकर्डमा एमाले नेता माधव नेपालको धर्म ‘निरपेक्ष’ उल्लेख गरिएको छ । त्यस्तै झलनाथ खनालले पनि धर्म निरपेक्ष लेखेका छन् । सुरेन्द्र पाण्डे, भीम आचार्य लगायतका नेताले पनि धर्म ‘निरपेक्ष’ लेखेका छन् ।

UML

तर, एमाले उपमहासचिव विष्णु पौडेलको रेकर्डमा हिन्दु लेखिएको छ । भीम रावलले पनि हिन्दु लेखेका छन् । एमाले सभासद अग्नि खरेल, मन्त्री लालबाबु पण्डितलगायतले आफ्नो वायोडाटामा हिन्दु उल्लेख गरेका छन् ।

एमाओवादीमा प्रायः सबै भौतिकवादी

एमाओवादीका शीर्ष नेताहरुले भने आफूलाई धर्म निरपेक्षतावादी, नास्तिक एवं धर्म नमान्ने जस्ता पदावलीले सम्बोधन गरेका छन् । प्रचण्ड, बाबुराम, कृष्णबहादुर महरालगायतले धर्म निरपेक्ष लेखेका छन् ।

अधिकांश नेताहरुको धर्मप्रतिको लगाव हेर्दा उनीहरु प्राय: सबै धर्मप्रति सापेक्ष देखिन्छन् । यी धर्म सापेक्ष नेताहरुले देशलाई चाहिँ धर्म निरपेक्ष हुने घोषणा गरेका छन् ।

शायद यही भएर हुनुपर्छ कांग्रेस नेताहरु एकएक गर्दै धर्म निरपेक्षताको विरोधमा उत्रन थालिसकेका छन् । यो क्रम बढ्दै गएमा कांग्रेस नेताहरु खुमबहादुर खडकाको कित्तामा पुग्ने अनुमान धेरैले लगाउन थालेका छन् ।

उता मधेसवादी दलका सबै नेताहरु कांग्रेसजस्तै हिन्दुवादी एवं धर्मप्रति सापेक्ष रहेकाले कुनै पनि बेला संविधानको मस्यौदाबाट धर्म निरपेक्षता हट्न सक्ने सम्भावना बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment