Comments Add Comment

मुरारका अध्यक्ष बनेपछि अर्घाखाँचीमा चिन्ता

२२ असार, काठमाडौं । उद्योग वाणिज्य संघको अध्यक्षमा पशुपति मुरारका सर्वसम्मत निर्वाचित भएपछि अर्घाखाँचीको सन्धीखर्कमा एकप्रकारको त्रास पैदा भएको छ । स्थानीय जनताले बन्द गराएको ढुंगाखानी अब मुरारकाले सशस्त्र प्रहरीको सहायतामा खोल्न सक्ने भन्दै त्यहाँका जनता त्रसित बनेका हुन् ।

पशुपति मुरारका
पशुपति मुरारका

रुपन्देहीको मैनहियामा मुरारकाको सिमेेन्ट उद्योग छ । सो उद्योगका लागि मुरारकाले ०६० सालदेखि अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नं ७ र ८ मा पर्ने नरपानी गाउँबाट कच्चा पदार्थ ल्याउने गरेका थिए । तर, ०६८ सालदेखि स्थानीयवासीले मुरारकालाई कच्चा पदार्थ ओसार्न दिएका छैनन् ।

नरपानीको पहाड खोतलेपछि खानेपानीको मुहान सुकेको भन्दै त्यहाँका स्थानीयवासीले उक्त चुनढुंगा खानी बन्द गराएका हुन् ।

अघिल्लो साता मुरारका वाणिज्य संघको अध्यक्ष बन्नका लागि जोडबल गरिरहेका थिए, त्यतिबेला स्थानीयवासीले ढुंगाखानी रहेको स्थानमा ५ हजार वृक्षारोपण गरेका छन् ।

वामदेवको साथ

यसैवीच स्थानीयवासीले आफूहरुले पाउनुपर्ने पर्यावरणको हकअनुसार ढुंगाखानी बन्द गर्नुपर्ने भन्दै आन्दोलन गरेपछि वामदेव गौतमको निर्देशनमा त्यहाँ सशस्त्र प्रहरी पठाइएको स्थानीयले अनलाइनखबरसँग गुनासो गरे ।

तर, भविश्यमा मानिस पक्रन र गोली हान्न सक्ने अधिकार पाउनै लागेको सशस्त्र प्रहरी मुरारकाको ढुंगाखानी खोल्न नसकी फर्केको छ ।

‘डन’ लाई ठेक्का

Cement-Khani-Arghanchi

स्थानीयवासीसँग कसै गरे पनि ढुंगाखानी खोल्न नसकेपछि युवा संघका डन भनेर चिनिने बुटवलका राजु गुरुङलाई मुरारकाले कच्चा पदार्थ ओसार्ने ठेक्का दिएका छन् । गुरुङ एमालेमा दिलु पन्त पक्षका मानिन्छन् ।

डनमार्फत् स्थानीयवासीलाई थर्काएर ढुंगाखानी खोल्ने र गृहमन्त्री वामदेव गौतमको सहायतामा सशस्त्र प्रहरी परिचालन गर्ने मुरारकाको योजना अहिलेसम्म सफल हुन सकेको छैन ।

तर, ढुंगाखानी रहेको क्षेत्र अर्घाखाँची क्षेत्र नं २ का एमाले सभासद दुमन थापा भने स्थानीयवासीको पर्यावरणीय अधिकारको पक्षमा छन् । चुनावका बेला थापाले त्यहाँका खानी पीडित जनतासँग पर्यावरण जोगाउन भूमिका खेल्ने भन्दै मत मागेका थिए ।

त्यसो त मुरारकाले एमाओवादी नेता टोपबहादुर रायमाझीलाई पनि साथमा लिएर ढुंगाखानी खुलाउन प्रयास गरेका थिए । तर सफल नभएको स्थानीयवासी बताउँछन् ।

ठूलो लगानी डुब्ने चिन्ता

अर्घाखाँची सिमेन्टमा नेपालका मुरारका ग्रुप, सिद्धार्थ ग्रुप र केडिया ग्रुपको लगानी छ । भारतको उमा सिमेन्ट इन्टरनेशनलले पनि यसमा १७.७ प्रतिशत लगानी गरेको छ ।

Arghakhanchi-Cement-Industry

  • अर्घाखाँची सिमेन्ट उद्योग

यो उद्योगमा ३ अर्बको लगानी छ । भैरहवामा उद्योगले २५ विघा जमिन ओगटेको छ ।

दैनिक १२ सय टन सिमेन्ट उत्पादन गर्ने र पछि २४ सय टन क्षमता पुर्‍याउने लक्ष्य राखेर यो उद्योग स्थापना गरिएको हो ।

अर्घाखाँचीबाट ४ वर्षदेखि कच्चा पदार्थ ल्याउन नपाएपछि मुरारकाले पाल्पातिरबाट कच्चा पदार्थ ओसारेर सिमेन्ट उत्पादन गर्दै आएका छन् । यद्यपि उत्पादित सिमेन्टको ब्राण्ड ‘अर्घाखाँची सिमेन्ट’ नै राखिएको छ । पाल्पाको खानी अर्कैको स्वामित्वमा छ । अर्घाखाँचीको चुनढुंगा खानीका लागि मुरारकाले खानी विभागसँग ३० वर्षको सम्झौता गरेका छन् ।

खानी विभागले आफ्नो गाउँको भविश्यबारे उद्योगपतिसँग सम्झौता गर्दा स्थानीयवासीलाई नसोधेको र स्थानीयको अधिकारमाथि खेलवाड गरिएको नरपानीका बासिन्दाको गुनासो छ । उनीहरु अब कुनै पनि सम्झौता नगर्ने र आफ्नो गाउँको पर्यावरण पहिलेकै जस्तो बनाउने अडानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment