Comments Add Comment

निःशुल्क भिसाको विरोधमा म्यानपावर बन्द

२३ असार, काठमाडौं । विभिन्न सात मुलुकमा सून्य लागतको ब्यवस्था लागू गरेको विरोधमा वैदेशिक रोजगार ब्यवसायीहरुले बुधवारदेखि ब्यवसाय ठप्प पारेका छन् ।

सरकारले मंगलवारदेखि मलेसियासहित विभिन्न सात मुलुकमा भिसा र टिकट निःशुल्क गरेपछि वैदेशिक रोजगार ब्यवसायीहरु आन्दोलिन भएका हुन् । सरकारको निःशुल्क भिसा र टिकटको ब्यवस्थालाई कार्यान्वयन गर्न नदिन सवै म्यानपावर ब्यवसायीहरु एक भएर आन्दोलित भएका हुन् ।

विभिन्न राजनीतिक दलको भातृ संगठनको रुपमा छुट्टाछुट्टै क्रियाशील ब्यवसायीहरु निःशुल्क भिसा र टिकटको विरोधमा भने एकजुट भएका छन् ।

ब्यवसायीहरुले बुधवार ताहाचलस्थित श्रम कार्यालय घेराउ गरेका छन् । ‘हामी शान्तिपूर्ण रुपमा नै आन्दोलनमा छौं’, वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष विमल ढकालले भने, ‘शान्तिपूर्ण रुपमा गरिएको आन्दोलन सुनुवाई नभए थप सशक्त आन्दोलन चर्काउँछौं ।’ उनले आजबाट अनिश्चितकालका लागि देशैभरका सबै म्यानपावर ब्यवसाय ठप्प पारिएको बताए ।

सरकारको निर्णय असफल पार्न सबै ब्यवसाय ठप्प पारी दबाबमुलक कार्यक्रम सञ्चालन गरेका उनीहरुले श्रम स्वीकृति बहिष्कार गर्ने, वैदेशिक रोजगारीमा जाने कामदारको अन्तर्वार्ता बन्द गर्ने जनाएका छन् ।

वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष विमल ढकालको संयोजकत्वमा गठन गरिएको संघर्ष समितिमा कांग्रेस निकट लोकतान्त्रिक फोरमका अध्यक्ष प्रज्ञान न्यौपाने, एमालेको प्रगतिशील मञ्चका अध्यक्ष नरेश गेलाल, सरोज पोखरेल, गणतान्त्रिक मञ्चका अध्यक्ष रामप्रसाद भान्तना र तमु धिंका अध्यक्ष शमशेरबहादुर गुरुङ तथा स्वतन्त्र ब्यवसायी किरणकिशोर घिमिरेलगायत सहसंयोजक छन् ।

संघका पूर्व अध्यक्षहरु तथा पूर्व सल्लाहकारहरुलाई संघर्ष समितिको सल्लाहकार तोकिएको छ । ब्यवसायीहरुले मंगलवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी लगायतका नेतालाई साक्षी राखेर आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए । केसीले भने आफू अरु नै कार्यक्रममा आएकाले आन्दोलनको साक्षी नबस्ने बताएका थिए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मंगलबार ब्यवसायीहरुको आकस्मिक ब्यवसायीहरुको भेला बोलाएका थिए । उक्त भेलाले वैदेशिक रोजगार ब्यवसाय सम्बन्धी कुनै पनि काम नगर्ने निर्णय गरेका हुुुुन् । देशभर ७ सय ५८ वटा वैदेशिक रोजगार कम्पनी सञ्चालनमा छ ।

वैदेशिक रोजगार ब्यसायीहरुले काम ठप्प पारेपछि वैदेशिक रोजगारमा जान तयार भएकाहरुको सेवा प्रभावित भएको छ । विदेश जाने तयारीमा वैदेशिक रोजगारको प्रक्रियामा रहेकाहरु सरकारको निर्णयले अन्यौलमा परेका छन् ।

श्रम तथा रोजगार मन्त्रालयले मंगलवारदेखि संयुक्त अरब इमिरेट्स (यूएई), कतार, बहराइन, साउदी अरब, ओमन, कुबेत र मलेसियामा निःशुल्क भिसा र टिकट निर्णय कार्यान्वनयमा ल्याएको छ । मन्त्रालयले मंगलवारदेखि नै निःशुल्क भिसा र टिकट बाहेक श्रम स्वीकृति नदिने जनाएको छ ।

ब्यवसायीहरुले भने सरकारले विना तयारी यस्तो निर्णय गरेकाले ३० लाख कामदारहरु विदेशबाट फर्किने अवस्था आउने तर्क गर्दै आएका छन् । नेपाल सरकारको यो निर्णयसँगै मलेसियाले बंगलादेशको कामदार लिने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment