Comments Add Comment

पुनःजीवनको पर्खाइमा नगरकोटका होटल

२३ असार, नगरकोट । स्थानीय होटल चौतारी ‘प्याराडाइज्ड’ को भत्किएको भवन अहिले पुनःनिर्माण भइरहेको छ । होटलको तीन तलाको पुरानो मुख्य भवन विनाशकारी भूकम्पबाट पूर्णः क्षति भएको थियो । नयाँ भवन तयार गरी सो होटल सञ्चालनमा आउन अझै केही महिना लाग्ने देखिएको छ ।

‘कुल ४५ कोठा रहेको भवन र रेस्टुरेन्टमै क्षति भएपछि हालसम्म होटल बन्द गरेका छौँ । कहिलेदेखि सञ्चालनमा आउँछ भनेर अहिले भन्न सकिँन्न’ होटलका लेखा अधिकृत गीतराज खड्काले भने- ‘भूकम्पका कारण यहाँका अधिकांश होटलको यस्तै हालत छ ।’

nagarkot

बन्द रहेका होटलका प्रायःकर्मचारीलाई बिदा दिइएको छ । शनिबार वा बिदामा दिनमा भने पर्यटकको चहलपहल बढी हुने गरेको छ । सञ्चालनमा रहेका होटलले ग्राहकलाई आकर्षण दिन होटलले मूल्यमा छुट तथा सुविधा वृद्धिमा ध्यान दिन थालेका छन् ।

सवारी साधन सुविधाका साथै र स्थानीय गाउँमा हाइकिङ, ट्रेकिङ तथा दृष्यावलोकनका सुविधा पनि थपेका छन् । त्यो नाफाका लागिभन्दा पनि ग्राहक विस्तारका लागि हो भन्ने देखिन्छ ।

काठमाडौँ, भक्तपुर र काभ्रेपलाञ्चोक तीनै जिल्लाको सिमानामा पर्ने यस पर्यटकीय क्षेत्रमा पूर्णतः ध्वस्त नभएका होटलमा पनि मर्मत कार्य भइरहेको छ भने ध्वस्त हुनबाट बचेर सञ्चालनमा आएका होटलमा पनि पर्याप्त पाहुना छैनन् ।

सहरबाट नजिक, एकान्त उचित वातावरणीय मानिने नगरकोट क्षेत्रमा वनभोज र सूर्याेदय र अस्तको दृष्य अवलोकनका लागि पनि आन्तरिक र बाह्य पर्यटक आउने गर्दछन् । ठूला र साना गरी ४५ होटल रहेका यहाँ प्रतिदिन ६०० सम्म आवासीय क्षमता रहेको ट ।

काठमाडौँको केन्द्रबाट २५ माइल पूर्वी दिशामा पर्ने र काठमाडौँ उपत्यकाको दोस्रो अग्लो पहाडमा रहेको नगरकोट समुद्री सतहबाट छ हजार ८०० फिटमा रहेको छ । यहाँ सर्वाेच्च शिखर सगरमाथा र हिमालका दृष्यावलोकनका लागि भ्यु टावर (अब्जरभेसन केन्द्र) पनि सञ्चालित छ ।

विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरको नजिक रहेका नगरकोटमा कुनैबेला ‘समर भ्याकेसन’ मा राजपरिवारका सदस्य र धनाढ्य व्यक्तिको रिट्रिट हुने गर्दथ्यो ।

‘होटल स्पेस माउन्टेन’का लक्ष्मण खड्का पनि आफ्नो होटलको मात्र नभई यहाँका अधिकांश होटलमा क्षति पुगेकाले व्यवसायमा प्रतिकूल असर परेको बताउँछन् । व्यवसायीका अनुसार गत वर्षको यही अवधिमा यहाँका सबैजसो होटलमा ७० प्रतिशतसम्म भरिभराउ हुन्थ्ये ।

भूकम्पबाट जोगिएको ५१ कर्मचारी कार्यरत ‘होटल कन्ट्री भिल्ला’ चाहीँ भूकम्पपछिको दुई सातापछि सञ्चालनमा आयो । केही स्वदेशीबाहेक विदेशी पाहुना नभएकाले सो होटलका व्यवस्थापक कृष्ण कटुवालले राससलाई बताए । पहिलो दुई साता आफ्ना विदेशी साझेदारसहित स्थानीय पीडितको उद्धार र राहतका काममा होटलमा सञ्चालक र कर्मचारी पनि खटेका थिए ।

व्यवस्थापक कटुवालले पर्यटक वा ग्राहकलाई १५ देखि २० प्रतिशतसम्म छुट र सुविधा वृद्धि गरी आकर्षण थपिएको जानकारी दिए । क्षमतावान ग्राहकले छुटभन्दा पनि सुविधा खोज्ने भएकाले आफूहरुले रु पाँच हजार ५०० मा दुई जनासम्मको एक रात बसाइँ, बेलुकीको खाना (डिनर) र बिहानको नास्ता ९ब्रेकफाष्ट० दिने गरेकामा हाल दिवा खाना (लन्च) पनि दिइएको बताए ।

सो होटलले हाइकिङका लागि स्थानीय नाल्दुङ, गैह्रीगाउँ, ढाडेगाउँ, कात्तिके, रानीवनजस्ता गाउँमा टे्रकिङ र हाइकिङ पनि गराउँदै आएको छ तर ती गाउँमा ‘होम-स्टे’ नभएकाले लामो यात्रामा पर्यटक निस्कँदैनन् ।

प्रकाश सिलवाल/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment