Comments Add Comment

संस्मरण : ब्रुनाईको अस्पतालमा एक घाइते गोरखाली

काङमाङ नरेश राई

२७ मे सन २००५

रातभरि मुसालधारे पानी पर्‍यो । ढलहरु पानीले भरिएर रोडभरि पानी बगिरहेको छ । अँध्यारो छ, ब्रुनाईको अनुहार । गड्याङ्गगुडुङ्गको आवाजसँगै बिजुली चम्किरहेको छ ।

साँझ हुन लागेको छ । भोलि मेरो खुट्टाको दोस्रो अप्रेसन गर्ने दिन । आज हस्पिटलमा एड्मिसन हुन पर्ने भएकाले मले (मलेसियन) ड्राईभरलाई कुरेर बसिरहेकोछु । केहीछिनको पर्खाइपछि, सरी ल कावान ओराङ्क पुत्ते (गोरालाई मले भाषामा ओराङ्ग पुत्ते भन्छन्) चकाप चकाब ब्रिफिङ्घ मी सो आई.एम. टेन मिनेट लेट । ओके कावान (कावन मले भाषामा साथी) ।

सेरियाको टुकर लाईन् स्थित २ गोर्खा राईफलको क्याम्पबाट हामी कारमा रिपास अस्पताल -व्रुनाईको सबैभन्दा ठूलो अस्पताल) तिर हुइँकिन थाल्छौं ।

काङमाङ नरेश राई
काङमाङ नरेश राई

कम्पासनेट छुट्टीमा नेपाल गएर आएको १ हप्ता मात्र भएकाले घरपरिवारको सम्झना र धङ्गधङ्गेले छाडेको छैन । मेरो हातमा आहुतीले लेखेको उपन्यास नयाँ घर छ । पढ्न आतुर छु, तर घरदेश र सुत्केरी सीमाको सम्झनाले पढ्ने मनलाई पर पर ठेलिरहन्छ ।

मन हो, सम्झनालाई भेट र बिछोड पछ्याइरहने । जीवन साथी सीमाको आवरण आइरहन्छ आखाँमा । एक हप्ताको छोरोलाई हातमा राखी, मलाई बिदाइ गरेकी थिइन् मूलढोकामा उभिएर ।

आमाले भन्नुभएको थियो, बुहारीलाई केही हुँदैन । नसुर्ताउनु, राम्रो जानु, बिदेशमा आˆनो ख्याल गर्नु । सीमाको घाउ इन्फेक्सन भएको थियो ।

कार चालक, बेलाबेलामा आर यु ओके भन्दै थम्स अप गर्छ म मुन्टो हल्लाएर ठीक छु भन्ने जवाफ दिन्छु । मलाई एक शब्द बोल्ने जाँगर छैन । मेरो मन नेपाल ओहोर दोहोर गरिरहन्छ । आफ्नो मनलाई ब्रेक लगाउन निकै गाह्रो हुन्ो रैछ । मैले अनुभब बटुल्दै थिएँ ।

हामी अस्पतालको मूल ढोका अगाडि कार पार्कमा पुग्यौं । कार चालक साथीले मले लवज मिसाएर अंग्रेजीमा भन्यो, यु न्वो कावन अप्रेशन दिर्पातमेन्ट ? मैले यस कावन भन्न साथ उसले फेरि भन्यो, यु गो स्र्तेत यु सि नि सायन वोर्ड एन फलो इम्फरमेसन । ब्रुनाईमा गोर्खाली र स्थानीय बासिन्दा बीचमा बोल्ने कक्टेल भाषा । म कारबाट झर्दा झर्दै थ्यांक यु ल कावान भन्न भ्याएँ । ऊ स्टार्ट भईरहेको कारमा चढी पार्किङ्गबाट सेरियातिर फर्कियो ।

अप्रेशन डिपार्टमेन्टमा पुगें । रिसेप्सनिष्टलाई एपोइन्टमेन लेटर देखाएँ । सेतो बुर्का, सेतो ड्रेस तिनले लगाएकी थिइन् । दिस इज योर वेड फर टुनाइट । मलाई ४ नम्वर वेड देखाइन् । बेडको साइटमा झोला राखें । मेरो हातमा नयाँ घर उपन्यास भएता पनि घरको सम्झनाले सताइ नै रहेको थियो । घरमा फोन गर्ने बिचारले मोवाइलमा पैसा चेक गरें । १० डलर बाँकी रै’छ । घरको फोन नम्बर डायल गर्दै बाहिर निस्कंे । फोन ३ रिङ्ग जाना साथ आमाले फोन उठाउनुभयो ।

सन्चो बिसन्चोका कुराहरु भए । आमाले बुहारीसँग बोल्नु भनेर सीमालाई फोन दिनुभयो । सीमासँग बोलचाल भयो । म घर छाडेर आउँदा ८ दिनको सुत्केरी थिइन् । घाउ इन्फेक्सन भएर उसलाई सताइरहेको थियो । घाउ जाती हुँदै गरेको बताइन् । बोल्दा बोल्दै फोनमा पैसा सकियो । वाई भन्न नपाई फोन टिटी गर्‍यो ।

बेडमा आएँ, केही हल्का भयो । तर, विदा माग्न नपाउँदा कता कता मनमा विस्मत बाँकी रहृयो । मनमा मन खेलिरहँदा कतिबेला थाहा नपाई निदाएँछु ।

२८ मे सन् २००५

बिहान उठें । अप्रेशन गर्नुभन्दा अगाडि १२ घण्टा केही खान पाइँदैन । किनभने एनेस्थेटिक गर्नुपर्ने भएकाले । खाएर एनेस्थेटिक गरे फेरि ब्युँझिन समस्या हुन्छ ।

हिजो ४ बजेदखि पानीबाहेक केही मुखमा नलगाएकाले भोक लागिरहेको थियो । अप्रेशन थिएटरमा नर्सहरुले लगे । एनेस्थेटिक र अप्रेशन प्रोजिजरको छोटकारीमा जानकारी दिएपछि देबे्र हातमा इन्जेक्शन लगाइदिए । पहिला पनि २ पटक एनेस्थेटिक गरेको अनुभव थियो मलाई । नसुत्ने प्रयास गर्न पर्‍यो भन्ने सोचें तर कहाँ विज्ञानको चमत्कारलाई जित्न सकिन्छ र ? जीउमा तातो हावा पसेजस्तो भएकोसम्म थाहा भयो ।

अप्रेशन सकेर रिकभर कोठामा ल्याई, नर्सले मिस्टर राई भन्दै उठाइरहेको सपना जस्तो लागिरहेको थियो ।

अप्रेशनलाई सम्झेर ल्याउँदा अहिले पनि मेरो गहभरि आँशु जम्ने गर्छ । अप्रेशन सकेर कोठामा ल्याएको केही घण्टापछि म ब्युँझिएछु । ब्युँझिदा निकै भोक लागेको थाहा पाएँ । नर्सलाई भोकाएको कुरा बताएँ । उनले खाने कुराहरु ल्याइदिइन्, त्यसपछि दबाइ । निन्द्राले झमझम बनाइ नै रहेको थियोे । मेरो छेउको बेडमा एकजना स्थानीयवासी -इभान) को पनि घुडाँको अप्रेसन भएको थियो । उसलाई हेर्न आउने आफन्तका हुलहरु धेरै थिए । उनलाई हेर्न आउँनेहरुले अंगुर, स्याउ, सुन्तलाका दानाहरु ल्याएर आइरहेका थिए । निरन्तर आउने जाने क्रम चलिरहेको थियो । उनका दाजुले अघिल्लो दिनदेखि नै रुँगिरहेका थिए । बेलुकीको समयमा उनका दाजु फेरि आए । हाम्रो देश नेपालमा जस्तै ब्रुनाईको अस्पतालमा कुरुवालाई रुङ्न दिँदो रहेछ ।

दाजुले भाईलाई सुन्तला उप्काएर दिँदै गफ गरिरहेका थिए । मलाई पनि एउटा सुन्तला एउटा स्याउ र केही अंगुरका दानाहरु दिँदै (कावन) यू ईट न ल भन्यो । थ्याक यु भने । तिनीहरुले सोचे होलान् यो बिरानो ठाउँमा यसको कोही छैन रहेछ । त्यही भएर मलाई फलफूहरु दिएका होलान् । छातीभित्र तातो भयो । नमीठो भयो मन । यो संसारमा म एक्लै जन्मिएको, यो समय र अवस्थामा पनि एक्लो छु । म जन्मिदाँ आमाको काखमा थिए तर आज आमाको काखभन्दा नितान्त धेरै टाढा छु । सबै अपरिचित ब्यक्तिहरु मात्र छन् । चिने जानेका कोहि छैनन् । घर परिवारका सदस्यहरु पनि ।

पैसा कमाउन बिदेशिएको व्यक्तिको साथमा को हुन्छ र, परिवारको गाढा सम्झाना बाहेक । त्यो साँझ धेरैको माझमा एक्लो थिएँ ।

ओछ्यानको वरिपरि पर्दा लगाई मागें नर्सलाई । त्यसपछि झन मलाई एक्लो महसुस भयो । सिलिङ्ग हेर्दै टोलाएँ । आँखाभरि जमिरहेको आँशु अड्न सकेन आँखामा । आँशुलाई थाम्न खोज्नु आत्महत्या गरेजस्तो हुँदो रैछ ।

मेरो बैंशालु जीवनमा सबैभन्दा बेसी रोएको दिन थियो २८ मे सन् २००५ । दुःखमा परिवार, आफन्त र साथीहरुको उपस्थिति नहुँदा दुःखमाथि एक्लोपनका अस्त्रहरुले हान्दो रहेछ । दुःखको एक्लो परिस्थिति कस्तो हुँदोरहेछ भन्ने मैले महशुस गरें ।

२९ मे २००५

दिउँसोको समयमा जितेन सोल्टी कारबाट मलाई लिन अस्पताल आउनुभयो, साथमा एकजोर नयाँ वैशाखीसहित । एकजना गोर्खा अफिसरलाई पनि साथमा लिएर आएका थिए । उनी अगाडिको सीटमा थिए । मेरो घुँडाको अप्रेशन भएकाले खुट्टा खुम्चाउन अति नै कठिन थियो । मेरो दुर्दशा हेरी बुझेर पनि अगाडि सिटमा बस्नु भन्ने बोली फुटाएनन् अफिसरले ।
बाटोभरि निक्कै घाउको दुखाई भोगे । मानवता नबुझेका मान्छे ठूलो पदमा पुग्यो भने, मुनिकाहरुले वा जनताले दुःख पाउँने रहेछन् जस्तो लाग्यो ।

दवाइको कारण मलाई निन्द्राले च्यापिरहेको थियो । तर, जब्बरजस्ती घुँडा खुम्च्याएकाले निदाउन सकिँन । ब्याण्डेजले घुँडा कसिएको थियो । कारबाट निस्कन निकै गाह्रो भयो । मेरो झोला सोल्टीले बोकेर कोठामा पुर्‍याइदिए । बैशाखी टेक्दै कोठामा पस्दा केही आनन्द आयो । तर, गाडीमा बसाइको असहजले मेरो मेरो घाउ टन्न सुनिएको थाहा पाएँ ।

म, सुमन भाइ र कुमार दाजु एउटा कोठामा बस्थ्यौं । सुमन भाइ निकै दयालु अनि निकै हल्ला गर्ने पनि । प्रायः कामबाट राति १२ बजेतिर आउने अनि फेरि फिल्म हेर्ने गथ्र्यो । बेलाबेलामा सुत्न कठिन पर्ने ।

म ओछ्यान लागेको समयमा उसले रामधानी (इण्डियनले गोर्खालीहरुका लागि ब्रुनाईमा चलाएको पसल ) बाट खानेकुराहरु किनेर ल्याइदिन्थ्यो । प्रकाशजीले कुक हाउसबाट भात थापेर ल्याइदिन्थे । कहिले काहिँ चाउचाउ उमालेर दिन्थे । मिजास तेम्बेजी अर्को कम्पनीमा भएता पनि फुर्सतमा मलाई खानाहरु ल्याइदिन्थे । उनीहरुसँग म सँधै क्रृणी छु । क्रृण तिर्न सक्छु या सक्दिँन ।

जुन समयमा पीडा हुन्छ, दुःख हुन्छ । मर्दाको मलामी, पर्दाको सहयोग दिन सक्नु नै मानवता रहेछ । त्यस्ता दुःखका दिनहरु कति आए-आए मेरो जीवनमा । जीवन आफ्नै रफ्तारमा आफ्नै साथमा बितेर जाने रहेछ । जीवनको एक्लो अर्थ लगाउनु महाभूल हुँदोरहेछ ।मान्छेलाई आफ्नो जीवनको अन्तिम गन्तब्यमा पुग्न डर लाग्छ, किनभने जीवनको गन्तब्य सजिएको ठाउँ हो मृत्यु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment