Comments Add Comment

‘करोडौं कस्तुरी हरिवंशको छायाँ कथा हो’

चिरञ्जीवी पौडेल

अमर न्यौपानेको तेस्रो पुस्तक करोडौं कस्तुरीको विमोचन कार्यक्रममा मंगलबार प्रज्ञाभवनमा राम्रै भिडभाड थियो । नयाँ पुस्ताका अधिकांश लेखक-साहित्यकार त्यहाँ पुगेका थिए । साथमा नयाँ पुस्ताका पाठक पनि ।

मदन पुरस्कार विजेता लेखकको नयाँ पुस्तकप्रति साहित्यिक क्षेत्रमा राम्रैचासो रहेको देखिएको छ । अमरलाई आम पाठक माझ सेतो धरतीले चिनाएको हो । ०६८ सालको मदन पुरस्कार जितेको सो पुस्तकले साहित्यिक क्षेत्रमा राम्रै तरंग ल्याएको थियो । करोडौं कस्तुरीप्रति पाठकको चासोको कारण पनि त्यही हो । ३८ वर्षीय युवा लेखकमाथि अघिल्लो पुस्तकले निर्माण गरेको साख जोगाउने चुनौति छ । सेतो धरतीले बालविवाहको विषयलाई उठान गरेको थियो । करोडौं कस्तुरी अहिलेको शिक्षा प्रणालीमाथि केन्द्रित छ ।

पछिल्लो कृति करोडौं कस्तुरीबारे लेखक अमर न्यौपानेसँग अनलाइनखबरले गरेको कुराकानी :

Amber-Neupaneनयाँ पुस्तक बजारमा आउँदा लेखकको छट्पटी कस्तो हुँदोरहेछ ?

छट्पटीभन्दा पनि म उत्साहित छु । पुस्तकप्रति धेरैको चासो रहेको पाएको छु ।

सेतो धरतीपछि तपाईंको पुस्तकबाट निकै आशा गरिएको छ, त्यसको दबाव पनि त होला ?

मैले सेतो धरतीलाई दिमागमा राखेर यो पुस्तक लेखेको होइन । यो पुस्तकको थिम विल्कुल फरक छ । यसले एउटा मुद्दाको उठान गरेको छ । किताब बिक्नुभन्दा पनि मुद्दा स्थापित हुनु मेरा लागि ठूलो कुरा हो ।

शिक्षा आफैंमा कुनै बिकाउ विषय त होइन नि उपन्यास लेखनका निम्ति ? किन यो विषय रोज्नुभो ?

karosauko-kasturiबिकाउ नभए पनि सबैलाई छुने विषय हो । हरेक मानिस शिक्षासित जोडिएका हुन्छन् । म विद्यालयहरुमा कार्यक्रममा जाँदा धेरै शिक्षक विद्यार्थीले मलाई सोध्नुभयो, ‘हाम्रो विषयमा पनि किताब लेखिनुपर्‍यो ।’ फेरि म आफैं १२ वर्ष अध्यापनमा लागेको पूर्वशिक्षक भएका नाताले नेपालको शिक्षा प्रणालीभित्र रहेको विसंगतिले घोचिरहन्थ्यो ।

हरिवंशलाई किन पात्र बनाउनुभयो ? चर्चा होस् भनेर कि कथाले नै माग्यो ?

कथाले नै माग्यो । यद्यपि, यो कलाकार हरिवंश आचार्यको कथा नभएर कलाकार हुन नसकेका हरिवंश आचार्यको कथा हो । किताबकै भाषामा भन्दा आफ्नो जीवनको सुगन्ध थाहा नपाएको कस्तुरी (हरिवंश) को कथा हो । उपन्यास पढेर उहाँले मलाई भन्नुभयो, ‘अहो, कलाकार हुन नसकेको भए त म यस्तो पो हुने रहेछु ।’ यो हरिवंशको छायाँ कथा हो भनन् न ।

कस्तो ?

त्यो थाहा पाउन त किताब नै पढ्नुपर्छ ।

तपाईंका लक्षित पाठक शिक्षक-विद्यार्थी हुन् कि शिक्षा क्षेत्रका नीति निर्माता ?

सबै हुन् । सबै मानिस विद्यार्थी जीवन पार गरेरै आएका हुन्छन् । यो किताबले बालबालिकादेखि प्रौढसम्मलाई छुन्छ ।

तपाईंको विचारमा नेपालको साहित्यिक बजार अहिले कस्तो छ ?

बजार सानो छ । यसलाई फराकिलो बनाउने चुनौति हामी लेखकहरुकै हो । हामीले राम्रो लेख्यौं भने पाठकहरु बढ्छन्, झूर लेख्यौं भने भएका पाठक पनि बिच्किन्छन् । यद्यपि पछिल्लो समय उत्साहजनक नै छ ।

पुस्तकको नाम करोडौं कस्तुरीको साट्टो कस्तुरी मात्रै राखेको भए के हुन्थ्यो ? एउटा शब्द खेर गएन ?

त्यो पनि हुन्थ्यो । तर, करोडौं राख्दा अझ प्रभावकारी होला कि भन्ने लाग्यो ।

पाठकलाई के भन्न चाहनुहुन्छ ?

पाठकवर्ग नै हामी लेखकका अदालत हुन् । मैले यही अदालतमा आफ्नो सिर्जना दर्ता गरेको छु । उहाँहरुले जस्तो फैसला गर्नुहुन्छ, त्यो मलाई मञ्जुर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment