Comments Add Comment

पहिलो टेस्टट्युब बेबी अन्तवार्ता दिन पारंगत !

First Test tube Baby Om mani

चिरञ्जीवी पौडेल
२६ असार, काठमाडौं । ‘अहिलेसम्म ६ जना पत्रकारलाई इन्टरभ्यू दिइसकेँ,’ ११ वर्षीय बालक ओममणि तामाङले नाकको पोरा फुलाउँदै सुनाए- अब यो संख्या ७ पुगेको छ ।

पत्रकारले तिमीलाई किन पछ्याउँछन् हँ ?

– म टेस्टुब बेबी हो नि त ।

टेस्ट ट्यूव बेबी भनेको के हो, थाहा छ ?

– ओममणिले घोसेमुन्टो लाएर भने, ‘थाहा छैन ।’

 कसले भन्यो तिमी टेस्ट्युब बेबी हो भनेर ?

– आमाले ।

आमालाई सोधेनौ त, यो भनेको के हो ?

– उनले फेरि घोसेमुन्टो लगाएर भने, ‘आमाले भन्नुभएन ।’

छेउमा बसेकी उनकी आमा सन्ध्या अघिदेखि मुसुमुसु हाँसिरहेकी थिइन् । उनले भनिन्, ‘अहिले बुझ्नेबेला भएको छैन यसको । ठूलो भएपछि आफैं थाहा पाउँछ ।’

तीनपटक गर्भ खेर गएको थियो

भोजपुरका राजेन्द्र र वीरगञ्जकी सन्ध्याबीच ०५५ सालमा मागी बिहे भएको थियो । बिहे गरेको दुई वर्षपछि सन्ध्याको गर्भ बस्यो । तर, उनको पेटमा रहेको बच्चा धरतीमा नआइकन बिलायो । सन्तान सुखको प्रतिक्षामा फक्रिँदै गएको तामाङ दम्पत्तिको खुशी पनि बिलायो । ९ महिनाको गर्भ खेर गएपछि उनीहरुसित अर्को बच्चाको प्रतिक्षा गर्नेबाहेक विकल्प थिएन ।

एक वर्षपछि फेरि सन्ध्याको पेटमा गर्भ बस्यो । तर, त्यो ३ महिनामै बिगि्रयो । अर्कोको गर्भ पनि त्यस्तै भयो । लगातार तीनवटा गर्भ खेर गएपछि त गर्भ नै बस्न छाड्यो ।

लामो समयसम्म गर्भ नबसेपछि तामाङ दम्पत्ति अत्तालिए । उनीहरु धामी-झाँक्री र माता-पिताकहाँ धाउन थाले ।

तपाईंहरु जस्तो पढेलेखेको मान्छे, डाक्टरकहाँ नगएर किन धामी झाँक्री चहार्नुभयो त भन्ने प्रश्नमा ओममणिका पिता राजेन्द्र भन्छन्, ‘परिवार र आफन्तले कर गरेपछि मान्नैपर्‍यो ।’

टेस्टट्युबमार्फत गर्भधारण

धामी-झाँक्रीबाट पार नलागेपछि तामाङ दम्पत्ति डाक्टरकै शरण पर्न वाध्य भए । उनीहरु ओम हस्पिटलका डा. भोला रिजालकहाँ पुगे । रिजालले सन्ध्याको स्वास्थ्य परीक्षणपछि अब प्राकृतिक रुपले बच्चा हुन नसक्ने घोषणा गरिदिए । सँगै आशाको त्यान्द्रो पनि देखाए, टेस्टट्युबमार्फत जन्माउने आइभिएफ प्रविधि । जुन नेपालमा त्यतिबेलासम्म भित्रिएको थिएन । डा. रिजालले पहिलोपटक आफ्नो हस्पिटलले भित्र्याउन लागेको बताए ।

‘पटक-पटक मिसक्यारेज हुनाले पाठेघर सफा गर्दा ब्लडहरु गएर फेलोपेन्ट ट्यूब बन्द भएको छ, अब बच्चा हुन सक्दैन,’ त्यतिबेला डाक्टर रिजालले भनेको सम्झिन्छिन् सन्ध्या ।

उनले टेस्ट्यूव प्रविधिबारे पहिले पनि सुनेकी थिइन् । डा. रिजालले भनेपछि यसबारे थप अध्ययन गरिन् । त्यसपछि उनले श्रीमानसित सल्लाह गरेर निर्णय लिइन्, टेस्ट्युब प्रविधिबाट बच्चा जन्माउने पहिलो नेपाली आमा बन्ने ।

टेस्टट्युबमार्फत गर्भधारण गरेपछि ९ महिना सन्ध्या पूरै बेडरेस्टमा बसिन् । ‘पहिले तीनपटक गर्भ रहँदा र यसपटक कुनै फरक महसुस भएन,’ उनी भन्छिन्, ‘पहिलेको दुःखद अनुभवले गर्दा यसपटक बढी सतर्क भएँ ।’ नौ महिनासम्म उनी बहिनी ज्वाइँको घरमा गएर बसेकी थिइन् ।

लोकसेवादेखि अखबारसम्म

हस्पिटलले पहिलोपटक सन्ध्यामार्फत नेपालमा टेस्ट ट्यूबबाट बच्चा जन्माउने प्रविधि सुरु गर्‍यो । ०६१ साल फागुन २० गतेका दिन सिजरियनमार्फत सन्ध्याले छोरा जन्माइन् । तामाङ दम्पत्तिले छोराको नाम हस्पिटलको नामसित जोडेर राखे, ओममणि ।

जन्मनासाथ ओममणि अखबारका पानामा छाए । सामान्य ज्ञानको प्रश्नोत्तरको विषय बने । बाबु राजेन्द्र भन्छन्, ‘पहिलो टेस्टट्युब बेबीको बुबा भएकोमा मलाई गर्व छ ।’

जवाफ दिँदाको हैरानी

टेस्ट्यूव बेबी भन्नासाथ मानिसहरुले असमान्यरुपमा लिन्छन् । सन्ध्या आफ्नो बच्चाको विषयमा सोधिने प्रश्नहरुबाट आजित छिन् । उनलाई प्रायः सोधिने प्रश्न यस्ता हुन्छन् ।

‘तपाईंको बच्चाको स्वास्थ्य त ठीक छ ?’
‘तपाईंको बच्चाले राम्रोसित हिँडडुल गर्छ ?’
‘तपाईंको बच्चाले के के खान्छ ?’

उनी भन्छिन्, ‘पढेलेखेका मानिस र मिडियाले समेत यस्ता उरन्ठेउला प्रश्न गरेको देख्दा अचम्म लाग्छ । टेस्ट्यूव बेबी र सामान्य बच्चामा केही फरक हुँदैन भनेर कतिलाई सम्झाउनु ?’

सन्ध्याको जवाफपछि पंक्तिकारले सोध्न खोजेको प्रश्न यत्तिकै थन्कियो, ‘बच्चाको स्वास्थ्य चाहिँ कस्तो छ ?’

वैज्ञानिक बन्ने रहर

हाल कक्षा ६ मा पढिरहेका ओममणि पढाइमा निकै जेहेन्दार छन् । कक्षामा प्रायः दोस्रो वा तेस्रो हुन्छन् । बोल्छन् कम, हाँस्छन् बढी । आम केटाकेटीको तुलनामा भलाद्मी छन् ।

ओममणिका रहर दुइवटा छन्, एउटा क्रिकेट खेलाडी बन्ने अर्को वैज्ञानिक बन्ने । के एकैसाथ दुबै रहर पूरा हुन सम्भव छ ? सम्भव भयो भने नेपालले भविष्यमा एउटा ‘वैज्ञानिक क्रिकेटर’ पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment