Comments Add Comment

योगेश भट्टराईको प्रस्ताव- लिपुलेक नछाड्ने भए दार्जीलिङ देऊ

३१ असार, काठमाडौं । एमाले फुटेर नेकपा माले गठन भएपछि अनेरास्ववियूका अध्यक्ष योगेश भट्टराई र महासचिव रविन्द्र अधिकारी दुबै मालेतिर लागेका थिए । भट्टराईले नेतृत्व गरेको मालेनिकट अनेरास्ववियू त्यतिबेला आक्रामक रुपले सक्रिय थियो ।

अनेरास्वियुका विभिन्न गतिविधिमध्ये काठमाडौं-कालापानी मार्च पनि एक थियो । अखिलको नेतृत्वमा ५७ जनाको टोलीले कालापानी पुगेर खुकुरी नचाएका थिए । त्यो घटनाक्रमलाई यसरी सम्झिन्छन् हाल एमाले सचिव रहेका भट्टराई :
Yogesh-Bhattarai
तत्कालीन संसदमा दार्चुलाका सांसद प्रेमसिंह धामीले पहिलोपटक कालापानीको मुद्दा उठाउनुभएको थियो । त्यसपछि मिडियामा आयो र यो राष्ट्रिय मुद्दा बन्न गयो । पछि यो विषयमा अध्ययन गर्न एउटा संसदीय टोली नै बनाइयो ।

संसदीय टोलीको स्थलगत अध्ययनले लिपुलेकभन्दा धेरै पश्चिममा पर्ने लिम्पियाधुरा नेपालको अन्तिम सीमाना हो र त्यहाँबाट निस्किने सानो नदी नै काली नदी हो भन्ने निस्कर्ष निकालेको थियो ।

सुगौली सन्धीमा नेपालको सीमाना पूर्वमा मेचीदेखि पश्चिममा काली भनिएको छ । लिपुलेकदेखि लिम्पुयाधुरासम्मको भूभागलाई बोलिचालीमा कालापानी भनिन्छ ।

सन् १९६२ मा इन्डिया र चीनको युद्ध हुँदा इन्डियन सेना पराजित भएर पछि हट्दै आएका थिए । उनीहरुलाई सेल्टर लिन उपयुक्त ठाउँ चाहिएको थियो । त्यो विकट एरियामा उनीहरुलाई सम्म जमीन चाहिएको थियो । कालापानी क्षेत्र त्यो ठाउँमा बस्नका लागि सबैभन्दा राम्रो थियो । त्यतिबेला त्यहाँ नेपालीहरुको बस्ती थियो । उनीहरुले बैतडीमा आएर मालपोत तिर्थे भन्ने कुरा भैरव रिसालले आफ्नो किताबमा लेखेका छन् ।

त्योबेला इन्डियाले राजा महेन्द्रलाई अप्ठेरो पारिरहेको थियो । इन्डियनले महेन्द्रलाई प्रो-चाइनिज भन्थे । इन्डियालाई खुशी पार्नका लागि त्यो जमीन अघोषित रुपमा महेन्द्रले बकस दिएको हुन सक्ने हामीले विश्लेषण गरेका थियाैं ।

त्यतिबेला हामी एमाले फुटेर बनेको मालेको भातृ संगठन अनेरास्ववियूमा थियौं । म अध्यक्ष थिएँ र रविन्द्र अधिकारीजी महासचिव हुनुहुन्थ्यो । कालापानीको विषय चर्केपछि हामीले थुप्रै विज्ञहरुसित छलफल चलायौं । सिमाविद् बुद्धिनारायण श्रेष्ठदेखि दार्चुलामा काम गरेका पुराना सरकारी कर्मचारी भैरव रिसालसित समेत छलफल गरेपछि के निस्कर्षमा पुग्यौं भने १९ हजार ६ सय हेक्टरको कालापानी नेपाली भूमि नै हो । सन् १९६५ देखि त्यो भूभाग भारतीय सेनाले कब्जा गरेको हो ।

केभी राजनले धम्क्याए
सबै तथ्य-प्रमाणहरु केलाइसकेपछि हामी कालापानीबाट भारतीय सेनालाई हटाउन दबाव अभियान चलाउने निस्कर्षमा पुग्यौं । त्यसपछि बैठक बसेर काठमाडौंदेखि कालापानीसम्म मार्च गर्ने योजना बनाइयो । मार्चमा जानुअघि हामी भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन गएका थियौं ।

केभी राजन त्यतिबेला भारतीय राजदूत थिए । हामीले उनलाई भेटेर ज्ञापनपत्र दियौं । ज्ञापनपत्रमा हामीले कालापानी नेपालको हो भन्दै भारतीय सेनालाई फिर्ता गर्न माग राखेका थियौं । हामीले ज्ञापनपत्र बुझाइसकेपछि उनले आँखा राता पारे । मैले हामी कालापानी मार्चमा जान लागेको कुरा सुनाएँ ।

त्यतिबेला भारतको दृष्टिकोण हामीप्रति राम्रो थिएन । किनभने हामीले भारतसितको महाकाली सन्धीको विषयलाई लिएर एमाले पार्टी नै फुटाएका थियौं । हामीसितको भेटमा केभी राजन निकै छुद्र रुपमा प्रस्तुत भए । हामीले आफ्ना कुरा राखेपछि उनले धम्याएको शैलीमा भने, ‘तपाईंहरु -कालापानी) गएर उफ्रिँदैमा के हुन्छ ? दुःख मात्र पाउनुहुनेछ ।’

उनीसित लामै डिस्कसन चल्यो । उनले यो पनि भने, ‘तपाईंहरुका नेता मिलिसकेका छन्, तपाईंहरुले फुर्ति गर्नु बेकार छ । यति ठूलो देशसित कुम ठोक्न खोज्दा के हुन्छ सोच्नुहोला ।’

हामीले भन्यौं, ‘हाम्रो देश सानो छ, तर हाम्रो स्वाभिमान सानो छैन ।’ उनले कुटिल हाँसो हाँस्दै भने, ‘ठीक छ, आफ्ना नेताहरुलाई गएर भन्नुस् । हाम्रो नेगोसिएसन उहाँहरुसित हुन्छ ।’

खुकुरी बोकेर कालापानीतिर
कालापानी मार्चमा जानुअघि हामीले नेपालका कति ठाउँमा कहिलेदेखि सीमा मिचिएको छ भनेर नक्सा नै सार्वजनिक गर्‍यौं । त्यतिबेला मिडियाहरु कम थिए । जति थिए, तिनीहरुले हामीलाई राम्रो साथ दिए ।

हाम्रो टोलीमा ५७ जना थियौं । संगठनका नेतादेखि पत्रकारसम्म । केही बाटो देखाउने साथीहरु पनि थिए । धेरै साथीहरुले खुकुरी, लाठी बोक्नुभएको थियो, कालापानीमा प्रदर्शन गर्ने उद्देश्यका साथ ।

पार्टीका नेताहरुले हामीलाई बिदा गर्नुभयो । यहाँबाट फुक्लेसम्म गाडीमा पुगियो । फुक्लेबाट पैदा हिड्यौं । चार दिन लगातार  बिहान ५ गतेदेखि बेलुकी ६ बजेसम्म हिँड्यौं । खाने सामल, ओढ्ने ओछ्याउने सबै बोकेका थियौं । बाटोमै पकाएर खान्थ्यौं । बाटोमै ओढार जस्तो बनाएर सुत्थ्यौं ।

महाकालीको किनारै किनार बाटो एकदम साँघुरो थियो । खुट्टा लर्बरियो भने सिधै महाकालीमा खसिने । बस्ती भएका ठाउँहरुमा पुग्दा कार्यक्रम गथ्र्यौं । भाषण गर्थ्यौ । आफूहरु आउनुको कारण बताउँथ्यौं । स्थानीय जनता खुशी हुन्थे ।

भारतले नेपाली कमाण्डर पठायो
दार्चुलाभन्दा माथि एक दिनको यात्रा गरेपछि इन्डियन साइडबाट हामीलाई हेलिकोप्टरमार्फत् निगरानी गर्न थालिएको थियो । भारतीयहरुले नजिक-नजिक हेलिकोप्टर घुमाएर हामीलाई आतंकित बनाउन खोजेका थिए ।

चारदिनको पैदल यात्रापछि हामी कालापानी क्षेत्रमा भारतीय क्याम्प राखिएको स्थान नजिकै पुग्यौं । त्यहाँको आर्मी चिफ हामीलाई भेट्न आए । उनले अगाडि नबढ्न अनुरोध गरे ।

भारतीय पक्षले कूटिलतापूर्वक आफ्ना सेनाका नेपाली कमाण्डरलाई हामीसित कुरा गर्न पठाएको थियो । हामीले उनैलाई ज्ञापनपत्र दियौं । उनले अगाडि नबढ्न भनेपछि हामी त्यहीँ रोकियौं ।

त्यो ठाउँ भारतीय सेनाको क्याम्पबाट दुई सय मिटरजति मात्रै वर थियो । साथीहरुले भारतीय सेनाका सेल्टर र बंकरहरुको फोटो खिचे । हातमा लाठी खुकुरी नचाए । भाषण-शाषण भयो ।

हामी त्यहाँ युद्ध लड्न गएका थिएनौं । त्यसैले बलपूर्वक अगाडि बढ्ने कुरा भएन । तैपनि भारतीय सेनालाई एक किसिमको थ्रेट चाहिँ भयो । कम्तिमा हामीले आफ्नो भूमिमाथि दाबी गर्‍यौं । यति गरेर हामी फर्कियौं ।

गिरिजाले भनेः नत्र भारतै जान्न
हाम्रो पैदल मार्चले राष्ट्रकै ध्यानाकर्षण गर्न सफल भयो । राष्ट्रियताको तरंग फैलियो । सरकार पनि दबावमा पर्‍यो । त्यति बेला विदेशबाट फर्किँदा गिरिजाप्रसाद कोइरालाले एयरपोर्टमै बोलेका थिए । उनले  ‘लिम्पियाधुरा सीमाना हो र कालापानी नेपालको भूभाग हो’ भनेर प्रष्ट शब्दमा भनेका थिए । गिरिजाले यो पनि भने, ‘कालापानी नेपाललाई फर्काउँदैन भने म इन्डियाको भिजिट नै गर्दिँन ।’ तर, उनको अठोट धेरै समय टिकेन ।

दार्जीलिङ देऊ न त
हामी जति कमजोर भए पनि चीन र इन्डियाको बीचमा भएकाले त्यत्तिकै महत्वपूर्ण छौं । नेपालले अहिले युद्ध लडेर कुनै भूभाग जित्न सक्दैन । त्यसैले कूटनीतिक पहल गर्नुको विकल्प छैन । हामी ज्यादा दक्षिण ढल्केकाले नै चीन पनि बिच्किएको छ ।

भारतसित हामीले नयाँ ढंगले कुटनीतिक लविङ गर्न सक्छौं । यदि लिपुलेक छाड्दैन भने त्यसको साटो हामीलाई दार्जीलिङ देऊ न त भन्न सक्छाैं ।

जमीन साटासाट गर्ने ट्रेण्ड दुनियाँमा चलेको छ । त्यसमाथि दार्जीलिङ त पहिले हाम्रै भूमि थियो । यदि लिपुलेक लिएर दार्जीलिङ दिन्छ भने हामी खुशी साथ तयार हुनुपर्छ ।

  प्रस्तुतीः चिरञ्जीवी पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment