Comments Add Comment

६५ वर्षमा जन्मे ५ महिला निर्देशक

deepa-shree-niraula

३ साउन, काठमाडौं । हास्य अभिनेत्रीका रुपमा परिचित दीपाश्री निरौला अब ठूलो पर्दाको चलचित्रमा निर्देशक बन्न तम्सेकी छिन् । ‘तीतो सत्य’ मा सहायक निर्देशन गर्दै आएकी दीपाश्रीले निर्देशन गर्न लागेको चलचित्रको नाम हो, ‘छ भने माया छपक्कै लाईदेउ’ ।

नेपाली चलचित्रमा विगतदेखि नै महिला निर्देशकको खडेरी छ । इतिहासदेखि वर्तमानसम्मको कुरा गर्दा पनि महिला निर्देशकको संख्या औंलामा गन्न सकिने मात्रै छ । त्यसैले निर्देशनमा उनको प्रवेशलाई स्वागत गर्नुपर्छ । रेडियो कार्यक्रम, टेलिश्रृङ्खला हुँदै फिचर फिल्ममा समेत अभिनय गरेकी दीपाश्री आफुसँग लामो अनुभव भएकाले पनि फिल्म निर्देशन गर्न सक्षम रहेको तर्क गर्छिन् ।

‘म बिगत दुई दशकदेखि नेपाली दर्शककै विचमा छु, त्यसैले दर्शकलाई चित्त बुझ्ने फिल्म नै बनाउछु,’ अनलाईनखबरसँग कुरा गर्दै उनले भनिन् । त्यसो त उनले यसअघि केही विज्ञापनको पनि निर्देशन गरेकी छिन् ।

यसअघी महिला निर्देशकहरुले बनाएका चलचित्रहरुको व्यापारिक रेकर्ड सन्तोषजनक छैन । त्यसलाई उनले तोड्न सक्छिन् कि सक्दिनन् त्यो त भविष्यले बताउने छ । यहाँ नेपाली चलचित्रको ६५ वर्षे इतिहासमा जन्मेका जम्मा ५ महिला निर्देशकको संक्षिप्त चर्चा गरिएको छ ।

सुचित्रा श्रेष्ठ

नेपालको पहिलो महिला निर्देशकको रुपमा चिनिन्छिन् सुचित्रा श्रेष्ठ । प्रेमयुद्ध नाम राखेर चलचित्र बनाएकी सुचित्राले पनि आफ्ना चलचित्रबाट ब्यबसायिक सफलता पाउन सकिनन् । ‘को कसको ?’ नाम राखेर दोस्रो चलचित्र पनि बनाएकी थिईन् । उक्त चलचित्रको पनि ब्यबसायिक नतिजा खराब थियो ।

suchitra
सुचित्रा श्रेष्ठ

दीपा बस्नेत

चलचित्र ‘अन्तराल’ वाट निर्देशनमा डेब्यु गरेकी दिपा बस्नेतले पहिलो चलचित्रवाटै नेशनल अवार्ड पाएकी थिईन् । उनी प्रतिभाशाली निर्देशकका रुपमा चिनिन्छिन् ।
नेपाली चलचित्रमा प्रस्तुत हुँदै आएको महिलाका कथालाई उनले अन्तरालमा फरक ढंगमा प्रस्तुत गरेकी थिईन् । व्यापारिक रुपमा भने यो चलचित्र सफल हुने सकेन । उनको बनाएको अर्को चलचित्र ‘श्री ५ अम्बरेले पनि राम्रै चर्चा पायो । तर, व्यापारमा यसले पनि धोका दियो । आफु नारी भएकाले नारीका प्रसंगलाई फरक र सम्मानजनक शैलिले चलचित्रमा प्रस्तुत गर्ने उनको भनाई छ ।

deepa-basnet
दीपा बस्नेत

सम्झना रौनियार

ओस्कार कलेजकी विद्यार्थी सम्झना रौनियारले पनि दुई चलचित्र बनाएकी छिन् । नम्रता श्रेष्ठ र सिद्धार्थ कोईराला (मनिषाका भाई) लाई मुख्य भुमिकामा लिएर बनाएको ‘मेघा’ले बजारमा खासै उत्पात् मच्चाउन सकेन । अर्को चलचित्र बनाएकी छिन् फागु । करिश्मा मानन्धरको लगानीमा बनेको ‘फागु’ बाट भने उनी निकै आशावादी छिन् ।

samjhana rauniyar
सम्झना रौनियार

 

रक्षा सिंह

दर्जन बढी चलचित्रमा सम्पादन गरेकी रक्षा सिंहले द्वन्द्वप्रधान चलचित्र बनाएकी थिईन् ‘द गेम’ । चलचित्र प्रदर्शनअघि निकै हल्ला भए पनि ब्यापारिक नतिजा भने राम्रो दिन सकेन । द गेम पछि अर्को चलचित्र बनाएकी छैनन् उनले पनि ।

रेखा थापा

नायिका रेखा थापा कुनै पूर्वयोजनाबिनै निर्देशक बनिन् । सुटिङ स्पटमा निर्देशक श्याम भट्टराईसंग खटपट भएपछि उनी ‘अन दि स्पट’ निर्देशक बनेकी थिईन् उनी । अरुको तुलनामा उनको चलचित्रले भने राम्रो व्यापार गरेको थियो ।

‘हिम्मतवाली’ चलचित्रको निर्देशन गरेकी रेखाले पुनः निर्देशनमा सक्रिय हुने धारणा राखे पनि आगामी चलचित्रमा भने अभिनयमा सिमित रहने भएकी छिन् । उनले बनाउने रामप्यारीको निर्देशन सबिर श्रेष्ठले गर्ने भएका छन् ।

रेखा थापा
रेखा थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment