Comments Add Comment

नेताले पार्टी फुटाउँछन्, कलाकारले जोडी !

५ साउन, काठमाडौं । नेताहरुले पार्टी फुटाएको प्रसंगलाई हँसाउने विषयवस्तु बनाउँछन् हास्य कलाकार । स्टेज कार्यक्रममा होस् या आफुले अभिनय र निर्देशन गरेको सिरियलमा होस्, कलाकारहरु नेताको उछितै काढ्छन् ।

तर, यसरी नेताको उछितो काढ्ने कलाकारहरु पनि टुटाउने र फुटाउने कुरामा सबैभन्दा अगाडि छन् भन्दा अचम्म लाग्न सक्छ । अचम्म मान्नै पर्दैन, यथार्थ यस्तै छ ।

आफ्नो जोडीका बिरुद्ध गुटबन्दी गर्ने मात्रै हैन, कतिपयले आफ्नै साथीलाई घोक्रेठ्याक लगाएर निकालेका पनि छन् ।
कुनै बेलाका चर्चित जोडी जितु नेपाल र दमन रुपाखेती अहिले एक अर्कासँग बोल्न पनि गार्‍हो मान्छन् भने धुर्मुश र माग्ने बुढाको पनि स्थिति त्यस्तै छ । पार्टी फुटाउने नेता जस्तै जोडी फुटाउने कलाकार को-को रहेछन्, हेरौं

मदनकृष्ण-हरिवंश

YOGA-DAY-7

दश वर्ष अगाडि आफूहरुवीच मनमुटाब भएको कुरो सार्वजनिक कार्यक्रममै स्वीकारेका थिए महजोडी मध्येका एक हरिबंश आचार्यले ।प्राय सँगै काम गरेका मदनकृष्ण र हरिबंशले केही समय छुट्टाछुट्टै काम गरे । शिव रेग्मी निर्देशित सुख-दुखमा मदनकृष्णले मात्रै काम गरेका थिए भने त्यही बेला अन्य केही प्रोजेक्टमा हरिवंशले एक्लै काम गरेका थिए ।

त्यसबेला मदनकृष्ण र हरिबंशको जोडी फुट्यो भनेर बजारमा ब्यापक हल्ला चल्यो । चलचित्र सुख-दुःखको रसियन कल्चर सेन्टरमा आयोजित प्रेस सोमा उपस्थित हरिबंशले आफुहरुवीच केही कुरामा मन बाझिएको भन्दै सोही कार्यक्रम मार्फत मन माझ्ने घोषणा गरे । त्यसपछि फेरि काम गरेका महजोडीवीच अहिलेसम्म असन्तुष्टि बढेको सुनिएको छैन । अहिले उनीहरुको सम्बन्ध निकै राम्रो छ ।

जीतु नेपाल- दमन रुपाखेती

daman-jitu

दिनेश डीसी निर्देशित हास्य कार्यक्रम ‘ट्वाक्क टुक्क’मा अभिनय गर्ने क्रममा भेट भएको थियो दमन रुपाखेती र जितु नेपालको । त्यही कार्यक्रममा जोडी बनेका जितु-दमनले पछि साङ्गीतिक कार्यक्रम गीताञ्जली सञ्चालन गरे । यसमा पनि उनीहरुको जोडी जमेकै थियो । त्यो भन्दा बढी चर्चा पाएको थियो उनीहरुको स्टेज पर्फमेन्सले ।

स्टेजमा हुने हरेक कार्यक्रममा जितु-दमन अनिवार्य उपस्थित हुन्थे । यही क्रममा जितु-दमनले सुरु गरे हास्य श्रृङ्खला ‘जिरे खुर्सानी ।’ यसमा पनि जितु र दमनको जगजगी थियो ।

जीरे खुर्सानीमा ६५ भागसम्म अभिनय गरेका दमन एक्कासी हराए । दमन भन्छन् ‘६५ भागमा काम गरेपछि हाम्रो जोडीमा भाइरस लाग्यो त्यही भाइरसले हाम्रो दोस्ती खायो ।’
जीतुको भनाइ अनुसार पनि उनीहरुवीच सामान्य मनमुटाव थियो । तर, पछि त्यही कुरा ठूलो भयो । ‘हामीवीच त्यस्तो नराम्रो केही भएको हैन । तर, भेटभाट पातलिएपछि सम्बन्ध खराबै भएजस्तो देखिँदो रहेछ,’ अनलाइनखबरसँग कुरा गर्दै जितुले भने ।

दमन-रुपाखेती- सीताराम कट्टेल-केदार घिमिरे

जितुसँग सम्बन्ध बिग्रे लगत्तै दमनले अर्को सिरियल सुरु गरे ‘मेरी बास्सै’ । दमनसँगै जिरे खुर्सानीमा गएका सीताराम र केदार पनि सँगै आए ।
चार भागसम्म शहरको कथा देखाइएको ‘मेरी बास्सै’ मा ५ औं भागदेखि गाउँको कथा देखाउन थालिएको थियो ।

गाउँको कथासँगै सीताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्ने बुढा) को बजार ह्वात्तै बढयो । यतिसम्मकि सिरियलले ४० भाग पार गर्दा दमन छायाँमा परिसकेका थिए भने धुर्मुस र माग्ने बुढा हाईहाई थिए ।

मेरीबास्सैले ६० भाग पूरा गर्दा यसले धेरै सिरियललाई उछिनिसकेको थियो । तर, त्यहीबेला धुर्मुस र माग्ने बुढा एकातिर र दमन अर्कोतिर भए ।

सिरियलले ७० भाग पार गर्दै गर्दा दमन बाहिरिए । त्यसपछि त धुर्मुस र माग्ने बुढाको एकछत्र राज सुरु भयो मेरीबास्सैमा ।

धुर्मुस-माग्नेबुढाdhrumus-magne

दमनलाई सिरियलवाट निकाल्नुलाई एउटा उपलब्धि मानेका सीताराम र केदारले त्यसपछि पनि सन्तोषले काम गर्न पाएनन् । दमनले छाडेको केही हप्तामै उनीहरुको सम्बन्धमा चिसोपन आयो ।

यतिसम्म कि वीचको केही समय उनीहरुवीच बोलचालै बन्द भयो र सिरियलको सुटिङको समय भाग लगाएर गर्न थालियो सीताराम र केदारले छुट्टाछुट्टै सुटिङ गरेको भागलाई सम्पादकले जोडिदिन्थे तर, अभिनयमा उनीहरुको भेट हुँदैनथ्यो । यस्तै गरेर मेरीबास्सैमा धेरै समय धुर्मस र माग्ने बुढालाई देखाएर दर्शकलाई भ्रममा राखियो ।

भित्री सम्बन्ध जतिसुकै खराब भए पनि उनीहरुले सम्बन्ध बिग्रेको कुरो केही वर्ष लुकाएरै राखेका थिए । तर, अहिले उनीहरुको औपचारिक छुट्टा भिन्न भइसकेको छ । धुर्मुस मेरीबास्सैका निर्देशक कलाकार रहेका छन् भने माग्ने बुढा नयाँ सिरियल बनाउने तयारीमा छन् ।

यीबाहेक अरु धेरै जोडी कलाकारले आफ्नो सुमधुर सम्बन्धलाई दिगो बनाउन सकेनन् । सिरियलमा मात्रै हैन, रंगमञ्च र ठूला पर्दामा सक्रिय कतिपय हास्य जोडीले सम्बन्धलाई दिगो बनाउन सकेनन् ।

अहिले जितु नेपाल, किरण केसी, राजाराम पौडेल, शिबहरी पौडेलको एउटा समूह छ । दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा लगायतको छुट्टै समूह छ । दीपकराजकै समुहमा रहेका रबी डंगोल अहिले निस्कृय छन् ।

नेताहरुजस्तै पार्टी फुटाउने र गुटबन्दी गर्ने कार्यले कलाकारलाई मात्रै होइन, दर्शकलाई समेत घाटा हुने गरेको छ । राम्रा कलाकारहरु एकै ठाउँमा प्रस्तुत हुँदा जतिराम्रो कला देख्न पाइन्थ्यो, उनीहरुको फुट र विभाजनले कलालाई समेत कमजोर पार्ने गरेको छ ।

दर्शकहरुले माग्ने बुढा र धुर्मुसलाई एउटै सिरियलमा हेर्न चाहे पनि उनीहरुको टुटफुटले यसलाई असम्भव बनाउँदै लगेको छ ।

त्यसैले, नेताहरुको बदख्वाइँ गरेर अरुलाई हँसाउन खोज्ने कलाकारहरुले एकपटक आफैंतिर फर्केर हाँस्ने कि ? कलाकारले फुट र विभाजन होइन, एकता प्रदर्शन गरेर उदाहरण देखाउन आवश्यक छ ।

दीपक र दीपाश्रीको, महजोडीको एकता र दीपक गिरी-दीपाश्री निरौलाको एकता यस्तै एउटा उदाहरण हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment