Comments Add Comment

संस्कृति पर्यटनका क्षेत्रमा प्रगति

४ साउन, काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७१÷७२ मा संस्कृति तथा पर्यटनका क्षेत्रमा केही महत्वपूर्ण प्रगति गरेको छ ।

अर्थ मन्त्रालयले प्रस्तुत गरेको प्रगति विवरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत अघिल्लो आर्थिक वर्षमा पर्यटन विभागको स्थापना गरेको उल्लेख छ ।

गत आवमा पोखरा विमानस्थलका लागि थप आवश्यक ६२९ रोपनी जग्गामध्ये प्रथम चरणको करिब ८० रोपनी जग्गा तत्काल अधिग्रहण गर्न सूचना प्रकाशन र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको चार किल्ला तोकी राजपत्रमा सूचना प्रकाशन गरिएको जनाइएको छ ।

पशुपति क्षेत्रको तिलगङ्गा–ताम्रगङ्गा सडकमा ‘रिटेनिङ वाल’ एवम् पैदल मार्गमा प्रस्तरफलक छाप्ने कामको नक्सा र लगत इस्टिमेट तयार भई बोलपत्र आह्वान भएको, लुम्बिनी क्षेत्रका विकासका लागि गुरुयोजनाअनुसार केही कार्य भइरहेको, केही काम सम्झौताका क्रममा रहेको र केही कामको लगत इस्टिमेट तयार भई बोलपत्र आह्वान प्रक्रियामा रहेको छ ।

गत आवमा राष्ट्रिय पर्यटन रणनीतिको मस्यौदा तयार भएको, विभिन्न जिल्लामा सञ्चालन गर्नुपर्ने र पूर्वाधार विकास कार्यका लागि बोलपत्र आह्वान भएको जनाइएको छ ।

यस बीचमा फाप्लु विमानस्थल कालोपत्र गर्ने कार्य सम्पन्न भएको, रुकुम (चौरजहारी) विमानस्थल कालोपत्र गर्ने काम ८० प्रतिशत सम्पन्न भएको तथा ताप्लेजुङ, भोजपुर, खानीडाँडा र रारा (मुगु) विमानस्थल कालोपत्र कार्यका लागि बेसकोर्स कार्य अन्तिम चरणमा पुगेको छ ।

इलामको मिथिलाजङ्ग र स्याङ्जा तुलसी भन्ज्याङमा महिला, युवा तथा पिछडिएको वर्गलाई लक्ष्य गरी होटल तथा लज व्यवस्थापनसम्बन्धी घुम्ती तालिम सञ्चालन गरिएको छ । परम्परागत काष्ठ गोष्ठी सम्पन्न गरिएको, महिला कलाकारको पहलमा लैङ्गिक विषयक कार्यशाला प्रदर्शन र जनकपुर लुम्बिनीमा राष्ट्रिय सांस्कृतिक भेला सम्पन्न गरिएको प्रगति विवरणमा छ ।

दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनाअन्तर्गत धाधरा खोला डाइभर्सन गर्न माटाको तीन लाख घनमिटरमध्ये दुई लाख घनमिटरको काम सम्पन्न भएको छ ।

नेपाल भारतबीच पर्यटनसम्बन्धी संयुक्त कार्य समूहको पहिलो बैठकले नेपाल र भारतको पर्यटनको विकासका लागि संयुक्त रुपमा काम गर्न साहसिक पर्यटन, हिन्दू र बौद्धपरिपथजस्ता क्षेत्र पहिचान गरिएको छ ।

सुविधासम्पन्न क्षेत्रीय विमानस्थलको विकास गर्ने क्रममा विराटनगर र नेपालगन्ज विमानस्थल रात्रिकालीन उडानयोग्य भएको तथा नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा हालै प्राप्त एयर बससहित तीन जहाज सञ्चालनमा रहेकालगायत विषय प्रगति विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment