Comments Add Comment

फोर्डको ‘फिगो असपायर’ अगष्टमा आउँदै, यस्ता छन् फिचर

७ साउन, काठमाडौं । अमेरिकन कार निर्माता कम्पनी फोर्डले ‘फिगो असपायर’ नेपाली बजारमा भित्राउने भएको छ । बिल्कुल नयाँ मोडलका रुपमा रहेको फिगो असपायर कम्प्याक्ट सेडान कार हो ।

फिगो असपायर अगष्टको दोस्रो साता नेपाली बजारमा आउने नेपाली बिक्रेता गो अटोमोबाइल्सले जनाएको छ । इन्ट्री लेवल सेडान कार फिगो असपायर डिजेल र पेट्रोल इञ्जिनमा रहेको छ । यसमा फोर्डले नयाँ इञ्जिन जडान गरेको कम्पनीका डिजिएम सुनिल क्षेत्रीले जानकारी दिए ।

पेट्रोल कारमा १२०० सीसीको इञ्जिन जडान गरिएको छ भने डिजेलमा १५०० सीसीको इञ्जिन जडान गरिएको छ । यसले नेपाली बजारमा होण्डा अमेज, मारुती डिजायर, हुन्डाई एक्सेन्ट, टाटा जेष्ट लगायतका इन्ट्री लेवल सेडान कारसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

Ford-Figo-Aspire

फिगो असपायर अटोमेटिक म्यानुअल दुबैमा उपलब्ध हुने क्षेत्रीले बताए । यसमा सबैभन्दा आकर्षक फिचरका रुपमा ‘माइ की’ रहेको छ । यस ‘माइ की’ मा गाडीको स्पीड, किलोमिटर, म्यूजिक भोल्यूम सेटिङ गरेपछि ड्राइभरले त्यो भन्दा बढी गतीमा गाडी हाँक्न र भोल्यूम बढाउन सक्दैन ।

‘माइ की’मा १० किलोमिटरको दुरी सेटिङ गरेमा ड्राइभरले त्यो भन्दा बढी कुदाउन पाउँदैन, गाडी अटोमेटिक बन्द हुन्छ । ड्राइभर तथा छोराछोरीलाई गाडी चलाउन दिँदा ‘माइ की’ सेटिङ गरिदिए ढुक्क हुन्छ । उसले त्यो भन्दा बढी गति वा दुरीमा गाडी चलाउन सक्दैन ।

यसमा ६ वटा एयरब्याग रहेका छन् । गाडीको ड्यासबोर्डको माथी स्मार्टफोन आफुतिर फर्काएर चार्ज गर्न मिल्ने व्यवस्था गरिएको छ । जसले गर्दा फोन वा म्यासेज आएमा मोबाइल ननिकाली हेर्न वा चलाउन सकिन्छ ।

फिगो असपायर १० वटा भेरियन्टमा नेपाली बजारमा आउने छ । जसमध्ये ६ भेरियन्ट पेट्रोल इञ्जिनमा र ४ भेरियन्ट डिजेल इञ्जिनमा हुनेछन । कम्पनीका अनुसार ६ वटा पेट्रोल इञ्जिन कारमध्ये २ वटा भेरियन्ट अटोमेटिक हुन् ।

यो ६÷७ कलरमा उपलब्ध हुनेछ । जसको मूल्य नेपाली बजारमा २५÷२६ लाखदेखि सुरु भएर ३५÷४० लाख रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ । पछिल्लो समय फोर्डको इकोस्पोर्ट अत्याधिक चर्चामा रहेको छ ।

फोर्डको फियष्टा र क्लासिक सेडान कारको बिक्री घटिरहेका बेलामा आउन लागेको फिगो असपायरले पुन बजार तताउने अपेक्षा कम्पनीको छ । इन्ट्री लेवल सेडान कारमा फिगो असपायर अग्रपंक्तीमा रहने विश्वास क्षेत्रीले व्यक्त गरे । अहिलेसम्म फोर्डसँग इन्ट्रीलेवल सेडान कार छैन ।

कम्पनीले फिगो असपायर चालु आर्थिक वर्षमै ५ सय थान बिक्री गर्ने लक्ष्य राखेको छ । यसले फोर्डको गुमेको बजार फिर्ता लिने विश्वास कम्पनीको छ । फोर्ड गाडी उपभोक्ताले अत्याधिक रुचाए पनि समयमा नयाँ भेरियन्ट नआउँदा अन्य ब्रान्डमा सिफ्ट हुने क्रम बढ्दो छ ।

इन्ट्रिलेवल सेडानमा ग्राहक सिफ्ट हुँदै

पछिल्लो समय मानिसहरु ह्याचब्याक कारबाट इन्ट्रीलेवल सेडान कारमा सिफ्ट हुने क्रम बढेको कम्पनीका डिजिएम क्षेत्रीले बताए । ह्याचब्याक र एसयुभी कारको तुलनामा इन्ट्रीलेवल सेडान कार किन्ने ग्राहकको संख्या दोब्बर वृद्धि भइरहेको छ ।

भूकम्पपछि बिक्री आधार घट्यो

विनाशकारी भूकम्पपछि गाडीको बिक्री आधार घटेको कम्पनीका डिजिएम क्षेत्रीले बताए । पुरानै अवस्थामा फर्किन दशैं तिहारसम्म कुर्नुपर्ने उनको भनाई छ । नेपालमा कुल बिक्री ४० प्रतिशत दशैं तिहारमा मात्र बिक्री हुने गर्छ ।

सडकमा कद्छन १५ सय इकोस्पोर्ट

Ford-ecosport

मिनी एयुभी इकोस्पोर्ट कारले नेपाली ग्राहकको मन जित्न सफल भएको छ । अन्य ब्रान्डका एसयुभी गाडीको तुलनामा झण्डै आधा सस्तो रहेको इकोस्पोर्ट २ वर्षको अवधिमा १५ सय थान बिक्री भइसकेको क्षेत्रीले जानकारी दिए ।

‘सुरुमा बुकिङ गरेको ३÷४ महिनासम्म गाडी हस्तान्तरण गर्न सकेनौं, हामीलाई कम्पनीले महिनाको ३४/३५ थान दिन्थ्यो, बुकिङ ३/४ सय हुन्थ्यो’ क्षेत्रीले भने– ‘अहिले कुनै–कुनै कलरको बाहेक इकोस्पोर्ट हप्ता दिनसम्म उपलब्ध गराउन सक्छौं ।’

इकोस्पोर्ट कार १० भेरियन्टमा उपलब्ध छ । पेट्रोलमा ५ र डिजेलमा ५ भेरियन्ट रहेको इकोस्पोर्ट ६ कलरमा उपलब्ध छ । फिचर हेरिकन इकोस्पोर्टको मूल्य ३१ लाख ९० हजार रुपैयाँदेखि ४७ लाख ९० हजार रुपैयाँसमम्म पर्ने कम्पनीले जनाएको छ । इकोस्पोर्टको ट्रेन, टाइटानियम भेरियन्ट ग्राहकले सबैभन्दा बढी रुचाएका छन् ।

फिगो बिक्री २ हजार पुग्यो

इन्ट्री लेवल ह्याचब्याक कार फिगो पनि नेपालमा सर्वाधिक रोजाइमा पर्न सफल भयो । अहिलेसम्म फिगोको नयाँ भेरियन्ट नआए पनि २ हजार फिगो बिक्री भइसकेको कम्पनीले बताएको छ ।

कम्पनीले ५ महिनाभित्र फिगोको नयाँ भेरियन्ट बजारमा ल्याउन लागेको जनाएको छ । सुस्ताएको फिगोको बजार नयाँ भेरियन्ट आएपछि पुनः बुम हुने अपेक्षामा कम्पनी रहेको छ । नेपालमा फिगो गाडीको मूल्य १९ लाख ५० रुपैयाँबाट सुरु हुन्छ ।

यसैगरी सेडान कार फियष्टा २ हजार थान बिक्री भइसकेको छ भने क्लासिक पाँच सयको हाराहारीमा बिक्री भएका छन् । त्यस्तै, रेञ्जर पिकअप गाडी पनि २ सय ५० थान बिक्री भइसकेको छ ।

बिक्रीपछिको सेवा प्राथमिकतामा

कम्पनीले बिक्रीपछिको सेवार्ला पनि प्राथमिकता दिएको बताएका छ । ‘गाडी बिक्री गर्नुमात्र ठूलो कुरा होइन, बिक्रीपछिको सेवा पनि प्राथमिकतामा हुनुपर्छ’ डिजिएम क्षेत्रीले भने– ‘गाडीको बिक्री आफ्टर सेल्स सर्भिसमा भर पर्ने भएकाले फोर्डले यसमा विशेष ध्यान दिँदै आएको छ ।’

फोर्डका राजधानीमा दुईवटा सर्भिस सेन्टर रहेका छन् । एउटा स्वयम्भूमा रहेको छ भने अर्को थापाथलीमा रहेको छ । फोर्डको बजार बढेपछि कम्पनीले थप सर्भिस सेन्टर खोल्न लागेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment