Comments Add Comment

संविधानमा कसले घुसायो धर्म निरपेक्ष ?

७ साउन, काठमाडौं । ‘धर्मनिरपेक्ष हुनुहुँदैन भन्नेमा कांग्रेस र एमालेका प्रमुख नेताहरु एक मुख छन्,’ तर, अन्तरिम संविधानमा धर्म निरपेक्षता कसले घुसायो ?’ कांग्रेस नेता खुमबहादुर खड्काले आयोजना गरेको एउटा गोप्य जमघटमा हिन्दुराष्ट्रका पक्षधरहरुले भने-‘संविधानमा यो शब्द घुसाउने एक्ला व्यक्ति हुन् सुवास नेम्वाङ ।’
Subas-Nemwang Final
खुमबहादुर खड्का र उनका सहयोगीहरुले आरोप लगाएजस्तै के तत्कालीन प्रतिनिधिसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले नै अन्तरिम संविधानमा ‘धर्म निरपेक्ष’ शब्द घुसाएका हुन् त ? यसबारेमा बुझ्न विगततिर फर्कनैपर्ने हुन्छ ।

यसरी आएको थियो, धर्मनिरपेक्ष
प्रतिनिधिसभाले गणतन्त्र र धर्म निरपेक्षताको ऐतिहासिक घोषणा गर्नुपूर्व यी सबै विषयमा कुनै पनि कार्ययोजना तयार पार्नका लागि सातदल सम्मिलित संयोजन समिति गठन गरिएको थियो । सोही समितिले निर्णय गरेअनुसार प्रतिनिधिसभाको ड्राफ्ट तयार पारिएको थियो । सो समितिमा सभामुख नेम्वाङ पनि सहभागी हुने गरेका थिए ।

जनआन्दोलनकै बेलादेखिको सो कार्यदलले प्रतिनिधिसधाको ऐतिहासिक घोषणा तयार पार्‍यो । सो घोषणा सभामुख नेम्वाङले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बुझाए ।

प्रधानमन्त्री कोइरालाले उक्त घोषणा मन्त्रिपरिषद बैठकमा पेश गरे । मन्त्रिपरिषदले उक्त प्रस्ताव पारित गर्‍यो ।

मन्त्रिपरिषदबाट पारित भएको उक्त प्रस्ताव बोकेर तत्कालै प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सोझै प्रतिनिधिसभामा पुगेर टेबुल गरे । प्रधानमन्त्री अस्वस्त भएकाले उनले उक्त प्रस्ताव वाचन गर्न सभामुख नेम्वाङलाई आग्रह गरेपछि नेम्वाङले प्रस्ताव पढे । त्यसमा कांग्रेस र एमालेका सभासदलेसमते ढ्याप-ढ्याप गरेर अनुमोदन गरे ।

उक्त प्रस्ताव पारित हुनुअघि व्यवस्थापिकाका सांसदहरुलाई पनि बाँडिएको थियो र राजपत्रमा पनि प्रकाशित भएको थियो ।

संसद सचिवालयका एक अधिकारी भन्छन्- ‘मन्त्रिपरिषदले पारित गरेर संसदमा पेश गरेको प्रस्तावमा सभामुखले कुनै शब्द थप्न मिल्ने ठाउँ नै रहँदैन, त्यसैले सभामुखले ‘धर्म निरपेक्ष’ शब्द थपेका हुन् भन्ने तर्क हास्यास्पद छ ।’

खुमबहादुर समूहको अर्को आरोप
यसैवीच खुमबहादुर खड्काको पक्षमा रहेका केही कांग्रेस कार्यकर्ताले सभामुख नेम्वाङले क्रिश्चियानिटीका लागि काम गरिरहेको आरोपसमेत आन्तरिक बैठकमा लगाएका छन् ।

तर, संविधानसभाका सदस्यहरुको परिचय पुस्तिकामा सभामुख नेम्वाङको ‘धर्म’ मा ‘क्रिश्चियन’ नभएर ‘किरात’ लेखिएको छ । किरात धर्मावलम्बीहरुले क्रिश्चियन धर्मावलम्बीलाई बाहिरिया बताउँदै आफ्नो धर्म नै नेपालको मौलिक एवं आदिवासीहरुको पहिचान भएको बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment