Comments Add Comment

किन आए यी स्पेनिस ११६ पटक नेपालमा ?

वसन्त रानाभाट
बार्सिलोना । देश छोडेर प्रवास आएका हामी नेपालीहरु बर्षमा एकपटक नेपाल फर्कँदा धेरै ठूलो गर्व गर्छौं । कतिपय २ बर्षमा एकपटक, कति त पाँच वा दश बर्षसम्म पनि घर फर्किँदैनन् । कारण फरक फरक छन्, धेरै जसो नेपालीहरु अमेरिका, युरोप वा अन्य यस्तै मुलुकहरुमा बैधानिक रुपमा रहन पाउने आधार नभएसम्म, लामो समय घर फर्केका हुँदैनन् ।

कतिपय घर परिवारको साथमा नै बिदेशमा रहेकाले वा व्यापार ब्यवसाय, कामको मायाले पनि मातृभूमिलाई चटक्कै बिर्सेकाहरु पनि प्रशस्तै भेटिन्छन् । बर्ष भरी करिब १ महिना कामबाट मिल्ने छुट्टि, नेपाल पुग्दा, टिकट पनि खर्च, किनमेल गर्न झन्झट भन्दै युरोप टुर गर्ने युरोपका नेपालीहरुको जमात पनि यहाँ बाक्लै भेटिन्छ ।

Belbis-Spain
लुईस बेल्बिस

नेपालीहरु विदेश आएपछि बिदेशी बन्न खोजे पनि स्पेनका एक नागरिक लुईस बेल्बिस भने नेपालीहरुलाई मात्र हैन संसारलाई नै चकित पार्दै १ सय १६ पटकसम्म नेपालको भ्रमण गरेका छन् । ३७ बर्षको अवधिमा यति धेरैपटक नेपाल भ्रमण गरेका र नेपालीलाई सहयोग गरेका उनले जीवनको उत्तरार्ध नेपालमै बिताउने इच्छा व्यक्त गरेका छन् ।

नेपाललाई दोस्रो घर मान्ने बेल्बिस बर्षको ३ पटक भन्दा बढी नेपाल भ्रमण गरेको आँकडा छ । बेल्बिसले नेपाल र नेपालीहरु प्रति कति माया र स्नेह कति धेरै गर्छन् भन्ने जवाफ उनको १ सय १६ औं पटकको यात्राले गतिलोसँग दिएको छ ।

बेल्बिसको पहिलो नेपाल भ्रमण

Luis-Belbis-Spain1६२ बर्ष उमेरका स्पेनिस कातालान नागरिक बेल्बिसले सन् १९७८ मा पहिलोपटक नेपाल भ्रमण गरेका थिए । एकपटक नेपाल पुग्ने बित्तिकै उनले नेपालको प्राकृतिक वातावरणले आफूलाई मोहित पारेको बताउँछन् । यस्तै सन् १९८२, १९८८ र १९९३ मा बेल्बिस आफू मात्र हैन स्पेन, न्युजिल्याण्ड, क्यानाडा र अष्ट्रियाका पर्यटकहरुसँग नेपाल घुमे ।

टोली नेता बन्दै बिश्वको सर्बोच्च शिखर सगरमाथामा पनि पर्यटकहरु लिएर गए उनी । बेल्बिस आफू भने ७ हजार ५ सय मिटर उचाईसम्म मात्र पुगेको बताउँछन् । सगरमाथा आरोहण गर्दा वरपर फोहोर देखेपछि उनले सन् १९९३ बाट सगरमाथा सफाइ अभियान शुरु गरेको समेत स्मरण गरे ।

३० बर्षदेखि नेपाली अवैतानिक वाणिज्य दूत

नेपाल ओहोर दोहोर गर्दै गर्दा बेल्बिसका थुप्रै नेपाली साथीहरु बन्दै गए । स्पेन र नेपालबीच कुनै पनि किसिमको सम्बन्ध स्थापित नभएकाबेला बेल्बिसलाई उनका नेपाली साथीहरुले नेपालको हितमा काम गर्न सल्लाह दिए । नेपालमा वीरेन्द्र विरक्रिम शाह राजा हुँदा तत्कालीन श्री ५ को सरकारले स्पेनमा नेपाली अवैतानिक वाणिज्य दूतको रुपमा काम गर्न बेल्बिसलाई कागजपत्र उपलब्ध गराएको थियो ।

आफ्ना नेपाली साथीहरु कै सहयोग र सुझावमा सन् १९८५ देखि वाणिज्य दूतको रुपमा काम शुरु गरेको बेल्बिस सुनाउँछन् । नेपाली समुदाय माझ ३० बर्ष लामो सेवा गरिसकेका बेल्बिस अझै पनि वाणिज्य दूतको रुपमा नै कार्यरत छन् । उनले हजारौंको संख्यामा स्पेन लगायत युरोपबाट पर्यटकहरु नेपाल भित्राउन सहयोग पुर्‍याएका छन् ।

सयौंको संख्यामा स्पेनका नागरिकहरुले बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका छन् । उनीहरु नेपालका अन्य अग्ला हिमालहरु पनि सफलतापूर्वक चढेका छन् । गत जुन ६ तारिक सन् २०१४ मा एनआरएन स्पेनले नेपाल प्रबर्द्धन साँझ कार्यक्रम राखी हिमाल आरोहण गर्ने स्पेनिसहरुलाई सम्मान समेत गरेको थियो ।

हरेक वाक्यमा नेपाली ठाउँ र नेपाली नाम

Luis-Belbis-Spain

बेल्बिसको बिशेष अन्तरवार्ता लिन उनकै कार्यकक्षमा पुगेका अनलाइनकर्मीले नेपालबारे कुनै पनि प्रश्न राख्दा बेल्बिसको उत्तरमा नेपाली नामहरु र नेपालका ठाउँहरु झुन्डिएको नै हुन्थ्यो । उनले बिगतका पलहरुलाई सम्झँदै नेपाली साथीहरु नाम लिइहाल्थे ।

कमै याद गरिने नेपालका कुना कन्दराका ठाउँहरु पनि उनी कण्ठस्थ सुनाउँदै नेपालकै सम्झना गर्थे । नेपाली चाडबाड रितिरिवाजबारे पनि प्रशस्त ज्ञान बटुलेका बेल्बिसलाई नेपालबारे पूर्णरुपमा जानकारी छ ।

सायदै कमै नेपालीहरुले नेपालबारे यति धेरै चासो राखेका छन् भन्ने भान बेल्बिससँगको कुराकानीबाट यकीन हुन्छ । उनले कुराकानी पछि आफ्नो जीवनका दशकौं पुराना तस्वीरहरु नेपाली मिडियाहरुमा नै पहिलोपटक अनलाइनखबरलाई उपलब्ध गराएका छन् ।

भूकम्प पछि बेल्बिसको सहयोग

बैशाख १२ गते देशमा विनाशकारी भूकम्प पछि बेल्बिसको सक्रियता झनै बढ्यो । सार्बजनिक कार्यक्रमहरुमा बेल्बिस थुप्रै पटक रोए । कतिपटक उनको बोल्दा बोल्दै गला अबरुद्द भयो । उनको बोली सुनेर नेपालीहरु त रोए नै स्पेनिसहरु पनि पटक-पटक रोए । उनले गैर आवासीय नेपाली संघ स्पेन र यहाँस्थित नेपाली संघ संस्थाहरु मिलेर रकम संकलन गर्दा खुलेर सहयोग गरे ।

बार्सिलोनाको रमणीय एवं पर्यटकीय डाँडा टिबीदाबुमा उनकै पहलमा नेपाल केन्दि्रत महोत्सव सम्पन्न भयो । महोत्सवमा नेपाली पोशाक, भेषभूषाको नेपाली साँस्कृतिक पहिचान झल्कने गीत संगीतहरु प्रस्तुत गरिएको थियो । नेपाल अझै पनि पर्यटकलाई सुरक्षित छ भन्ने सन्देश महोत्सवमा सहभागी करिब ७ हजार पर्यटकहरु माझ पुर्‍याउन बेल्बिस सफल समेत भए ।

जीवनको उतारार्ध नेपालमै बिताउने इच्छा

Luis-Belbis-Spain-2

लामो समयदेखि नेपाल र नेपालीहरुको सहयोग गर्दै आएका बेल्बिस जीवनको उतारार्ध नेपालमा नै गुजार्न ईच्छुक छन् । तर उनको नेपाल सरकारप्रति एउटा गुनासो छ । त्यो के हो भने नेपाल सरकारले १ सय १६ पटक नेपाल भ्रमण गरिसकेका र ३० बर्षदेखि नेपालीहरुको हितमा काम गर्दै आएका बेल्बिस र अन्य पर्यटकहरुबीच कुनै अन्तर देखेन ।

नेपालमा रहनका लागि बिदेशीको हकमा नेपाल सरकारले एकपटकमा ५ महिनासम्म भिसा प्रदान गर्दै आएको छ । उनलाई नेपाल बस्न सक्ने बिशेष ब्यबस्थाको पहल यसअघि पेरिसस्थित नेपाली दुतावासले गरिदिएको थियो । फ्रान्सका लागि तत्कालानी नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले परराष्ट्र मन्त्रालयमा कुरा राखेका थिए तर कुनै सुनुवाई भएन ।

बेल्बिसले अनलाइनखबरसँग भने, ‘नेपाल मेरो दोस्रो घर हो जति चाहे उति नै बस्न पाऊँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment