Comments Add Comment

भारतको संविधानमा गणतन्त्र र धर्मनिरपेक्ष भए हुने, नेपालमा किन राजा चाहिने ?

१० साउन, काठमाडौं । भारतीय लोकसभामा सांसद आदित्यनाथले आइतबार काठमाडौंमा भाषण गर्नेक्रममा नेपालमा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र हुनैपर्ने जिकिर गरे । उनले यसबारे सांसदहरुलाई दबाव दिन नेपाली जनतासँग आग्रहसमेत गरे ।

Aaditya-Nath

स्मरण रहोस् भारतमा आजभन्दा ६० वर्ष अधि बनेको संविधानको प्रस्तावनामै धर्म निरपेक्षता लेखिएको छ । आफ्नो देशको संविधानमा धर्म निरपेक्षता लेखिएको र सोही संविधानअनुसार सपथ खाएर विधायक बनेका आदित्यनाथले नेपालमा आएर पाठ सिकाउने प्रयास गरे ।

विश्व हिन्दु महासंघका नेतासमेत रहेका आदित्यले आफ्नो देश भारतमा पनि धर्म निरपेक्षता हटाउनुपर्छ भनेर भाषणमा एक शब्द पनि बोलेनन् । उनले भारतमा राजतन्त्र हुनुपर्छ भनेर वकालत गरेनन् ।

तर, ५० वर्ष पहिल्यै राज्यलाई धर्मबाट निरपेक्ष बनाइसकेको देशबाट नेपालमा आएर उनले हिन्दुराष्ट्र, राजतन्त्र लगायतका जनताले अस्वीकार गरिसकेका विषयलाई ब्युँताउनुपर्ने राजनीतिक अभिव्यक्ति दिन हिच्किचाएनन् ।

भारतबाट आएका सांसद आदित्यले उनको देश भारतको संविधानमा किन धर्म निरपेक्ष लेखिएको हो र सोही संविधानमा सपथ खाएर राज्यसभाको विधायक बनेको हो भन्ने स्पष्टीकरण दिएनन् ।

भारतबाट नेपालमा आउने अधिकांश जोगीहरुले यहाँको परिवर्तन एवं जातीय र सांस्केतिक विविधतालाई बुझ्ने गरेका छैनन् । उनीहरुको जसको निम्तोमा आउँछन्, उसैको कुरा सुनेर आफ्नो धारणा बनाउँछन् ।

तर, देशमा कस्तो संविधान बन्नुपर्छ भनेर आन्तरिक छलफल भइरहेका बेला काठमाडौं आएका आदित्यले यहाँको आन्तरिक मामिलामा निर्धक्क प्रवेश गरे । उनले नेपालको अन्तरिम संविधानले आत्मसाथ गरेको प्रणालीलाई खुलेआम चुनौती दिने काम गरे ।

नेपालमा राजतन्त्र र हिन्दु राष्ट्र चाहिन्छ भन्ने भारतीय विधायकले भारतको संविधान संशोधन गर्न र धर्म निरपेक्षता हटाउन किन माग गर्दैनन् ? योचाँहि बुझिनसक्नु छ । कतै यो आफ्नो आङको भैंसी नदेख्ने, अरुको आङको जुम्रो देखेजस्तो त होइन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment