Comments Add Comment

आरबी ज्वेलर्सले ललितपुरको पिलाछेंलाई ‘टुरिजम भिलेज’ बनाउने

Pilanchhe-Namauna-Villege

१० साउन, ललितपुर । आरबी डाइमण्ड ज्वेलरीले ललितपुरको पिलाछें टोललाई टुरिजम भिलेजको रुपमा विकास गर्ने नमुना योजना सार्वजनिक गरेको छ । आरबीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत फिलाछेंलाई टुरिजम भिलेज बनाउन लागेको हो ।

सामाजिक क्षेत्रमा विगत लामो समयदेखि महत्वपूर्ण सहयोग गर्दै आएको ज्वेलरी अन्तर्गतको माया फाउन्डेसनले पिलाछें टोललाई नमुना शहर बनाउने छ । नेवार समुदायको बसोबास रहेको टोललाई भूकम्पले पूर्णरुपमा क्षति पुर्‍याएपछि पिलाछें पुनर्विकासमा माया फाउण्डेसन जुटेको हो ।

फाउन्डेसनले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलको उपस्थितिमा पिलाछें पुनर्विकास योजना कार्यक्रम सार्वजनिक गरेको छ । टोलको स्थलगत अवलोकनपछि उक्त योजना सार्वजनिक गरिएको हो ।

पिलाछें पुनर्विकासबारे बोल्दै योजना आयोगका उपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेलले भूकम्पले क्षति पुर्‍याएका गाउँ सहरको विकासमा सरकार प्रतिबद्ध रहेको बताए । उनले घरहरुको मौलिकता र संस्कृतिको पहिचान दिँदै पुनर्निमाणमा जुट्नुपर्ने खाँचो रहेको औंल्याएका छन् ।

‘स्थानीय जनशक्तीको परिचालनमार्फत देशको पुनर्निमाण गराईनेछ’ उपाध्यक्ष पोखरेलले भने- ‘सरकारले विभिन्न दातृ निकाय लगायतको सहयोगमा भूकम्पबाट प्रभावित क्षेत्रको दिर्घकालिन पुर्नसंरचना गर्नेछ ।’

आरबी ज्वेलर्सका सञ्चालक एवं माया फाउन्डेसका संस्थापक रमेश महर्जनले युवालाई रोजगारी दिने क्षेत्रमा योगदान गर्दै आएको फाउन्डेसनले भूकम्पको क्षतिलाई अवसरमा बदल्ने प्रण अनुरुप पिलाछें पुनर्विकास कार्यक्रम अगाडि बढाएको जानकारी दिए ।
सोही अनुरुप पिलाछेंमा भूकम्पले क्षति पुर्‍याएका ७५ घरहरुको नमुना पुनर्विकासमा आफुहरु जुटेको महर्जने बताए । नेपाल सुनचाँदी तथा रत्न आभुषण महासंघका अध्यक्ष समेत रहेका महर्जनले बैशाख १२ को भूकम्पले पुर्‍याएको क्षतिलाई अब विकासमा बदल्ने प्रण गरेको जानकारी गराए ।

ललितपुर पिलाछें पुनर्विकासबारे प्रष्ट पार्दै उनले भने- ‘परम्परागत संस्कृति र शैलीको संबर्द्धन गर्दै पिलाछें टोललाई व्यवसायीक हर्वका साथै टुरीजम हर्वकारुपमा विकास गरिनेछ । भवनहरुलाई भूकम्प प्रतिरोधि बनाई मौलिकता झल्कने क्रियाकलाप अपनाई सामाजिक तथा पर्यटकीय क्षेत्रकोरुपमा विकास गरिनेछ । जुन स्थानीयको उत्थान गर्ने नमुना सहर हुनेछ ।’

पर्यटन व्यवसायी योगेन्द्र शाक्यले पिलाछें टोललाई नमुना पर्यटकीय सहरको रुपमा विकास गर्ने परिकल्पना स्वागतयोग्य कदम भएको उल्लेख गरे । पर्यटन वर्ष सन् २०११ का संयोजक समेत रहेका शाक्यले भूकम्पले क्षतिग्रस्त स्थलहरुको पर्यटकीय विकासमा सबैको सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा स्थानीयहरुले ३० प्रतिशतसम्म श्रमदान गर्न तयार रहेको बताएका छन् । ७५ घरपरिवार बसोबास गर्ने पिलाछें टोलका महर्जन नेवारहरु कृषिकार्य, डकर्मी, मुर्तीकला, हाकुपटासी बुन्ने, सुकुल बुन्ने पेसामा आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment