Comments Add Comment

पन्जाबमा हमलापछि मोदीले बोलाए आकस्मिक बैठक

११ साउन, काठमाडौं । पन्जाबमा आतङ्कवादी हमला भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीमा बरिष्ठ मन्त्रीहरुको आकस्मीक बैठक बोलाएका छन् ।

पन्जाबको गुरदासपुरमा सशस्त्र हतियारधारी समूहले आक्रमण गर्दा कम्तिमा ६ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् ।

gurdaspur_attack

सोमबार विहान जम्मु जाँदै गरेको यात्रुबसमा सशस्त्र समूहले पहिले आक्रमण गरेको थियो  । सेनाको पोशाक लगाएको सो समूहले त्यसलगत्तै दीनानगर पुलिस चौकी कब्जा गरेको थियो ।

त्यसपछि सेना र सशस्त्र समूहबीच गोली हानाहान भएको थियो ।

मानवबस्ती बीचमा रहेको पुलिस चौकीमा घुसेर सशस्त्र लडाकूहरुले भारतीय सुरक्षाकर्मीहरुमाथि आक्रमण जारी राखेका छन् । उनीहरुले चौकीमा रहेको हतियार र विष्फोटक पदार्थ प्रयोग गरिरहेको बताइएको छ ।

घटनास्थलमा सेनाको टोली परिचालन गरिएको छ । सेनाले सशस्त्र लडाकूहरुलाई नियन्त्रणको प्रयास जारी राखेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

india-pakistan-border

आक्रमणकारीको पहिचान भैसकेको छैन । तर, लश्कर-ए-तोएबाको हात रहेको प्रारम्भिक अनुमान गरिएको छ । आक्रमणकारी एक कारमा चढेर आएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । लडाकूहरु १०-१५ जनाको संख्यामा रहेको अनुमान छ ।

अस्पतालमा पनि आक्रमण, रेलवे लाइनमा बम

सोमबार नै दीनानगर पुलिस चौकी नजिकै रहेको एक अस्पतालमा पनि आतंकवादी आक्रमण भएको छ ।

सो आक्रमणमा दुई जना विरामीको मृत्यु भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

यस्तै पठानकोट-अमृतसर रेलवे लाइनमा पाँचवटा बम बरामद भएका छन् ।

देशभर उच्च सुरक्षा सतर्कता

पन्जाबमा आतंकवादी हमला भएपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । पाकिस्तानसँग सीमा जोडिएका क्षेत्रहरुमा थप सुरक्षाकर्मी परिचालन गरी कडाइ गरिएको छ । सर्बसाधारणलाई घर बाहिर ननिस्किन स्थानीय प्रशासनले निर्देशन दिएको छ ।

गृहमन्त्री राजनाथ सिंहले स्थिति छिट्टै नियन्त्रणमा आउने बताएका छन् ।

पन्जाबमा हमला भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीमा बरिष्ठ मन्त्रीहरुको आकस्मीक बैठक बोलाएका छन् । बैठकमा रक्षामन्त्री मनोहर पर्रिकर, वित्तमन्त्री अरुण जेटली लगायत सहभागी छन् ।

यसैगरी पन्जाबका मुख्यमन्त्री प्रकाश सिंह बादलले पनि आपतकालीन बैठक बोलाएर पन्जाबमा रेड अलर्ट जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment