Comments Add Comment

सरकारले एकैदिन बाँड्यो दुई करोड ३७ लाख

१२ साउन, काठमाडौं ।  सरकारले ‘राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने र अति विपन्न व्यक्तिको औषधि–उपचार तथा आर्थिक सहायता’ शीर्षकमा दुई करोड ३७ लाख ५० हजार रुपैयाँ बाँडेको छ । तीन सय ८१ जनालाई ५० हजारदेखि पाँच लाखसम्म वितरण गरिएको छ ।

nepali-noteसत्तारुढ दलहरू, प्रधानमन्त्रीको सचिवालय, मन्त्री, सभासद्लगायतको सिफारिसमा आर्थिक वर्षको अन्त्यतिर सरकारले रकम वितरण गरेको हो । स्वास्थ्य मन्त्रालयले लगेको प्रस्ताव मन्त्रिपरिषद्को १४ असारको बैठकले पारित गरेको नयाँ पत्रिकामा खबर छ ।

स्वास्थ्य मन्त्रालयमार्फत रकम वितरण भइरहेको छ । आर्थिक सहायता पाउनेमा केही गम्भीर प्रकृतिका बिरामी भए पनि केही सामान्य रोगी छन् । आँखा, रक्तचाप, बाथरोग, आगोले जलेकाहरूलाई पनि पहुँचका आधारमा रकम दिइएको छ । प्रधानमन्त्रीको निजी सचिवालयको सिफारिसमा एक लाखका दरले आर्थिक सहायता दिइएका १० जनालाई के रोग लागेको हो भन्ने नै खुलाइएको छैन ।

प्रधानमन्त्री सुशील कोइरालाको स्वकीय सचिवालय, उपप्रधानमन्त्री वामदेव गौतम, विभिन्न मन्त्रीहरू, सभासद्, सत्तारुढ एमाले र कांग्रेसको सिफारिसमा धेरै रकम बाँडिएको छ । पहुँच नभएका गम्भीर बिरामीले भने सरकारी राहत पाउन सकेका छैनन् ।

प्रधानमन्त्री कोइरालाको सचिवालयको सिफारिसमा १७ जना, गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका उपप्रधानमन्त्री गौतमको सिफारिसमा आठ, खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको सिफारिसमा चार, वाणिज्यमन्त्री सुनीलबहादुर थापाको सिफारिसमा पाँच, सिँचाइमन्त्री एनपी सावदको सिफारिसमा दुई, एमालेको जिल्लादेखि केन्द्रीय कार्यालयसम्मको सिफारिसमा ३६, कांग्रेसको सिफारिसमा १३ जनालाई औषधि–उपचार खर्च दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment