Comments Add Comment

भैरहवा विमानस्थल छेउमा घर-घडेरी किन्नु जोखिमपूर्ण

अन्तराष्ट्रिय टर्मिनल र बिमान पार्किङस्थल
अन्तराष्ट्रिय टर्मिनल र बिमान पार्किङस्थल

सलमान खान
१२ साउन, भैरहवा । के तपाइ भैरहवाको गौतमबुद्ध विमानस्थल (एयरपोर्ट) को छेउछाउमा जग्गा खरिद गर्दै हुनुहुन्छ ? यदि खरिद गर्दै हुनुहुन्छ भने होशियार रहनुस् । किनभने विमानस्थलको छेउमा जग्गा किन्नु जोखिमयुक्त रहेको छ ।

स्तरोन्नती भइरहेको विमानस्थलको जोखीमयुक्त क्षेत्रमा अहिले धमाधम घडेरी भन्दै जग्गा बिक्री गरेको पाइएको छ । धावन मार्गको नजिकै बिजुलीका पोल ठडाएर ग्राभेल बाटो बनाइ आकर्षक घडेरी भन्दै बिक्री वितरण गरिएको छ ।

अहिले विमानस्थलको चारैतिर जग्गा व्यवसायीहरुले जग्गा बिक्री गरिरहेका छन् । तर, यस्ता प्लटिङ गरिएको जग्गाहरु जुनसुकै समयमा पनि अधिग्रहण हुनसक्ने बताइएको छ । त्यतिबेला हाल खरीद गरेको मूल्य मुआब्जामा पाउन कठिन हुने छ ।

अर्कोतर्फ एअरपोर्टको धवानमार्गको पूर्व पश्चिमतर्फ एअरपोर्टदेखि ३ सय मिटर टाढासम्म एक मिटर मात्रको उचाई बनाउन पाइन्छ । एकतल्ले घरको उचाई कम्तिमा ४ मिटर हुन्छ । त्यसकारण एक तल्लेमात्र घर निर्माणका लागि एयरपोर्टकै छेउछाउको जग्गा उपयुक्त नरहेको जानकार बताउँछन् ।

Bairahawa-Airport-Corner-3

एअरपोर्टको सिमानादेखि ३ सय मिटर टाढा एक मिटर मात्र उचाई निर्माण गर्न पाउने हिसावले एक तल्ले घर निर्माणको लागि एयरपोर्टको सिमानादेखि १ हजार २ सय मिटर टाढा ४ मिटर उचाई अर्थात एक तल्ले मात्र घर निर्माण गर्न पाइने छ ।

‘प्लटिङ गरिएको जग्गाहरु अहिले अधिग्रहणमा नपरे पनि एयरपोर्ट छेउका केही क्षेत्रका जग्गाहरु अधिग्रहणका लागि प्रस्ताव गरिएको र आवश्यक परेमा जुनसुकै समयमा पनि अधिग्रहण हुन सक्छ,’ गौतम बुद्ध बिमानस्थल भैरहवाका प्रमुख धमेन्द्र पाण्डेले भने, ‘घर निर्माण र बसाइको हिसाबले पनि विमानस्थलदेखि लुम्बिनी रोड हुँदै बेथरी दक्षिणसम्मको बसाई जोखिमयूक्त नै मानिन्छ ।’

उनका अनुसार उक्त क्षेत्रमा विमानस्थलले तोकेको मापदण्ड बिपरीत आफूखुसी घर निर्माण समेत गर्न पाइँदैन । फेरी बिमानस्थलको स्तरउन्नती गर्नुपर्‍यो भने पहिला त्यही (हाल प्लटिङ्ग गरिएको) जग्गा नै अधिग्रहण हुने हो । त्यतीबेला मुआब्जाको समस्या हुनसक्ने उनले बताए ।

‘मुआब्जा बितरणको क्रममा अहिले किनेको दररेट अनुसार नपाई सो भन्दा कम हुन सक्छ भने निर्माण गरिएका घरको मुआब्जा समेत निर्माण लागत अनुसार नहुन सक्छ, त्यसकारण हामीले उक्त क्षेत्रमा घर निर्माण तथा घडेरी खरिद गर्ने सल्लाह दिँदैनौं,’ पाण्डेले भने ।

Bairahawa-Airport-Corner-2

अर्कोतर्फ कहिलेकाहीँ कठिन अवस्थामा विमान अवतरणको क्रममा पूर्व र पश्चिमबाट अवतरण नभई उत्तरी दिशाबाट अवतरण भएको खण्डमा समेत बस्तिमा समस्या पर्नसक्ने विज्ञहरु बताउँछन् । विमान सँधै एउटै दिशाबाट आउँछ भन्ने हुँदैन ।

विमानको चाप तथा ट्राफिक समस्या भएको समयमा जुनसुकै क्षेत्रबाट अवतरण गर्नुपर्ने हुन्छ । त्यतीबेला सो क्षेत्रको बस्ति जोखिममा हुन्छ । तर, त्यही क्षेत्रमा आफू सुरक्षित रही जग्गा व्यवसायीले नगरपालिकामा मिलाएको सेटिङको आधारमा सिद्धार्थनगर नगरपालिका कार्यालयले ‘हालसम्म अधिग्रहणमा नपरेको’ भनी उक्त जग्गाको सिफारिस दिने गरेको छ ।

व्यवसायीहरुले त्यही सिफारिसको आधारमा सर्वसाधारणलाई महंगोमा बिक्री गर्दै आएका छन् ।

के छ एेनमा ?

विमानस्थलको परिभाषामा नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ ले वायुयान प्रस्थान वा अवतरण गर्ने कामको निमित्त पूरा वा आंशिक रूपमा प्रयोग हुने कुनै निश्चित वा सीमित जल वा स्थल क्षेत्र सम्झनुपर्ने र ‘विमानस्थल’ शब्दले त्यस क्षेत्रमा रहेका वा त्यस क्षेत्रसँग सम्बन्धित सबै भवन, टहरा, जहाज, डुंगा र घाटलाई समेत जनाउने उल्लेख छ ।

Bairahawa-Airport-Corner

त्यस्तो क्षेत्रमा प्राधिकरणले हवाई सुरक्षालाई ध्यानमा राखी विमानस्थल वा विमानस्थल क्षेत्रभित्रको कसैको चल, अचल सम्पत्तिको भोग चलनमा शर्तयुक्त बन्देज लगाउन सक्ने ब्यवस्था पनि उक्त ऐनले गरेको छ ।

त्यस्तै बिमानस्थल क्षेत्र वरपर तोकिएको शर्त बन्देजमा उल्लेखित उचाई भन्दा बढीको भवन, घर, टहरा, टावर, लट्ठा, रूख वा अन्य कुनै कुराको निर्माण गर्न वा खडा गर्न, उचाई बढाउन प्रतिबन्ध लगाउने वा भैरहेको त्यस्तो भवन, घर, टहरा, लट्ठा, रूख आदि पूरै वा केही भत्काउन, उखेल्न वा काट्न लगाउन सकिने छ भनी उक्त ऐनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment