Comments Add Comment

उपत्यकामा एक वर्षमा भएको मोटरसाइकल दुर्घटनामा ५५ को मृत्यु

 घटना १
कुपन्डोल बस्ने १८ वर्षीय इभान मानन्धर सोमबार अमेरिका उड्ने तयारीमा थिए । त्यसैको खुसीमा आइतबार उनी साथीभाइ तथा आफन्त भेटघाटमा व्यस्त थिए । तर, सडकमा सानो गल्तीले इभानको सपना अधुरै रह्यो । आइतबार पुल्चोकमा भएको एउटा दुर्घटनामा उनको मृत्यु भयो ।
छोरालाई बिदाइ गर्ने तयारीमा जुटेको मानन्धर परिवार यतिवेला शोकमा डुबेको छ । उनी चढेको बा.५९प ९५९ नम्बरको स्कुटरलाई पुल्चोकको सुजुकी चोकमा ज्ञानोदय स्कुलको बसले ठक्कर दिँदा उनको मृत्यु भएको हो । छोरालाई उच्च शिक्षा अध्ययनका लागि अमेरिका पठाउने तयारीमा जुटेको मानन्धर परिवारले यतिवेला सो घटनालाई विश्वास नै गर्न सकिरहेको छैन ।

घटना २
पिपल्स डेन्टल कलेजमा बिडिएस अध्ययनरत सागर ज्ञवाली र संगीता विक २ साउनमा बाइपासबाट मोटरसाइकलमा माछापोखरीतर्फ फर्कंदै थिए । बाइपास ओरालोमा एउटा मोटरसाइकलले एक्कासि बाटो क्रस गरेपछि चालक ज्ञवालीले मोटरसाइकलमा ब्रेक लगाए । पछाडि बसेकी केसी उछिट्टिएर सडकमा झरिन् । टाउकोमा चोट लागेकी केसीको उपचारका क्रममा ९ साउनमा नर्भिक अस्पतालमा मृत्यु भयो । मोटरसाइकलचालक ज्ञवाली यतिवेला महानगरीय प्रहरी वृत्त बालाजुको हिरासतमा छन् । एक्कासि ब्रेक लगाउँदा मोटरसाइकल अनियन्त्रित भई ढल्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । युवतीको ज्यानै गयो भने युवकको भविष्य पनि अन्धकार बन्न पुगेको छ ।

घटना ३
गत शुक्रबार साँझ नख्खुमा दर्दनाक दुर्घटना भयो । ओभरटेक गर्ने क्रममा बसको टायरमा मोटरसाइकल ठोक्किँदा चालकको खुट्टा नै छुट्टियो । बसको ठक्करमा परी रौतहट घर भएका मोटरसाइकलचालक आकाश सिंहको खुट्टा छिनेको हो । उनको आधा खुट्टालाई प्रहरीले पछि गाडीमा राखेर अस्पताल पुर्‍याएको थियो । तीव्र गतिमा मोटरसाइकल चलाउँदा उनले खुट्टा नै गुमाउनुपरेको छ । घटनाको चार दिनपछि बसचालकलाई पक्राउ गरिएको ललितपुर ट्राफिकका प्रमुख इन्स्पेक्टर सीताराम हाछेथूले बताए ।

राजधानीमा हरेक दिनजसो यस्ता दुर्घटना हुने गरेका छन् । जसमा सबैभन्दा धेरै मोटरसाइकल तथा स्कुटरचालकले ज्यान गुमाउने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार राजधानीमा सबैभन्दा धेरै मोटरसाइकल नै दुर्घटनामा पर्छन् भने मृत्यु हुने र घाइते हुनेमध्ये पनि मोटरसाइकल चढ्नेकै संख्या धेरै छ ।

आर्थिक वर्ष ०७१/७२ मा उपत्यकामा ५५ मोटरसाइकलचालकले ज्यान गुमाएको ट्राफिक महाशाखाको तथ्यांक छ । उपत्यकामा भएका दुर्घटनामा एक सय ३३ जनाले ज्यान गुमाएकोमा ५५ मोटरसाइकल प्रयोगकर्ता रहेको महाशाखाले जनाएको नयाँ पत्रिकामा खबर छ ।

ट्राफिक महाशाखाका प्रवक्ता एसपी विश्वराज पोखरेलका अनुसार गत आवमा उपत्यकामा चार हजार नौ सय ९९ दुर्घटना भएका थिए । ती दुर्घटनामा आठ हजार नौ सय ५८ सवारीसाधन संलग्न थिए । जसमा तीन हजार दुई सय ५२ मोटरसाइकल रहेको पोखरेलले बताए । उपत्यकामा करिब चार लाख मोटरसाइकल तथा स्कुटर रहेको ट्राफिक प्रहरीको अनुमान छ ।

गत आवका दुर्घटनामा दुई सय ३३ जना गम्भीर घाइते भएका थिए भने तीन हजार ६ सय ४२ जना सामान्य घाइते भएका थिए । सबैभन्दा धेरै मोटरसाइकल चालकको मृत्यु हुने गरेको महाशाखाले जनाएको छ । त्यसमा पनि युवाले धेरै ज्यान गुमाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment