Comments Add Comment

असन्तुष्टलाई मनाएर संविधान जारी गर्ने प्रमुख दलको तयारी

१३ साउन, काठमाडौं । प्रमुख चार दलका शीर्ष नेताहरू जनताका सुझाब के–कसरी संविधानमा समेट्ने भन्नेबारे छलफलमा जुटेका छन् । उनीहरूले मधेसीसहित असन्तुष्ट दलसँग अनौपचारिक र औपचारिक वार्ता गरेर विश्वासमा लिने निर्णयसमेत गरेका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बिहान बसेको चार दलको बैठकले असन्तुष्ट पक्षसँग वार्ता गरेर संविधान जारी गर्ने वातावरण बनाउने निर्णय गरेको हो । मधेसकेन्द्रित दल सहमत भए प्रदेशको सीमांकन टुंग्याएर नामांकन प्रदेश सभालाई दिने गरी संविधान जारी गर्ने चार दलको अनौपचारिक सहमति छ ।

‘मधेसकेन्द्रित दलहरूसँग छलफल गर्ने र उहाँहरूलाई विश्वासमा लिने कुरा भएको छ,’ बैठकमा सहभागी एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘विशेषत: उहाँहरूसँग प्रदेशको सीमांकनबारे छलफल गर्न खोजिएको छ ।’ मधेसी दलका नेतासँग बुधबार वार्ता गर्ने चार दलको तयारी रहेको नयाँ पत्रिकामा खबर छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि मधेसी दलसँग संवाद गरेका थिए । प्रचण्डले तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतो, तराई–मधेस सद्भावनाका अध्यक्ष महेन्द्र राय यादव र संघीय सद्भावनाका अध्यक्ष अनिल झासँग ७ साउनमा छलफल गरेका थिए ।

प्रमुख दलका शीर्ष नेताले वार्ताको तयारी गरे पनि मधेसकेन्द्रित दलका नेताले भने कुनै खबर नभएको बताएका छन् । तमलोपा अध्यक्ष ठाकुरले भने, ‘अहिलेसम्म हामीलाई कुनै खबर छैन ।’

सहयात्री अन्य पार्टीका नेताहरू उपत्यकाबाहिर रहेकाले आन्तरिक छलफलसमेत नभएको ठाकुरले बताए । ‘अरू साथीहरू उपत्यकाबाहिर हुनुहुन्थ्यो, मंगलबार साँझसम्म आउने कुरा थियो,’ उनले भने, ‘वार्ताबारे म एक्लै केही भन्न सक्दिनँ ।’ वार्तामा बसेर अहिलेकै मस्यौदामाथि छलफल गर्नुको औचित्य नभएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment