Comments Add Comment

इन्दिरा सापकोटालाई चिन्नुहुन्न ? अब चिन्नुहुन्छ

चिरञ्जीवी पौडेल

Indira Sapkota (1)
‘मस्यौदा…. खोई मस्यौदा ?’
गत साता डिल्लीबजारस्थित विजय मेमोरियल स्कुलमा एक हजुरआमा कर्मचारीहरुसित उफ्रिरहेकी थिइन् । संविधानका लागि सुझाव संकलन गर्ने कार्यक्रममा भाग लिन आएकी उनलाई तत्कालै एकजनाले संविधानको मस्यौदा ल्याएर हातमा थमाए ।

‘भन्ने बेलामा एक महिनाअघि नै मस्यौदा हात-हातमा पुर्‍याउछौं भन्ने,’ उनी अझै पड्किन्, ‘अहिले लास्ट आवरमा आएर दिने ? अब कतिखेर पढेर सुझाव दिनु हँ मैले ?’

कर्मचारी केही बोलेनन् । मनमनै भने होलान्, ‘यो बुढेसकालमा के सुझाव दिनुपर्‍यो, घरमा नातिनातिना खेलाएर नबसेर !’

कर्मचारीले कदाचित् त्यस्तो भनेको भए, हजुरआमाले जवाफ दिन्थिन् होला, ‘घरमा नातिनातिना भए पो खेलाउनु, तिमीहरुका खेलाउन जानु ?’

म यी हजुरआमासित संविधानको विषयमा कुरा गर्न इच्छुक बनेँ र प्रस्ताव राखेँ ।

‘म त्यति अन्तवार्ता दिन त रुचाउन्न,’ उनले भनिन्, ‘तपाईंले भनिहाल्नुभो, ठिकै छ ।’

हामी स्कुलको एउटा कक्षा कोठाभित्र पस्यौं ।

‘ल हेर्नुस त, १२ गते शनिबार नपरेको भए, केटाकेटीको के हालत हुन्थ्यो होला ?’ उनले डेक्स र बेन्चलाई फलामे पातोले जोडिएको देखाउँदै भनिन् । अनि, बेन्चमा बसिन्, प्रौढ कक्षा पढ्न बसे जसरी ।

‘ल सोध्नुस् !’
‘तपाईंको नाम के हो ?’
जवाफ दिनुको साटो उनी आफ्नो ह्याण्डब्याग खोतल्न थालिन् । के झिक्लिन् ?
उनले झिकिन् एउटा भिजिटिङ कार्ड र मलाई दिइन् ।

मैले हेरेँ । यो कुनै महिला व्यवसायीको थियो, श्रीमती इन्दिरा सापकोटा नामकी । उनी थिइन्, आड तयारी पोशाककी प्रवन्धक, नेपाल गृहणी उद्योगकी संस्थापक, भोटु इन्दिरा समाज कल्याण संस्थाकी अध्यक्ष र साहारा खाद्य उद्योगकी प्रबन्धक ।

‘कसको कार्ड हो ?’
‘मेरै हो !’
सक्किगो नि ! मैले अपत्यारिलो नजरले हेरेको भान परेछ कि, फेरि दोहोर्‍याइन्, ‘मेरै नाम हो इन्दिरा सापकोटा ।’
‘ठूलो मान्छे पो हुनुहुँदो रहेछ त ?’
‘अरु पनि थुप्रै काम गर्छु, यसमा लेखेको छैन ।’

Indira Sapkota (3)(हो, ७८ वर्षीया इन्दिरा सापकोटाको क्रियाशीलता यतिमा सीमित छैन । अरु कैयन फुटकर कामहरु छन् ।  तर, उनी सजिलै यो स्थानमा पक्कै पुगेकी होइनन् । अबको प्रकरणमा ३० वर्षअघि श्रीमानलाई गुमाएपछि उनले कसरी घर स्याहारिन् र छोराछोरी हुर्काइन् ? हातखुट्टा लागेपछि तिनै छोराछोरीले कसरी उनलाई अवहेलना र तिरस्कार मात्रै होइन, भौतिक आक्रमण नै गरे, अनि सन्तानबाट परित्यक्त इन्दिराले कसरी एक्लो संघर्षमा आफूलाई देश र समाजमा स्थापित गराइन् भन्ने चर्चा हुने छ । उनकै शब्दमा : )

बिहेपछिका दिन
विसं. २००८ सालमा बिहे हुँदा म १३ वर्षकी थिएँ । श्रीमान १७ वर्षको । मैले ९ कक्षासम्म पढेकी थिएँ । बिहेपछि पढ्न पाइँन । श्रीमानले भने आइए पास गर्नुभयो । २०१९ सालमा छालाजुत्ता कारखाना स्थापना गर्ने नै उहाँ हो । उहाँ त्यसको प्रोक्युअरमेन्ट अफिसर हुनुहुन्थ्यो । त्यो बन्द भएपछि नेसनल ट्रेडिङमा आठौं तहको अफिसर हुनुभयो ।

घट्टेकुलोमा सुर्याेदय स्कुल पछाडि पुख्र्यौली घर थियो । अहिले पनि म त्यही घरमा बस्छु । सुरुमा त टोटल्ली गृहणी भएर बसेँ । श्रीमानको आम्दानीमै निर्भर थियो हाम्रो परिवार । हाम्रा चार सन्तान भए, तीन छोरा र एक छोरी । सकेसम्म सन्तानलाई सुखमै राखेर हुर्कायौं । राम्रो शिक्षादीक्षा दियौं । आफूले चाहुञ्जेल पढ्न नपाए पनि छोराछोरीलाई धेरै पढाउने मेरो पहिलेदेखिकै लक्ष्य थियो ।

छोराछोरीले एसएलसी पास गर्दासम्म श्रीमानकै कमाइले धानिरहेको थियो । तर, उच्च शिक्षा पढाउन आर्थिक अभाव हुन थाल्यो । त्यसैले एकदिन मैले श्रीमानसँग केही काम गर्ने सल्लाह गरेँ ।

‘के गर्छेउ ?’ उहाँले सोध्नुभयो ।

‘जागिर खानलाई पढेकी छैन । सिलाइ बुनाइ गर्छु, त्यही जानेकी छु ।’ मैले जवाफ दिएँ ।

उहाँले ‘ठीक छ’ गर भन्नुभयो ।

एउटी साथीको पसल थियो, हिमाली ब्लक भन्ने । मैले केही कपडाहरु सिलाएर पसलमा बेच्न राखेँ । त्यतिबेलाको समयमा दुई हजार रुपैयाँ नाफा भयो । अचार, तितौरा बनाएर पुस-सेल पनि गर्न थालेँ । यो २०३२ सालको कुरा हो ।
मेरो व्यवसाय फस्टाउँदै गएपछि परिवार चलाउन सजिलो भयो । सबै छोराछोरीलाई एमएसम्म पढायौं ।

श्रीमान ०४२ सालमा जानुभयो । उहाँका दुबै किड्नी फेल भएका थिए । उपचारका लागि भारत लगेकी थिएँ । त्यहाँ मेरा बहिनीज्वाइँ मधुरमण आचार्य हनुहूथ्यो । भारतमै उहाँको दाहसंस्कार गरियो ।

छोराहरुले मार्नै खोजे
श्रीमान छँदैखेरि नै छोराहरुले हामीलाई हेप्न थालेका थिए । तर, छोराछारीले राम्रो व्यवहार गरेनन् भनेर बाबुआमाले आफ्नो कर्तव्य पूरा नगर्ने कुरा आउँदैन । त्यसैले उनीहरुको शिक्षादीक्षामा हामीले कुनै कसर बाँकी राखेनौं ।

जेठो छोरा सुरेन्द्रराज सापकोटा अटोमोबाइल इन्जिनियर भयो । माइलो महेन्द्रले दुग्ध विकास संस्थानमा जागिर खायो । नवौं तहमा रिटायर्ड भयो । कान्छो उपेन्द्र अनुसन्धान(गुप्तचर)मा छिर्‍यो । उ एसपीबाट रिटायर्ड भयो । छोरी चाहिँ बिहे गरेर विदेश गई । उ अहिले अष्ट्रेलियामा बसिरहेकी छ ।

Indira Sapkota (2)

छोराहरुले पहिलेदेखि नै सबै सम्पत्ति उनीहरुलाई जिम्मा लगाएर घरबाट निस्कन मलाई दबाव दिँदै आएका थिए ।

श्रीमानको मृत्युपछि नेसनल ट्रेडिङले अढाइ लाख रुपैयाँ उपदान दियो । त्यो बेला यो ठूलो रकम थियो । यही पैसाबाट जेठो र माइलो छोराको बिहे गरिदिएँ । त्योबेला मैले दुई छोराहरुलाई राखेर भनेकी थिएँ, ‘बाबु हो, भाइको बिहे गर्न बाँकी छ ।

भाइको बिहेलाई पनि अलिकति राख्नुपर्छ ।’ उनीहरुले भने, ‘राख्नुपर्दैन, भाइको बिहे हामी गरिदिन्छौं ।’

दुईजनाको बिहेमा सबै पैसा सकियो । तर, उनीहरुले बोलेको के पुर्‍याउँथे । कान्छोको बिहे पनि मैले नै गरिदिएँ । घरछेउको चार आना जग्गा बेचेर कान्छो छोराको बिहे गरेँ । छोरीको बिहे भने बुवा छँदै भइसकेको थियो ।

मैले ती पुलिसको झाँको झारेँ । ‘तिमीहरु मलाई न्याय दिन आएका कि उपदेश दिन आएका’ भनेर हप्काएँ । मेरो भाइले जागिर लगाइदिएका प्रहरी रहेछन् । मलाई नमस्ते गरेर फर्के

बिहेपछि छोराहरुको टर्चर झन बढेर गयो । मलाई दुख दिन कुनै कसर बाँकी राखेनन् । निहुँ अरु केही थिएन, खाली सम्पत्ति । बसेर राम्रोसित कुरा पनि नगर्ने । एकोहोरो घर छाडेर जा भन्ने । तीनैवटा छोराको एउटै मति । हाम्रो तीन ठाउँमा जग्गा थियो । एउटा जग्गा कान्छो छोराको बिहे गर्न मैले नै बेचेँ । अरु दुईवटा घडेरी छोराहरुको दवाबमा बेच्नुपर्‍यो । बेचेको पैसा पनि सबै उनीहरुले नै लगे । अहँ, मलाई एक पैसा दिएनन् ।

घरचाहिँ मैले कसैगरी छोड्न मानिनँ । घर छोडेर म बुढी कहाँ जाउँ ? एकपटक त मलाई मार्नै खोजे । जेठो छोराले ढोकाले चेपिदियो । माइलोले पनि उसलाई साथ दियो । मैले पुलिसलाई फोन गरेँ । पुलिस त आयो । तर, उनीहरुलाई केही गरेन । कान्छोले ‘म अनुसन्धानको डीएसपी हुँ’ भनेर कार्ड देखाएपछि उल्टै स्यालुट ठोके । अनि मलाई नै छोराहरुसित मिलेर बस्नुपर्छ भनेर उपदेश दिन थाले ।

मैले ती पुलिसको झाँको झारेँ । ‘तिमीहरु मलाई न्याय दिन आएका कि उपदेश दिन आएका’ भनेर हप्काएँ । मेरो भाइ (स्व. रुपकराज शर्मा) ले जागिर लगाइदिएका प्रहरी रहेछन् । मलाई नमस्ते गरेर फर्के ।

आखिरमा छोराहरुले नै मलाई छाडे । जेठो र माइलो छोराले ०४९ सालदेखि छोडेका हुन् । कान्छो चाहिँ ०६० सालसम्म सँगै थियो । मलाई सुगरले च्यापेपछि उसले पनि छोडेर हिँड्यो । त्यसयता एक्लै छु ।

यतिबेला म डाँडामाथिको घाम न हुँ । मेरा चारजना सन्तान कोही पनि मसित छैनन् । घरमा काम सघाउन एकजना बहिनीलाई राखेकी छु । छोरीले अष्ट्रेलियाबाट बेलाबखत फोन गर्छे । सञ्चोविसञ्चो सोध्छे । के चाहिन्छ आमा भन्थे । म केही चाहिँदैन भन्छु । कस्तो दुःखका बेलामा त कसैलाई दुख देखाइँन । आफ्नै माइतीसित पनि केहि मागिँन । अहिले मलाई के चाहिएको छ र ?

तीन छोराहरु काठमाडौंमै छन् । माइलोको घर इमाडोलमा र कान्छोको  यतै धोबीखोलातिर छ भन्ने सुनेकी छु, अहिलेसम्म देखेकी छैन । जेठोले बालुवाटारको घर बेचेर अहिले हाम्रै पुख्र्यौली घरको दुई कोठामा बस्छ । उसका सन्तानहरु लण्डनमा छन् । उसित पनि मेरो कहिल्यै देखभेट हुँदैन । छोराहरुले घर बनाएर भोज गरे, तर मलाई बोलाएनन् । अस्ति भुइँचालो आउँदा मन खुबै आत्तियो । छोराहरु सहारा दिन आउलान् कि भनेको, अहँ फोनसम्म गरेनन् ।

दशैंमा टीका टाँसेर हिँड्छन्

जेठ २८ गते कान्छो छोराले छोरीको बिहे गर्‍यो । मलाई बोलाउँदा पनि बोलाएन । बोलाएन भनेर सुर्ता लिन पनि छोडिसकें

दशैंमा टीका टाँस्न नातिनातिना लिएर आउँछन् । टीका टाँसेर केही मुखमा नहाली, राम्रोसित बोल्दा पनि नबोली बाटो लाग्छन् । मेरा सन्तानसित भेट हुने भनेको त्यत्ति दुई मिनेट हो । अरुबेला भेट्न त परै जावस, एक कल फोनसम्म कसैले गर्दैन ।

आमा ख्वाउने औंशीको दिन छोरीले विदेशबाट फोन गर्छे, तर छोराहरुले सम्झिँदैनन् ।
अहिले त नातिनातिना पनि ठूला-ठूला भइसके । उनीहरुसित भेट हुने भनेको पनि त्यही दशैंमा झुलुक्क हो । छोराहरुले नै माया नगरेपछि नातिनातिनाबाट के आशा राख्नु ?

अस्ति जेठ २८ गते कान्छो छोराले छोरीको बिहे गर्‍यो । मलाई बोलाउँदा पनि बोलाएन । बोलाएन भनेर सुर्ता लिन पनि छोडिसकें । अहिलेसम्म कतिथोक गरिसके, कहिल्यै कसैले बोलाएका छैनन् । यसमा कति सुर्ताइरहनु ?

सन्तानले माया गरेनन् भनेर आफूलाई पनि माया नलाग्ने हुँदो रहेनछ । आफूले नौ महिना गर्भमा राखेर जन्माएका, स्याहार सुसार गरेर ठूला बनाएका सन्तानलाई कसरी भूल्न सकिन्छ र । त्यसमाथि यो बुढेसकालमा । पहिले-पहिले खुबै मन रुन्थ्यो । तर, अब बानी परिसकें ।

अचेल त मलाई देश नै मेरो परिवारजस्तो लाग्छ । घरमा कमै बस्छु । बिहान उठेर मर्निङ वाक गर्‍यो, फर्केर नुहायो, खाना खायो, अनि हिँड्यो । बेलुकी एकैचोटि सात बजे घरमा । घरमा छँदा रेडियो सुन्छु । टीभी हेर्न मन पर्दैन ।

एक्ली भए पनि मलाई खान लाउन दुख छैन । आफूले कमाएको पैसा समाजसेवामा खर्च गर्छु । अहिले तीन उद्योग चलाइरहेकी छु । एउटा स्कुल पनि छ हाम्रो समुहले सञ्चालन गरेको गोकर्णेश्वर गाविसमा । १२ वर्ष भयो त्यो स्कुललाई हामीले सहयोग गरेको । महिलालाई आय आर्जन गर्न प्रेरित गर्छु । केन्द्रीय कारागारका महिलाहरुलाई सीपमूलक तालिम दिँदै आएकी छु ।

नौ वर्षसम्म स्वेटर विदेश एक्सपोर्ट गरेँ । ५० प्रतिशत कमिसन आउँथ्यो । द्वन्द्वकालपछि छोडेँ ।

एक्ली छैन म

अहिले मलाई आफू एक्ली छु भन्ने लाग्दैन । देश नै मेरो परिवार हो । हातगोडा चलुञ्जेल काम गरेर बस्छु आफ्नै देशमा । चल्न छाडेपछि कुनै आश्रममा शरण लिन्छु

म ज्येष्ठ नागरिकको सञ्जालमा पनि काम गर्छु । धेरै ज्येष्ठ नागरिकहरु मलाई आफ्नो दुख सुनाउनुहुन्छ । मेरो पो समाजमा आफ्नो हैसियत छ, हिँडडुल गर्न, परेको ठाउँमा बोल्न सक्छु । तर, मेरो ठाउँमा अरु कोही भएको भए के अवस्था हुन्थ्यो होला ? त्यसैले ज्येष्ठ नागरिकको सवालमा राज्यको बलियो नीति हुनुपर्छ भनेर आवाज उठाइरहेका छौं ।

छोराछोरीले अवहेलना गरेता पनि राज्य र समाजबाट मैले प्रशस्तै मानसम्मान र इज्जत पाइरहेकी छु । मेरो घरमा हेर्नुभयो भने डंगुर सम्मानपत्रहरु छन् । अस्ति भर्खरै महेन्द्रनारायण निधी पुरस्कार पाएँ । पुरस्कार लिँदा भाइ दीपकुमार उपाध्याय (भारतका लागि नेपाली राजदूत) लाई बोलाएकी थिएँ, तर आएन ।

मैले पुरस्कार लिँदा आफ्ना मान्छेहरु वरिपरि भए हुन्थ्यो जस्तो लाग्छ, तर कोही हुँदैनन् ।

भगवानको कृपाले, अहिलेसम्म स्वास्थ्यले धोका दिएको छैन । भगवानको कृपाले बिरामी परेकी छैन । जीवनमा बिरामी परेर पाँच दिन ओछ्यानमा सुतेको थाहा छैन । सुगर हुँदा पनि हिँडिरहेकै थिएँ । मलाई भविश्यको चिन्ता छैन । एक मिनेटपछि के हुन्छ भन्ने थाहा नभएको दुनियाँमा किन भविश्यको चिन्ता लिएर बस्ने ?

अहिले मलाई आफू एक्ली छु भन्ने लाग्दैन । देश नै मेरो परिवार हो । विगतमा छोरीले आफूसँगै बस्न बोलाएकी थिएँ । गएर केही दिन घुमेर फर्केँ । बस्न मानिनँ । किन बस्ने आफ्नो देश छोडेर ? हातगोडा चलुञ्जेल काम गरेर बस्छु आफ्नै देशमा । चल्न छाडेपछि कुनै आश्रममा शरण लिन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment