Comments Add Comment

एउटी छोरीको चुम्बनमा लुकेको बाबुको माया र खुशी

sangam-and-gajit

चलचित्र ‘मायाज बार’मा अभिनय गर्दा नायक गजित बिष्टका कति सपनाहरु पुरा भएका थिए भने कति सपनाहरु समय घर्किएकाले पुरा हुन सकेनन् । हरेक क्षण र मिनेटमा बदलिने चलचित्र क्षेत्रको प्रतिस्पर्धा र माहोलले गजितलाई पनि छोयो । उनले आफ्नो नायक बन्ने सपना त पुरा गरे, तर समय भन्दा केही ढिलो प्रवेश गर्दा सोचे जस्ता खुड्किलाहरु भेट्टयाउन केही अप्ठ्यारो परिरहेको छ ।

गजितमा दुइवटा मानव लुकेको छ । एउटा नायक त अर्को छोराछोरीको बाबु । दुबैलाई निर्वाहा गर्न त्यती सजिलो छैन, तर गजित एकसाथ दुई पाइलाहरु चालिरहेका छन् ।

मंगलबार १३ बर्षकी छोरी संगम बिष्टले देशकै सवैभन्दा ठूलो चलचित्र पुरस्कार ‘राष्ट्रिय चलचित्र पुरस्कार’ पाउँदै गर्दा गजितका आँखा रसाए । हातले थपडी बझाउँदै गर्दा आँखाबाट नदेखिने गरि चुहिएका आँशुहरु पुछ्न धौ-धौ पर्‍यो उनलाई ।sangam-with-rastrapati

गजित संझन्छन्-‘३ बर्षको उमेरमा जब छोरीले कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको ‘एराउन्ड द वल्र्ड’को प्रोमामा अभिनय गरिन्, त्यतीबेला मैले उनीभित्र आफूलाई देख्न थालिसकेको थिएँ ।’ सानैबाट टीभीको अगाडि बसेर कलाकारले गरेजस्तै अभिनय गर्न खोज्ने संगममाथि १३ बर्षको उमेरमा बल्ल चलचित्र क्षेत्रको आँखा पर्‍यो ।

छोरीलाई यो क्षेत्रमा ल्याउन गजितले उतिसाह्रो संघर्ष गरेनन् । कान्तिपुर टीभीको प्रोमो खेलेपछि संगमले ४ बर्ष नपुग्दै ‘उपकार’ नामको सिरियल खेलिसकेकी थिइन् । यसपछि, उनले गायिका कुन्ती मोक्तानको ‘आमाले माया गरी’ बोलको गीतको भिडियो खेलिन् । संगमको आँखामा पनि बाबु गजितप्रतिको अथाहा माया र स्नेह छ ।

घरमा बाबु गजित र आमा संझना पोख्रेलले चलचित्रकै वातावरण दिएकाले संगमलाई यो सफलता संभव भएको हो । संगमले ‘जय शिव शंकर, बरदान, श्रीमान्, लभ यू बाबा’ लगायतका आधा दर्जन चलचित्रमा काम गरिसकेकी छिन् । उनले चलचित्र ‘लभ यू बाबा’बाट उत्कृष्ट अभिनेत्रीतर्फको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्राप्त गरेकी हुन् ।

छोरा सौगात बिष्टले ‘विश्वकै कान्छा निर्देशक’को रुपमा गिनिज बुकमा नाम लेखाउँदा गजित र संझनाले थुप्रै रात निदाएका छैनन् । चलचित्र ‘लभ यू बाबा’का लागि लाखौ रकम लगानी गर्दा यी आमा बाबुले लगानीको प्रतिफल भन्दापनि छोराको प्रतिफलको आशा गरे । गजित कैयौ रात निदाएनन्, संझनाले कैयौ पलहरु छोराको सफलताका लागि भाकल गरिन् । सायद यसैको प्रतिफल आज छोरा र छोरीले बाबु-आमा चिनाएका छन् ।

गजित भन्छन्-‘म आफूलाई छोराछोरी भित्र देख्छु । मेरा अनमोल रतनले मेरा कैयौं अधुरा सपनाहरु पुरा गरेका छन् । मैले मिहिनेत गर्दै जाँदा कतिपय कुराहरु सिक्न र पाउन सकिन, त्यो छोराछोरीबाट देखिदै जाँदा कुन बाबु-आमाको मन खुशी हुँदैन र ?’

छोरीले ‘राष्ट्रिय चलचित्र पुरस्कार’ पाउँदाको क्षणलाई गजितले शब्दमा बयान गर्न सकेनन् । उनले भने-‘छोराले गिनिज बुकमा नाम लेखाउँदा  म जती खुशी थिएँ, त्यो भन्दा कैयौ गुणा खुशी आज छोरीको सफलतामा छु ।’ संगम सवैभन्दा कम उमेरमा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ पाउने एक मात्र नेपाली अभिनेत्री हुन् ।

यस्तो समयमा हरेक बाबु आमाको छात्ती गर्वले फराकिलो हुन्छ, गजित र संझनाको पनि यस्तै भएको छ । गजित अब छोरा र छोरीले जुन बाटो रोज्छन्, त्यसमै हिड्न दिने बताउँछन् । तर, आफू दुबै जना चलचित्र क्षेत्र भन्दा बाहिर जान नसक्नेमा विश्वस्त भएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment