Comments Add Comment

ट्रेकिङ एजेन्सीको अपिल : नेपाल सुरक्षित छ, भ्रमणमा आउनुस्

१३ साउन, काठमाडौं । मुलुकका प्रमुख २० ट्रेकिङ एजेन्सीहरुले विदेशी पर्यटकलाई नेपाल सुरक्षित रहेको बताउँदै भ्रमणमा आउन आहृवान गरेका छन् । नेपालमा ट्रेकिङ आउने अधिकांश पर्यटकलाई यी एजेन्सीले ट्रेकिङ गराउँछन् ।

अन्तर्राष्ट्रिय ख्यातीप्राप्त न्यूजिल्यान्डको मियामोटो नामक संस्थाको प्रतिवेदनलाई आधार बनाउँदै प्रमुख ट्रेकिङ एजेन्सीहरुले पर्यटकलाई नेपाल भ्रमणमा आउन संयुक्त आहृवान गरेका हुन् ।

Annapurna Base Camp

सरकारले मियामोटोको सहयोगमा भूकम्पपपछि अन्नपूर्ण क्षेत्रको भौगोलिक अवस्थाका बारेमा अध्ययन गरेको थियो । मुलुकको प्रमुख ट्रेकिङ गन्तव्य मानिने अन्नपूर्ण क्षेत्रको गहिरो अध्ययन गरी मियामोटोले पदयात्राका लागि सुरक्षित रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

अन्नपूर्ण सर्किट ट्रेकिङका लागि विश्वमै प्रशिद्ध मानिन्छ । नेपालमा ट्रेकिङका लागि आउने करिव ६० प्रतिशत पर्यटक अन्नपूर्ण क्षेत्रमा पुग्ने गर्छन । करिव २० प्रतिशत पर्यटक खुम्बु क्षेत्रमा जान्छन भने बाँकी २० प्रतिशत पर्यटक अन्नपूर्ण, मनास्लु लगायतका गन्तव्यमा पुग्ने गर्छन् ।

अन्तर्राष्ट्रिय संस्था मियामोटोको प्रतिवेदनमा अन्नपूर्ण ट्रेकिङ रुटमा रहेका पुल, बाटो लगायतका पूर्वाधारमा भूकम्पको क्षति ३ प्रतिशतमात्र रहेको उल्लेख छ । अन्नपूर्ण क्षेत्रमा भूकम्पले सामान्य क्षतिमात्र पुर्‍याएको हुँदा ‘ट्रेकिङका लागि सुरक्षित’ रहेको मियामोटोले ठहर गरेको छ ।

मियामोटोको व्यवसायीक विज्ञता र विश्वसनियता उच्च रहेको छ । हाइटीमा भूकम्प जाँदा पनि मियामोटोले यस्तै अध्ययन गरेको थियो । मियामोटोको प्रतिवेदनलाई विश्वका चर्चित ट्राभल तथा ट्रेकिङ एजेन्सी तथा बीमा कम्पनीहरुले पत्याउँछन् ।

मुलुकका प्रमुख २० ट्रेकिङ एजेन्सीले संयुक्त अपिलपत्र जारी गरी मियामोटोको प्रतिवेदनको स्वागत गरेका छन् । उनीहरुले यही प्रतिवेदनलाई आधार बनाउँदै नेपाल भ्रमणमा आउन पर्यटकलाई अपिल गरेका हुन् । भूकम्पपछि पनि नेपालका अधिकांश गन्तव्यहरु भ्रमणका लागि सररिक्षत रहेको उनीहरुको भनाई छ ।

बिसवटै ट्रेकिङ एजेन्सीका प्रमुखहरुले अन्तर्राष्ट्रिय जगतमा नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गर्दै पर्यटक भित्राउन पहल गर्ने सहमति गरेका छन् । नेपालको यथार्थ जानकारी अन्तर्राष्ट्रिय जगतमा फिजाउँदै आगामी सिजनसम्म मुलुकमा पर्यटक आउने वातावरण सिर्जना गर्ने प्रतिवद्धता उनीहरुको छ ।
पर्यटकलाई भ्रमणमा आउन अपिल गर्ने ट्रेकिङ एजेन्सीहरुमा थामशेर्कु ट्रेकिङ, एक्स्पोलोर हिमालय, हिमालयन इन्काउन्टर्स, हिमालयन होलिडेज, सांगि्रला नेपाल ट्रेक, वल्र्ड वाइड ट्रेकिङ नेपाल, लामा एक्स्क्रुसन्स रहेका छन् ।

अन्य ट्रेकिङ एजेन्सीहरुमा हिमालयन गाइड नेपाल, एडभेञ्चर आउटडोर एक्सक्रुसन, रोयल माउन्टेन ट्राभल, हिमालयन एक्स्पीडिसन, हिमायलन सोसियल जर्नी ट्रेक, चोयु ट्रेकिङ, इन्टरनेशनल ट्रेक्स, सुमित नेपाल ट्रेकिङ, ट्रान्स हिमालयन ट्रेकिङ, हाइल्यान्ड एक्सक्रुसन, हिमालयन जर्नी लगायत रहेका छन् ।

भूकम्पपछि मुलुकको पर्यटन क्षेत्र सुस्ताएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट नेपाल क्षतविक्षत भएको सन्देश प्रवाह हुँदा पर्यटक आउन डराइरहेका छन् । तर, अमेरिका, बेलायत, न्यूजील्यान्ड, अष्ट्रेलिया, नर्बे, फिनल्यान्ड, नेदरल्यान्ड लगायतका मुलुकहरुले नेपाल भ्रमणका लागि आफ्ना नागरिकलाई बाटो खुला गरिदिएका छन् ।

सेप्टेम्बरदेखि सुरु हुने सिजनसम्म पर्यटक आगमन बढ्ने विश्वासमा व्यवसायीहरु रहेका छन् । सरकार र व्यवसायी पनि यस कार्यमा जुटिरहेका छन् । भूकम्पले राजधानीमा रहेका ऐतिहासिक संरचनाहरुमा क्षति पुगेपनि सरकारले पर्यटकका लागि खुला गरिदिएको छ ।

मुलुकका प्रमुख पर्यटकीय गन्तव्यहरु पोखरा, सौरहा, लुम्बिनी, अन्नपूर्ण, सगरमाथा लगायत सुरक्षित रहेका छन् । नेपाल आउने पर्यटकलाई यी क्षेत्रमा सरक्षित भ्रमण गराउन सकिने व्यवसायीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment