Comments Add Comment

मुलुकभरका सम्पूर्ण चिनी उद्योग बन्द गर्ने चेतावनी

Sugar-Industry-Association

१३ साउन, काठमाडौं । नेपाल चिनी उद्योग संघले मुलुकभरका सम्पूर्ण चिनी उद्योगहरु बन्द गर्ने चेतावनी दिएको छ । संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो चेतावनी दिएको हो ।

संघका अध्यक्ष शशिकान्त अग्रवालले सरकारले एकतर्फी रुपमा उखुको मूल्य निर्धारण गर्दा स्वदेशी चिनी उद्योग टाट पल्टेको र विदेशी उद्योग फस्टाएको आरोप लगाए ।

‘चिनी उत्पादनको लागत मूल्यभन्दा बढी आर्थिक व्ययभार पर्ने गरी सरकारले एकलौटी रुपमा उखुको मूल्य निर्धारण गर्यो’ अध्यक्ष अग्रवालले भने- ‘सरकारले निर्धारण गरेको मूल्यका कारण स्वदेशी उद्योग थप आर्थिक संकटमा परेका छन् ।’

स्वदेशी उद्योग आर्थिक संकटमा पर्दा विदेशी उद्योग फस्टाउन पुगेको अग्रवालको आरोप छ । ‘सरकारले समयमै समस्या समाधन नगरे उद्योग बन्द गर्ने विकल्प नभएको हाम्रो ठहर छ, केही दिनमै मुलुकभरको सम्पूर्ण उद्योग बन्द गर्ने तयारी गरेका छौं’ उनले भने- ‘सरकारले तोकेको मूल्यमा उद्योगीले उखु किन्नै नसक्ने हुँदा नयाँ मूल्य तोक्नुपर्छ ।’

संघका उपाध्यक्ष राजकुमार अग्रवालका अनुसार संघले प्रतिक्वीन्टल ४३६ रुपैयाँं मूल्य निर्धारण गर्न सरकारसँंग माग गरेको थियो । सरकारले राजनीतिक दबाबमा प्रतिक्वीन्टल ४६० रुपैयाँं मूल्य निर्धारण गरेको उनको आरोप छ ।

‘हामीलाई यो मूल्य कुनै पनि शर्तमा मान्य छैन्, टाट पल्टेको अवस्थामा हामी यो मूल्य तिर्न सक्दैनौं’ उनले भने- ‘संघले माग राखेको मूल्य प्रतिक्वीन्टल ४३६ रुपैयाँंका दरले किसानलाई भुक्तानी गर्दा पनि प्रतिक्वीन्टल ८५ रुपैयाँं र उत्पादित चिनीमा प्रतिकिलो ९ रुपैयाँं ५० पैसा घाटा व्यहोर्नुपथ्र्यो ।’

अर्का उपाध्यक्ष दिवाकर गोल्छाले निर्धारित मूल्यमध्ये प्रतिक्वीन्टल ३५० रुपैयाँंका दरले पेश्कीवापत किसानलाई हालसम्म भुक्तानी गरिसकेको बताए । सरकारले तत्कालै उद्योगीको समस्या समाधान नगरे ३० अर्बभन्दा बढी लगानी रहेको मुलुकभरका चिनी उद्योग धरासायी हुने उनको भनाई थियो ।

उद्योग बन्द भए दुई लाखभन्दा बढी उखु कृषक परिबार प्रभावित हुनुका साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ५० हजार कामदारको रोजगारी गुम्ने खतरा रहेको उपाध्यक्ष गोल्छाले बताए । हाल चिनी उद्योगले प्रतिवर्ष एक लाख ८० हजार मेटि्रक टन चिनी उत्पादन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment