Comments Add Comment

शीर्ष नेतालाई भेटेर महन्थ ठाकुरले भने-हामी संविधान विरोधी होइनौं

१३ साउन, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले चार दलका शीर्ष नेताहरुलाई भेटेर आफूहरु संविधान विरोधी नभएको बताएका छन् ।

mahanta-thakurसंविधानको मस्यौदाप्रति असन्तुष्ट  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ता बहिस्कार गरेको भोलिपल्ट एक घटक तमलोपा अध्यक्ष ठाकुरले बालुवाटार गएर चार दलका शीर्ष नेताहरुसँग वार्ता गरेका हुन् ।

बुधबार साँझ भएको वार्ताको सुरुमा ठाकुरले सहमति गरेर आफूहरुलाई सुनाउन मात्र खोजेको आशंका गरेका थिए । तर, शीर्ष नेताहरुले गतिरोध फुकाउँ भनेर सहमति गरेको भन्दै के-के सम्बोधन गर्ने भनेर सुझाव मागेका थिए ।

जवाफमा ठाकुरले संविधान सबैभन्दा बढी आफूलाई चाहिएको भन्दै आफूहरु संविधान विरोधी नभएको बताए । ‘तर हाम्रो मुद्धा सम्बोधन नै नगरी संविधान आउँछ कि भन्ने चिन्ता उहाँको थियो’ एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अनलाइनखबरसँग भने ।

कम्तिमा प्रदेशहरुको सीमांकन हुने हो भने संविधान निर्माणमा रचनात्मक भूमिका खेल्ने ठाकुरले बताएका छन् । ठाकुर चार दलको कुरा मधेसी मोर्चामा राख्ने भन्दै बालुवाटारबाट बाहिरिएका थिए ।

यसअघि मंगलबार प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले वोलाएको वार्ता असन्तुष्ट चार दलका अध्यक्षले बहिस्कार गरेका थिए ।

स्रोतका अनुसार चार दलले सद्भावना अध्यक्ष राजेन्द्र महतोलाई पनि छुट्टै भेट्न खोजेका थिए । तर, उनले आफू राजधानी बाहिर रहेको भन्दै टारेका छन् ।

सद्भावना पार्टीका महासचिव मनिष सुमनले भने पार्टी अध्यक्ष महतो राजधानीमा नै रहेको र वार्तामा बोलाएको भएपनि आफूहरु भनेर नै नगएको बताए । उनले महन्थ ठाकुर आफ्नो पार्टीको तर्फबाट वार्तामा जान सक्ने तर, मोर्चाको नेतृत्व गरेर भने वार्तामा बस्न नसक्ने बताएका छन् ।

नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य बालुवाटार पुगेपछि चार दलसँग वार्ता गर्न मानेनन् । प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर हाम्रो कुरा पहिले नै भनिसकेको छौं भन्दै बैद्य फर्किएको बालुवाटार स्रोतले बताएको छ ।

यस्तै बुधबार विहानै सर्वोच्च अदालतका प्रधानन्यायाधीश, अख्तियार, निर्वाचन, लोकसेवा आयोगका प्रमुखसँग पनि छुट्टा छुट्टै छलफल भएको थियो । छलफलमा उनीहरुले संविधानको मस्यौदानमा यसअघि सार्वजनिक गरेको असन्तुष्टि नै दोहोर्‍याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment